Comments Add Comment

‘कार्यान्वयन योग्य कार्यक्रममात्र बजेटमा पर्छन्, रोजगारी सिर्जना प्राथमिकतामा’

३१ चैत, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा कार्यान्वयन हुन नसक्ने कार्यक्रमलाई सरकारले स्थान नदिने बताएका छन् । प्रतिनिधिसभा, अर्थसमितिको मंगलबार बसेको प्रि-बजेट छलफलमा भाग लिँदै अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षा र रोजगारी सिर्जनाका कार्यक्रमलाई भने प्राथमिकतामा राख्ने जानकारी गराए ।

विगतमा बजेटमा कार्यक्रम राख्ने तर कार्यान्वयन नहुने परिपाटीले स्रोतको उचित उपयोग हुन नसक्ने अवस्था रहेको भन्दै उनले यो प्रवृत्तिमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी आवको बजेट कोरोना महामारी र यसले सिर्जना गरेको कठिन परिस्थितिसँग जुध्न समेत उपयोगी हुने गरी ल्याइने उनको भनाइ छ । आर्थिक पुनरुत्थानका कार्यक्रममा सरकारले ध्यान दिने अर्थमन्त्री पौडेलको भनाइ छ ।

राष्ट्रिय गौरव र ठूला आयोजनालाई बजेट सुनिश्चित गरिएको उनले जानकारी दिए । संविधान, पार्टीको घोषणापत्र, १५ औं आवधिक योजना र समृद्ध नेपाल सुखी नेपालको नारा सफल बनाउने गरी बजेट निर्माण गरिने उनको भनाइ छ । नेपाललाई अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नती गर्न आवश्यक मापदण्ड पूरा गर्न बजेट केन्द्रित हुने उनले जानकारी दिए । उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी बजेट आउने उनको भनाइ छ ।

कोभिडको संक्रमण बढ्दै गइरहेको सन्दर्भमा आगामी दिन अझै अनिश्चित रहेको भन्दै उनले यसको सामना गर्नुको भने विकल्प नरहेको बताए । यो वर्ष लक्ष्य अनुसार नै राजस्व संकलन हुने भन्दै उनले आगामी वर्ष समेत राजस्वको लक्ष्य वैज्ञानिक तवरबाट तय हुने उल्लेख गरे ।

मंगलबार समितिले बजेट पूर्व चालु आवको बजेट खर्चको अवस्था, राजस्व संकलन, आगामी बजेटको तयारीका सम्बन्धमा अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment