
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले २४ सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ताले रेडिट र डिस्कर्डमार्फत भ्रष्टाचार विरोधी आन्दोलन सुरु गरेका छन्।
- विदेशमा भएको भ्रष्टाचार विरोधी आन्दोलनबाट प्रेरित भएर नेपालका जेनजीहरूले ८ सेप्टेम्बरमा संसद् भवन अगाडि प्रदर्शन गर्दैछन्।
- जेनजी आन्दोलनको नेतृत्व कुनै एक व्यक्तिले नलिई स्वतःस्फूर्त रूपमा अघि बढिरहेको छ।
- युवा विश्लेषक नविन तिवारीले अरु कुनै पक्षले यो मासलाई हाईज्याक गरेर म्यानिपुलेट गर्छ कि भन्ने डर भएको बताउँछन्।
२२ भदौ, काठमाडौं । चल्तीको भाषामा जेनजी नामले कहलिएको जेनेरेसन जेड अर्थात् सन् १९९७ देखि २०१० सम्म जन्मिएको पुस्ता, जसलाई नेपालमा सामाजिक–राजनीतिक असन्तोषले एकत्रित गरिरहेको छ । अनि प्रविधिको प्रयोगले तिनलाई नजिक राखिदिएको छ ।
जेनजीहरूसँग आफ्नो कुरा भन्नलाई प्रविधि, अर्थात् मोबाइल ट्याब्लेट आदिमार्फत् सामाजिक सञ्जाल थियो । सरकारले तीमध्ये २४ सन्जाललाई नेपालमा सूचीकरण नभएको बिहीबारदेखि बन्द गराइदिएको छ ।
यी २६ सामाजिक सञ्जालमध्येमा रेडिट र डिस्कर्ड पनि पर्छन् ।
रोचक के छ भने, सामाजिक सञ्जाल बन्द हुँदा धेरैले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सअप, ट्वीटरको चर्चा गरे । त्यस बेला रेडिट र डिस्कर्डको कमै चर्चा भएथ्यो ।
तर, यिनै दुई सामाजिक सञ्जाल प्ल्याटफर्म प्रयोग गरेर जेनजी पुस्ता भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा संगठित भएका छन् ।
यो युवा आक्रोश केही दिनको उफानपछि साम्य होला, वा नेपाली समाज र राजनीतिको तख्ता नै पल्टाउनतर्फ लक्षित होला, यो अहिल्यै पूर्वानुमान गर्न सकिँदैन । तर, आज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विधान महाधिवेशनमा सम्बोधन क्रममा गरेका टिप्पणी, स्थानीय प्रशासनले गरेको सुरक्षा आकलन तथा पूर्वतयारी, अनि चोक–चोकदेखि देशदेशावरसम्म भइरहेका टिकाटिप्पणी हेर्दा स्पष्ट हुन्छ- यो आक्रोश अघिपछिका भन्दा बढ्ता अर्थपूर्ण र उद्देश्यपरक देखिन्छ । जबकि, अहिलेसम्मको तयारी हेर्दा यो योजनाबद्ध भन्दा स्वतस्फुर्त नै बढ्ता देखिन्छ ।
‘हाम्रो पुस्ताका धेरै साथीहरू फेसबुक र म्यासेन्जर चलाउँदैनन्, बरु छ्दम नामबाट एक्समा सक्रिय हुन्थे, आफ्ना विचारहरू पोख्थे,’ नाम उल्लेख गर्न नचाहने एक जेनजी भन्छन्, ‘हाम्रा लागि रेडिट र डिस्कर्ड विकल्प थिए, त्यहीँबाट यो अभियानको सुरुवात भएको हो ।’
