
२२ भदौ, काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले भोलि हुने जेनजीहरूको प्रदर्शनमा आफ्नो ऐक्यबद्धता रहेको जनाएका छन् ।
आफ्नो निजी सचिवालयमार्फत जेनजीहरूलाई सन्देश पठाउँदै उनले घुसपैठबाट सचेत हुन पनि आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि जेनजीहरूले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा प्रदर्शन गर्दैछन् ।
जसलाई इतिहासको नयाँ सुरुवातको दिन भन्दै लामिछानेले विवेक प्रयोग गर्न आग्रह गरेका छन् ।
‘सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईँहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ,’ लामिछानेले भनेका छन्, ‘भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नुहोस् ।’
उनले प्रदर्शनप्रति शुभेच्छा, सद्भाव र ऐक्यबद्धता जाहेर पनि गरेका छन् ।
‘भोलिबाट तपाईँहरु सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईँहरूलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दु:ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे,’ सभापति लामिछानेले आफ्नो सन्देशमा भनेका छन्, ‘तपाईंको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईँहरूप्रति शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गर्दछु ।’
यसअघि रास्वपाले विज्ञप्ति जारी गर्दै जेनजीको आन्दोलनमा नबिथोल्न खबरदारी गरेको थियो ।
प्रतिक्रिया 4