Comments Add Comment

गैंडाको संख्या बढेपछिको खुशी, थपिएको चुनौती

के हुन्छ अबको योजना ?

फाइल तस्वीर

३१ चैत, काठमाडौं । सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा गैंडाको तथ्यांक सार्वजनिक कार्यक्रममा संरक्षणकर्मीहरू खुशी देखिन्थे । संख्या बढेकै कारण खुशी बनेका संरक्षणकर्मीहरूले चैत २७ गते सकिएको गैंडा गणनाको नतिजा २८ गते नै सार्वजनिक गरे ।

सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैंडा रहेकोमा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको छ ।

गैंडाको संख्या वृद्धि भएको खुशियालीमा समुदायस्तरमा समेत खुशी छायो । पर्यटन तथा होटल व्यवसायीहरूले सौराहाको गैंडाचोक र पटिहानीमा दीप प्रज्ज्वलन गरेरै खुशी मनाएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष गैंडा तस्करले तीनवटा गैंडा मारे । अघिल्लो वर्ष नै तस्करले मारेको भनिएको एक गैंडाको हाडखुर भेटियो । चालु आर्थिक वर्षमा मात्रै २५ गैंडा प्राकृतिक कारणले मरे ।

नेपालमा सन् १९५० को दशकमा ८०० गैंडा थिए । सन् १९६५ मा यसको संख्या घटेर करिब १०० को हाराहारीमा झर्‍यो । त्यसपछि अहिले सर्वाधिक ७५२ गैंडा गणना भएका छन् ।

गैंडा गणनाका क्रममा तीन वटा गैंडा मरेको भेटियो । निकुञ्जमा महीनामा औसत तीनवटा गैंडा मर्ने गरेको देखिन्छ । चोरीशिकारी र प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेपछि चिन्तित बनेका संरक्षणकर्मीलाई गैंडा गणनाको पछिल्लो तथ्यांकले केही राहत मिलेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडाको संख्या वृद्धि हुनु गर्व र खुशीको कुरा भएको बताए । ‘कुनै बेला झण्डै १०० को संख्यामा झरेको गैंडालाई बढाएर ७५२ पुर्‍याएका छौं, यो हामी सबैका लागि गर्व गर्न लायक विषय हो’ बरालले भने, ‘यसमा संरक्षणकर्मी, नेपाल सरकार र समुदायको ठूलो भूमिका छ, सबैलाई बधाई दिन चाहन्छु ।’

वन तथा वातावरण मन्त्रालयका डा. विश्वनाथ ओली सरकारले गैंडा संरक्षणमा गरेको लगानी सफल भएको बताउँछन् । उनले गैंडाको नयाँ सार्वजनिक तथ्यांकले संरक्षणको नयाँ योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

चोरीशिकारीले गैंडा मार्न थालेपछि फेरि तस्करहरू सक्रिय भएका हुन् कि भन्ने चिन्ता छाएको बेला गैंडाको संख्या बढ्दा त्यसले राहत दिलाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो ६ वर्षको अवधिमा मात्रै ८९ वटा गैंडा बढेका छन् । १०६ वटा गैंडा मरेका छन् । संरक्षण अधिकृत बरालले विगत चार वर्षसम्म रोकिएको गैंडा मार्ने क्रमलाई फेरि पनि रोक्ने बताए ।

जेल परेका गैंडा तस्करहरू सजाय भुक्तान गरी छुट्ने क्रमसँगै निकुञ्जमा गैंडा मार्ने क्रम बढेको बताइन्छ । तर, चालु वर्षमा नै २३ जना गैंडा तस्करलाई समातेर कानून अनुसार सजाय दिलाएको बरालले बताए ।

गैंडाको वासस्थान र घाँसे मैदानमा गरेको सुधारले गर्दा यसको संख्या बढेको बताउँछन् निकुञ्जका प्रमुख संरक्षण अधिकृत बराल । पोखरी निर्माण, थप घाँसे मैदानको वृद्धि, मेसिन लगाएर घाँस काट्नेलगायतका काम निकुञ्जले गर्दै आएको छ । पर्याप्त घाँसे मैदान र पानीको स्रोत उपलब्ध हुँदा गैंडा जुधेर मर्ने क्रममा समेत कमी आउँछ ।

तथ्यांकमा गैंडा

हरेक चार–चार वर्षमा गणना गरिने भए पनि अघिल्लो वर्ष बजेट अभाव र गत वर्ष कोरोनाभाइरस संक्रमणका कारण गैंडा गणना हुन सकेन । यस वर्ष नेपाल सरकारको १ करोड १० लाख र विभिन्न सहयोगी संस्थाको ३० लाख गरी १ करोड ४० लाख रकम सहयोगमा गैंडा गणना गरिएको हो ।