खासमा विदेशमा रहेका जेनजी पुस्ताका नेपाली युवाले ‘इन्डोनेसियामा २५ अगस्टदेखि विद्यार्थीको नेतृत्वमा चलिरहेको भ्रष्टाचार विरोधी अभियान’लाई नजिकबाट हेरिरहेका थिए । त्यहाँका सांसद्हरूलाई ‘हाउजिङ अलाउन्स’ शीर्षकमा करिब ३ हजार अमेरिकी डलर मासिक खर्च दिने निर्णयको विरोध गर्दै इन्डोनेसियामा देशव्यापी प्रदर्शन भएको थियो ।
न्यूनतम तलबभन्दा झण्डै १० गुणा बढी भत्ता तोकिएपछि प्रदर्शनकारीहरूले जकार्ताको संसद् भवन अगाडि समेत धर्ना दिँदै अरु विलासी भत्ता समेत खारेज गर्न माग गरेका थिए । त्यही क्रममा उनीहरूले ‘करप्ट इलाइट्स’ भन्दै सरकारको उच्च तहमा रहेका र उनीहरूसँग नजिक रहेका व्यक्तिहरूविरुद्ध आवाज उठाएका थिए ।
फिलिपिन्समा पनि ३ सेप्टेम्बरमा विद्यार्थीहरूको युथ एगेन्स्ट कुराकोट (याक) नामक समूहले भ्रष्टाचार र अनियमितताविरुद्ध प्रदर्शन थाल्यो । ‘विदेशका ती प्रदर्शनहरू सबै सामाजिक सञ्जालमार्फत हेरिरहेका युवाले नेपालमा पनि भोगिरहेको उस्तै समस्याबारे आवाज उठाउनुपर्ने निष्कर्ष निकाले,’ अर्का जेनजी युवा भन्छन्, ‘त्यसपछि सव–रेडिट r/NepalSocial र r/nepal लगायतमा त्यसबारे पोष्ट हुन थाल्यो ।’
त्यहीबीचमा विदेशमा बस्ने जेनजी पुस्ताका नेपाली युवाले आफूहरूले पठाएको करमा नेता र तिनका छोराछोरीले मस्ती गरेको भन्दै सन्देश राख्न थाले । अनलाइन कम्युनिटी रेडिटमा गुमनाम रहँदै लेख्न मिल्ने भएकाले जेनजी यसमा खुलेर विचार व्यक्त गर्छन् ।
छलफल भइरहेको यो कम्युनिटीमा प्रवेश गर्न पहिल्यै त्यहाँ भएका कसैले ‘इन्भाइट’ गर्नुपर्छ । त्यसैले यसमा छानिएका जेनजी मात्र सदस्य छन् ।
विगतमा केही यौन हिंसाका प्रकरण र भारतको केआईआईटी कलेजमा नेपाली विद्यार्थीको मृत्यु भएको बेला समेत यसका अन्तरकुन्तर बाहिर ल्याउन समेत रेडिट प्रयोग भएको थियो ।
रेडिटमा यसबारे छलफल हुन थालेपछि विस्तारै सामाजिक सञ्जाल टिकटकमा समेत ‘नेपोबेबिज’ भन्दै नेताका छोराछोरीको विलासी जीवनशैलीबारे पोष्ट हुन थाल्यो ।
इन्डोनेसियामा २०२३ मै ‘नेपो बेबी’ शब्द चर्चामा आएको थियो, जतिबेला तत्कालीन राष्ट्रपति जोको विडोडोका छोरा ३६ वर्षीय गिब्रान राखाबुमिङलाई उपराष्ट्रपतिको उम्मेदवारका रुपमा अघि बढाइएको थियो । थुप्रै अनुभवी प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउँदै उनलाई अघि बढाएपछि तीव्र आलोचना भएको थियो । इन्डोनेसियामा यसपटक भएको आन्दोलनमा समेत यो शब्द प्रयोग भएको थियो ।
‘नेपोबेबिज भनेर नेपाली नेताहरूका छोराछोरीले मस्ती गरेका तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा आउन थालेपछि यसलाई एकीकृत गर्न डिस्कर्डमा एउटा ग्रुप बन्यो, एन.वाई.आर.जी,’ एक जेनजी अभियन्ताले अनलाइनखबरसँग भने, ‘त्यो ग्रुपमा मदन भण्डारीसहितका साथीहरूले बनाउनुभएको थियो, तर उहाँले समूहको डिजिटल नेतृत्व मात्र गर्नुभएको हो ।’
