+
+
Shares

कैलालीमा लागूऔषध दुर्व्यसन भयावह : प्रयोगकर्तामध्ये ९२ प्रतिशत युवा

२५ वर्षमुनिका ६५ प्रतिशत दुर्व्यसनमा संलग्न

जनक विष्ट जनक विष्ट
२०८२ भदौ २१ गते २२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलाली कारागारमा २३ साउनको मध्यराति भएको हिंसात्मक घटनामा भरत चौधरीको मृत्यु र ४८ जना घाइते भएका छन्।
  • कैलाली कारागारमा ६७७ जना कैदीबन्दी छन्, जबकि क्षमताभन्दा दोब्बर लागूऔषध मुद्दाका कैदीबन्दी रहेका छन्।
  • पछिल्लो तीन वर्षमा कैलालीमा लागूऔषध दुर्व्यसनमा १७०० जनाभन्दा बढी पक्राउ परेका छन्, जसमा १५–३६ वर्ष उमेर समूहका युवाको संलग्नता ९२ प्रतिशत छ।

१८ भदौ, धनगढी । कैलाली कारागारमा एक जनाको मृत्यु र ४८ जना घाइते हुनेगरी २३ साउनको मध्यराति हिंसात्मक घटना भयो ।

ब्लक ‘ए’मा रहेका कैदीबन्दीले भित्ता फुटाएर राति करीब पौने १ बजेतिर ब्लक ‘बी’ का कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा परेर धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भयो । चौधरी लागूऔषध मुद्दामै कैद सजाय भोगिरहेका थिए । घाइते मध्ये २९ जना लागूऔषध सम्बन्धी मुद्दाकै कैदी र थुनुवा थिए ।

हिंसात्मक घटनामा परेर घाइते हुने लागूऔषध  सम्बन्धी मुद्दाका कैदीबन्दीको संख्या मात्र ६० प्रतिशत थियो । यो तथ्यांकले कैलाली कारागारमा लागूऔषध सम्बन्धी मुद्दाका कैदीबन्दीको संख्या अधिक छ भन्ने कुरा स्पष्ट देखाएको छ ।

कारागार प्रशासनकाअनुसार उक्त हिंसात्मक घटनापछि अन्यत्र स्थानान्तरण भएका बाहेक अहिले ६७७ जना कैदीबन्दीलाई राखिएको छ ।

जबकी कैलाली कारागारको क्षमता भने १५० जना मात्रै हो । कारागारमा राखिएका मध्ये करीब ४२ प्रतिशत कैदीबन्दी लागूऔषध सम्बन्धी मुद्दाका छन् ।

लागूऔषध  सम्बन्धी मुद्दामा २८० जना कैदीबन्दी कारागारमा राखिएका छन् । उनीहरू मध्ये १८८ जना कैदी र ९२ जना थुनुवा रहेका छन् । अर्थात् कैलाली कारागारको क्षमताले भ्याउने भन्दा करीब दोब्बरले लागूऔषध सम्बन्धी मुद्दाका कैदीबन्दी कारागारमा राखिएका छन् ।

कैलाली कारागार।

लागूऔषध सम्बन्धी मुुद्दामा २५५ पुरुष र २५ जना महिला कैदीबन्दी रहेका छन् । कारागारमा भएको हिंसात्मक घटनाका घाइते र हाल आश्रितहरूको तथ्यांक हेर्दा कैलालीमा लागूऔषध  दुर्व्यसनी भयावह रुपमा फैलिँदै गएको देखिएको हो । तथ्यांकले कैलालीमा लागूऔषध दुर्व्यसनी न्यूनीकरण गर्न प्रहरीले सक्रियतापूर्वक काम गरिरहेको कुुरा देखाउँछ ।

युवाहरुकोे संलग्नता डरलाग्दो

कैलाली प्रहरीले पछिल्लो तीन वर्षको अवधीमा लागूऔषध  दुर्व्यसनमा फसेका झन्डै १७ सय जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । प्रहरीले एक हजार १३१ मुद्दा दर्ता गरेर दुव्यर्सनमा फसेका एक हजार ६८० जनामाथि कारबाही गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार सिंहले आर्थिक वर्ष २०८१/८२ मा लागूऔषध सम्बन्धी मुद्दामा ७११ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको बताए । उनकाअनुसार आर्थिक वर्ष २०८०/८१ मा ४४७ जना र आर्थिक वर्ष २०७९/८० मा ५२२ जनामाथि मुद्दा चलाइएको छ ।

