
२२ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि हुने जेन जीहरूको प्रदर्शनमा बल प्रयोग नगर्न सरकारलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल बन्दको विरोधमा युवाहरूले गर्न लागेको प्रदर्शन स्वभाविक भएको भन्दै उनले बल प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।
‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ,’ प्रचण्डले भनेका छन्, ‘प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस् । भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।’
रोचक के छ भने, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला सामाजिक सञ्जाल टिकटक बन्द गराएका थिए ।
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले २०८० कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसै बर्षको फागुनमा काँग्रेस प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएका थिए ।
रवि गृहमन्त्री भएपछि पनि टिकटक खुला भएन । २०८१ असारमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि ओली प्रधानमन्त्री बने र टिकटक खुला भयो ।
ओली नेतृत्वको सरकारले फेसबुक, युट्युव, ह्वाट्एपसँगै २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि प्रचण्ड त्यसको बिरोधमा उत्रिएका छन् । तर, उनले टिकटक बन्द गर्ने आफ्नो कदम किन सही थियो र ओलीको कदम किन गलत छ भनेर प्रष्ट पार्न सकेका छैनन् ।
जेन जीहरूले भोलि काठमाडौं लगायत देशभर सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै प्रदर्शन गर्न लागेको छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4