सन् २०१५ मा गेम खेल्नेहरूका लागि कुराकानी गर्न सजिलो होस् भनेर डिस्कर्ड एप्लिकेशन बनाइएको थियो । अन्य उमेर समूहका व्यक्तिको अनुपस्थिति र यसको सहजताका कारण पछि नयाँ पुस्ताका विद्यार्थीहरूले डिस्कर्डमा भएका कम्युनिटी च्याटरूमहरूलाई व्यापक प्रयोग गरे ।
नेतृत्व नहुँदा राजावादी समूह वा अरु कुनै पक्षले यो मासलाई हाईज्याक गरेर म्यानिपुलेट गर्छ कि भन्ने डर हो- नविन तिवारी, युवा विश्लेषक
सन् १९९० को दशकको अन्त्यदेखि २०१० सम्म जन्मिएका जेनजी पुस्ताका एउटा ठूलो जमातले विद्यार्थी छँदा ‘मिग ३३’ नामक सोसल मिडिया प्रयोग गरेको थियो । त्यसमा पनि ग्रुप च्याटरुम र गेमिङको सुविधा थियो । त्यो एप्लिकेशनझैँ लाग्ने डिस्कर्ड नेपालमा पनि छोटो समयमा जेनजीमाझ लोकप्रिय बन्यो ।
‘पछि डिस्कर्डकै एन.वाई.आर.जी नामक समूहमा ब्यानर, नारादेखि बैठक र कार्यक्रमबारे सूचना आदानप्रदान गर्न एनाउन्समेन्ट पेज समेत बन्यो,’ यसमा सुरुवातदेखि नै जोडिएका अर्का जेनजी अभियन्ताले भने, ‘त्यहीँ जेनजी पुस्तालाई जोड्नेदेखि विभिन्न प्रदेशमा प्रदर्शनका लागि समेत छुट्टाछुट्टै समूह बनाएर जोड्ने काम पनि भयो ।’
छलफल भइरहेको यो कम्युनिटीमा प्रवेश गर्न पहिल्यै त्यहाँ भएका कसैले ‘इन्भाइट’ गर्नुपर्छ । त्यसैले यसमा छानिएका जेनजी मात्र सदस्य छन् । रेडिटमा चाहिँ जोकोही मेम्बर बन्न सक्छन् । त्यसबाहेक स्वत: स्फूर्त जोडिएका युवाले शनिबार बेलुकी गुगल मिटमा समेत छलफल गरेका छन् ।
छलफलमा सहभागी एक युवाका अनुसार, प्रदर्शन मिति ८ सेप्टेम्बर अर्थात् सोमबार समेत धेरै छलफलविनै सञ्जालबाट स्वत:स्फूर्त बाहिर आएको हो । ‘सुरुमा यो अभियानले यति धेरै माहोल बनाउला भन्ने नै थिएन, जब यो ठूलो हुँदै गयो । त्यसपछि छुट्टाछुट्टै छलफलहरू हुन थाले,’ उनले भने, ‘तर छलफल हुनुअघि नै बानेश्वरको संसद् भवनमा प्रदर्शन गर्ने भनेर सूचनाहरू फैलिइसकेका थिए ।’
इन्डोनेसियाको सिको गर्दै नेपालमा पनि संसद् भवनमा प्रदर्शन गर्ने भनिएको थियो । तर, नयाँ बानेश्वरमा रहेको नेपालको संसद् भवन वरिपरिको क्षेत्रलाई प्रशासनले पहिल्यै निषेधित क्षेत्र तोकेको छ । त्यस्तो स्थितिमा प्रदर्शनको सुरुवात् नै त्यहाँबाट गर्दा अप्रिय घटना हुनसक्ने भन्दै कतिपयले तर्क राखे । जानकारहरूका अनुसार, १५ चैतको घटना समेत स्मरण गर्दै जेनजी पुस्ताका अभियन्ताहरूले यसलाई शान्तिपूर्ण र भद्र तरिकाले विरोध गर्नुपर्ने बताएका थिए ।
पछि विगतमा पनि प्रदर्शन हुने गरेको माइतीघर मण्डलामा भेला हुने निष्कर्ष निस्कियो । ‘धेरै चर्चा हुँदै गएपछि सोसल मिडिया इन्फ्लुयेन्सर, कलाकार लगायतले समेत आउने प्रतिबद्धता जनाएका छन्,’ उनी भन्छन्, ‘काठमाडौंका मेयर बालेन शाहले पनि ऐक्यबद्धता जनाउनु भएको छ ।’