लागूऔषध दुर्व्यसनमा १५ वर्षका किशोरदेखि २५ वर्षका युवाको संलग्नता सबैभन्दा धेरै देखिएको छ । तीन वर्षको अवधीमा पक्राउ परेका मध्ये १५–२५ वर्ष उमेर समूहका युवाको संख्या मात्र एक हजार ९४ जना रहेको छन् । जुन औसतमा कुल संख्याको ६५ प्रतिशत हो ।

२६ देखि ३५ वर्ष उमेर समूहका २७ प्रतिशत अर्थात् ४६३ जनामाथि लागूऔषध सम्बन्धी मुद्दा चलाइएको छ । यसअनुसार १५ देखि ३६ वर्ष उमेर समूहका युवा दुर्व्यसनमा सबैभन्दा बढी लागेको देखिन्छ । तीन वर्षमा मुुद्दा चलाइएका मध्ये १५–३६ वर्ष उमेर समूूहका युवाको संख्या मात्र एक हजार पाँच सय ५७ रहेको छ ।

यो तथ्यांकलाई आधार मान्दा तीन वर्षको अवधीमा कैलालीमा लागूऔषध दुर्व्यसनमा पक्राउ परेर मुद्दा चलाइएकोमा युवा मात्र ९२ प्रतिशत रहेको छ । ३६ वर्षभन्दा माथिको उमेर समूूहका १२३ जनालाई मात्र लागूऔषध सम्बन्धी मुद्दा चलाइएको छ ।

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुुमार सिंह लागूऔषध  दुर्व्यसनमा युवाहरुको संलग्नता बढ्दै जानु डरलाग्दो र समाजका लागि गम्भीर भएको बताउँछन् । लागूऔषध दुर्व्यसनमा लागेकाहरुलाई कानूूनी कारवाहीका क्रममा युवाहरु विभिन्न कारणले कुुलतमा फसेको पाइएको उनको भनाई छ ।

‘अध्ययनका लागि भनेर आमाबुवाले शहर पठाएपछि यहाँ अभिभावकत्व नपाएर गलत साथीसंगतीले धेरैजसो युवाहरू लागूऔषध  दुर्व्यसन जस्तो कुलतमा फसेका छन् । प्रयोगकर्ताबाटै विस्तारै खर्चको आवश्यकता पर्दै जाँदा कारोबारी पनि बनेका छन्,’ डीएसपी सिंहले भने, ‘दुर्व्यसन न्यूनीकरणका लागि कानुनी कारवाहीले मात्र पुग्दैन । प्रयोगकर्तालाई काउन्सीलिङ गर्ने, समुदाय र अभिभावकलाई सचेत गराउने काम पनि गर्न जरुरी देखिएको छ ।’

प्रहरीको एकल प्रयासले मात्र दुर्व्यसन न्यूूनीकरण गर्न चुनौतीपूर्ण हुुने भएकाले स्थानीय तह, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था एवंम् निकायले पनि लागूूऔषध दुर्व्यसनी न्यूनीकरणमा जोड दिनुुपर्ने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले लागूऔषध दुर्व्यसन रोकथाम तथा न्यूनीकरणका लागि कार्ययोजना बनाएर काम गरिरहेको छ । प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिंहले लागूूऔषध दुर्व्यसन रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि वार्षिक कार्ययोजना नै निर्माण गरेर प्रहरीले अभियान नै चलाएको बताए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विद्यालय, क्याम्पस तह र समुदायस्तरमा नियमित रुपमा  सचेतनामुलक कार्यक्रम चलाइरहेको उनी बताउँछन् ।

गत वर्ष निर्माण गरेको वार्षिक कार्ययोजनाअनुसार लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका १३ वटै स्थानीय तहलाई पत्राचार गर्दै प्रहरीले सहयोग मागेको थियो । तर, अहिलेसम्म कुनै पनि स्थानीय तहले त्यसमा चासो देखाएका छैनन् ।

‘भयावह रुपमा बढिरहेको दुर्व्यसनी न्यूनीकरण गर्नकैका लागि हामीले वार्षिक कार्ययोजना नै बनाएर सबै पक्षसँगको समन्वयमा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न खोजिरहेका छौँ,’ डीएसपी सिंहले भने, ‘जिल्लाका सबै स्थानीय तहलाई पत्र नै पठाएर सहयोग गर्न भनेका थियौँ तर अहिलेसम्म कुनै पनि पालिकाको रेस्पोन्स आएको अवस्था छैन ।’

खुल्ला सीमानाका कारण पनि लागूऔषध  दुर्व्यसन न्यूनीकरण चुनौतीपूर्ण बन्दै जान थालेको प्रहरीको भनाइ रहेको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?