
News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ र धनगढी उपमहानगरपालिका–१३ बीच मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको छ।
- पुल निर्माणपछि स्थानीयले धनगढी बजारसम्म सहज रूपमा ओहोरदोहोर गर्न पाएका छन्।
- कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा रु ८० लाख ९० हजारमा पुल निर्माणका लागि ठेक्का लगाएको छ।
२२ भदौ, कैलाली । धनगढी उपमहानगरपालिका–१३ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट सिमानामा रहेको मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । उक्त झोलुङ्गे पुल बनेसँगै मोहना नदी ओहोरदोहोर गर्न सहज भएको छ ।
दुवै ठाउँलाई मोहना नदीले छुट्याएको छ । पुल निर्माण हुनुभन्दा अघि लामो समयसम्म राजघाटका स्थानीयलाई नदी ओहोरदोहोर गर्न समस्या थियो । राजघाटवासीका लागि दूरीको हिसाबले आफ्नो जिल्लाको सदरमुकामभन्दा सँगै जोडिएको कैलालीको धनगढी बजार नजिक पर्दछ।
उनीहरुले अधिकांश कामका लागि धनगढी नै धाउनुपर्ने हुन्छ । त्यसैले मोहना नदीमा झोलुङ्गे पुल अति आवश्यक बनेको थियो ।
झोलुङ्गे पुल निर्माणसँगै ओहोरदोहोर गर्न सहज भएको कृष्णपुर नगरपालिका–९ राजघाटकी पूर्ववडासदस्य एवं स्थानीय शारदादेवी चौधरीले राससलाई जानकारी दिए।
‘औषधि उपचारदेखि हरेक कामका लागि धनगढी जानुपर्ने हुन्छ, पुल बन्नुभन्दा पहिले वडा नं ८ मजगई भएर लामो दूरीको कष्टपूर्ण बाटोबाट धनगढी जाने गरेका थियौँ’, उनले भने।
पुल निर्माणपछि घरायसी सामान किनमेलदेखि सबै कामका लागि सहज भएको स्थानीय पदम विकले बताए । स्थानीय रेखा चौधरी वर्खामा नदीका कारण गाउँलेले समस्या झेल्दै आएका बताउँछन् ।
झोलुङ्गे पुल निर्माण गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा रु ८० लाख ९० हजार ठेक्का लगाएको इञ्जिनियर विष्णु जोशीले बताए । उपभोक्ता समिति र निर्माण कम्पनीको साझेदारीमा उक्त पुल निर्माण भएको हो।
प्रतिक्रिया 4