तर, आइतबार अपराह्न १५ चैतको आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंले समेत जेनजीलाई समर्थन जनाउँदै माइतीघर आउने बताएपछि चाहिँ खैलाबैला मच्चिएको छ ।
‘ग्रुपमा धेरैले प्रसाईंको सहभागितालाई लिएर प्रश्न भइरहेका छन्, कतिपयले उनको उपस्थितिले आन्दोलनको सन्देश गलत जान सक्ने भनेका छन्,’ समूहका एक सदस्यले भने, ‘कतिले चाहिँ ऐक्यबद्धता जनाउँदै जो पनि उपस्थित हुनसक्ने भए पनि उनी जस्ता व्यक्तिहरू अग्रपंक्तिमा देखिनु चाहिँ नहुने भनेका छन् ।’
जेनजीको अभियानमा जोडिएका करिब एक दर्जन युवाहरूका अनुसार, यसको नेतृत्व चाहिँ कोही व्यक्तिले लिएका छैनन् । आइतबार अपराह्न समेत डिस्कर्ड ग्रुपमा यसको नेतृत्व खोज्नुपर्ने भन्दै कतिपयको नाम अघि सारेका छन् ।
‘तर धेरैको बुझाइ चाहिँ के छ भने एकजना वा निश्चित व्यक्ति तोकेर नेतृत्व दिइयो भने पहिलेको राजावादी आन्दोलनमा जस्तै प्रहरीले सुरुमै समातेर कमजोर बनाउन सक्छ,’ प्रदर्शनको तयारी सम्बन्धी ग्रुपमा रहेका अर्का सदस्यले भने, ‘बरु सामूहिकरुपमा स्वत: स्फूर्त रुपमा अघि बढ्दा त्यसको प्रभावकारिता राम्रो हुन्छ भन्ने ठानेका छौं ।’
यद्यपि, युवा पुस्ताका कतिपय विश्लेषकहरू चाहिँ नेतृत्वविना आन्दोलनमा जाँदा भोलि अप्रिय परिस्थिति समेत सिर्जना हुनसक्ने बताउँछन् । ‘नेतृत्व नहुँदा राजावादी समूह वा अरु कुनै पक्षले यो मासलाई हाईज्याक गरेर म्यानिपुलेट गर्छ कि भन्ने डर हो,’ युवा विश्लेषक नविन तिवारी भन्छन्, ‘यद्यपि नेतृत्व जसरी अघि बढ्ने भए पनि भोलि युवा पुस्ताको आक्रोश सडकमा पोखिनेछ ।’
पहिले युवाले सामाजिक सञ्जालमा आफ्ना असन्तुष्टि व्यक्त गर्ने गरेको भए पनि अहिले त्यो बाटो समेत बन्द भएपछि थप आक्रोश बढेको कतिपयको बुझाइ छ । त्यसमाथि शनिबार कोशीका प्रदेशमन्त्री रामबहादुर मगरको गाडीले एक बालिकालाई ठक्कर दिएर नरोकी हिँडेको घटना बाहिरिएपछि रेडिट र डिस्कर्डमा जेनजी पुस्ताका युवाहरूले थप आक्रोश व्यक्त गरिरहेका छन् ।
उनीहरूले सीसी टीभी फुटेज अनलाइन कम्युनिटीमा शेयर गर्दै त्यो प्रवृत्तिविरुद्ध समेत सबै एकजुट हुनुपर्ने परिस्थिति आएको भनेका छन् ।
‘नयाँ पुस्तालाई सधैँ १२ पास गरेपछि विदेश जान्छन्, राजनीतिप्रति उनीहरूको चासो छैन भन्ने आरोप लाग्थ्यो,’ तिवारी भन्छन्, ‘तर अहिलेको अभियानले त्यसलाई चिर्ने काम गरेको छ, जेनजी आफैं सडकमा निस्किनुले सत्तामा रहेकाहरूप्रति समाजमा कुन तहमा निराशा र आक्रोश फैलिएको रहेछ भन्ने पनि देखाउँछ ।’
प्रतिक्रिया 4