
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको सेल्सफोर्सले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउँदै ४ हजार कर्मचारीलाई जागिरबाट निकालेको छ।
- सेल्सफोर्सको सहायता महाशाखामा ९ हजार कर्मचारीबाट घटेर ५ हजारमा झरेको छ, जसमा ४५ प्रतिशत रोजगारी गुमेको छ।
- विश्वका अन्य प्रविधि कम्पनीहरुले पनि सन् २०२५ मा हजारौँ कर्मचारी कटौती गरिसकेका छन् र एआईले उद्योगको दिशा परिवर्तन गरिरहेको छ।
काठमाडौं । प्रविधि जगतको यो एउटा खबर कुनै झट्का भन्दा कम छैन। अमेरिकाको दिग्गज सफ्टवेयर कम्पनी सेल्सफोर्सले अचानक ४ हजार जना कर्मचारीलाई जागिरबाट निकालेको छ । यसरी हजारौँ कर्मचारीले एकैपटक जागिर गुमाउनुको कारण चाहीँ आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई हो ।
कम्पनीका अनुसार अब उसले मानिसको साटो एआईमाथि बढी भरोसा गर्नेछ। बिजनेस इनसाइडरको रिपोर्ट अनुसार कम्पनीका सीईओ मार्क बेनिअफले हालै एक पडकास्टमा खुलासा गरेका छन् कि एआईबाट भएको जागिर कटौतीको सबैभन्दा ठूलो मार सहायता महाशाखा (सपोर्ट डिभिजन) मा परेको छ । त्यस शाखामा पहिले ९ हजार कर्मचारी रहेकोमा अब घटेर ५ हजारमा झरेको छ । अर्थात् सपोर्ट डिभिजनका ४५ प्रतिशत रोजगारी एक झट्कामै गुमेका छन् ।
बेनिअफले त्यस घटनालाई रिब्लालेन्सिङ्ग अफ हेडकाउन्ट भनेका छन् । तर यथार्थ चाहीँ के हो भने ती सबै जागिरलाई प्रत्यक्ष रुपमा एआई एजेन्टले प्रतिस्थापन गरेका हुन् ।
एआईले खोस्यो रोजीरोटी
केही समयअघि सम्म बेनिअफले दाबी गर्दथे कि एआईले ठूलो परिमाणमा बेरोजगारी सिर्जना गर्नेछैन । तर अब उनैको कम्पनीले सेल्स तथा ग्राहक सेवामा एजेन्टफोर्स जस्ता एआई टूलको प्रयोग सुरु गरेको छ । यसले अटोमेटेड समाधान दिएर पेन्डिङ रहेका कामहरुलाई तिव्र गतिमा पूरा गरिरहेको छ । फलस्वरुप मानिसको आवश्यकता घटेको छ र हजारौँ मानिसहरु बेरोजगार बनेका छन् ।
एआईको असर झेल्ने सेल्सफोर्स एक्लो कम्पनी होइन । माइक्रोसफ्ट, गुगल, इन्टेल, मेटा तथा टीसीएस जस्ता दिग्गज कम्पनीहरुले पनि सन् २०२५ मा हजारौँ कर्मचारी कटौती गरिसकेका छन् । Layoffs.fyi का अनुसार यो वर्ष अहिलेसम्म विश्वभरमा ८० हजार भन्दा धेरै प्राविधिक कर्मचारीहरुले आफ्नो जागिर गुमाईसकेका छन् ।
विज्ञहरुका अनुसार उक्त कर्मचारी कटौतीले अब प्रविधि उद्योगको दिशा एआईले परिवर्तन गरिरहेको प्रष्ट संकेत गरेको छ । एकातर्फ यसले कम्पनीहरुको उत्पादकत्व र गति बढाईरहेको छ भने अर्कोतर्फ उनै कर्मचारीहरुको रोजीरोटी खोसिरहेको छ, जसले त्यहीँ कम्पनी स्थापित गर्न वर्षौँ मेहेनत गरे ।
यसमा प्रश्न उठ्छ कि के मानिस वास्तवमा मेसिनसँग हार मान्नका लागि बाध्य भैरहेको छ ? विज्ञहरुका अनुसार भविष्य उनीहरुकै हो जसले नयाँ सीप सिक्नेछन् र एआईसँग तालमेल मिलाउन सक्नेछन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4