गणनाले नेपालमा ६ वर्षको अवधिमा १६.६ प्रतिशतले गैंडाको संख्या वृद्धि भएको देखाएको छ । तर गैंडाको वृद्धिदर भने दुईप्रतिशतले घटेको देखिएको छ । गएको चैत ९ गतेबाट गरिएको गणना २७ गते शुक्रबारसम्म चलेको थियो ।

६ वर्षको अवधिमा गैंडाको संख्या ६४५ बाट बढेर ७५२ पुगेको छ । एकसिङ्गे गैंडाको संख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६०५ बाट बढेर ६९४ पुगेको छ । चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैंडाको संसारकै दोस्रो ठूलो वासस्थान हो ।

भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा १२०० गैंडा रहेको विश्व वन्यजन्तु कोषले जनाएको छ । यसपटक पर्सा राष्ट्रिय निकुञ्जमा (तीन गैंडा, २०१५–२०२१) बाहेक अन्य सबै निकुञ्जमा गैंडाको संख्या वृद्धि भएको छ । सन् २०१५ मा बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैंडा रहेकोमा यसपटक बढेर ३८ पुगेको छ । यस्तै, शुक्लाफाँटामा ८ बाट बढेर १८ पुगेको छ । छुट्टिएको भालेको संख्या १४६ र पोथीको संख्या १९८ छ भने, लिंग पहिचान नभएको संख्या ४०८ छ । वयस्क गैंडा ५२०, अर्धवयस्क ९६ र बच्चा १३६ छन् ।

नेपालमा सन् १९५० को दशकमा ८०० वटा गैंडा थिए । सन् १९६५ मा यसको संख्या घटेर करीब १०० को हाराहारीमा झर्‍यो । त्यसपछि अहिले सर्वाधिक संख्यामा गैंडा भेटिएको हो ।

सन् २०१५ अघि नेपालमा सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ मा गैंडा गणना गरिएको थियो । गणना अनुसार सन् १९९४ मा ४६६, सन् २००० मा ५४४, सन् २००५ मा ३७२, सन् २००८ मा ४०८ र सन् २०११ मा ५०३ वटा गैंडा भेटिएका थिए ।

सन् २०१५ मा गरिएको गणनापछि सन् २०१६ र २०१७ मा बर्दिया र शुक्लाफाँटामा चितवनका १७ गैंडा स्थानान्तरण गरिएको थियो । छिमेकी देश चीनलाई चारवटा गैंडा दिइएको छ भने अहिले पनि भारतमा तीन गैंडा गएका छन् । तिनलाई फिर्ता ल्याउने प्रयास भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए ।

कसरी गरियो गैंडा गणना ?

पर्सा राष्ट्रिय निकुञ्जको रमौली प्रतापपुरबाट गैंडा गणना शुरू गरिएको थियो ।

नेपालमा गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा पर्सा राष्ट्रिय निकुञ्जमा गैंडा गणना गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख बरालले जानकारी दिए ।

गणनामा चितवन राष्ट्रिय निकुञ्जका २७, पर्सा राष्ट्रिय निकुञ्जका ५, कोशीटप्पु वन्यजन्तु आरक्षका ३, बर्दिया राष्ट्रिय निकुञ्जका ९, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ४, राष्ट्रिय प्रकृति संरक्षण कोषका ५, टाइगर टप्स होटलका ४ गरी ५७ हात्तीको प्रयोग गरिएको थियो । २५० जनशक्ति चितवन र पर्सामा, ६० जना बर्दियामा, ४० जना शुक्लाफाँटामा गैंडा गणनामा सहभागी थिए ।

गैंडा गणनालाई असाध्यै कठिन र चुनौतीपूर्ण मानिन्छ । गणनाका क्रममा बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भयो भने, चितवन राष्ट्रिय निकुञ्जमा धु्रवे हात्तीले लखेट्दा लडेर ७ जना कर्मचारी घाइते भए ।

१९ वटा ब्लक छुट्याएर गरिएको गणनामा ७ जना महिला गणकका रूपमा सहभागी थिए । नेपाल सरकारकै खर्चमा गैंडाको गणना भएको यो पहिलो पटक हो । गैंडा गणना कार्यलाई वैज्ञानिक एवम् व्यवस्थित बनाउन कुनै गैंडा नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ यसको वासस्थान रहेको सबै स्थानमा ५० देखि १०० मिटर दूरीमा जीपीएस, दूरविनसहित प्राविधिकहरू बसेर गैंडा स्वीप गर्दै गणना गरिएको थियो ।

गैंडा मर्ने कारण 

निकुञ्जमा विभिन्न कारणले गैंडा मर्ने गरेका छन् । निकुञ्जले धेरैजसो गैंडा प्राकृतिक कारणले मर्ने जनाउँदै आएको छ । तर, प्राकृतिक कारणभित्र मानवीय लापर्वाही पनि प्रमुख छ ।

पछिल्लो समयमा हेर्दा गैंडाको प्राकृतिक मृत्यु पनि उच्च देखिन्छ । आर्थिक वर्ष २०७३/७४ मा २५, २०७४/७५ मा २६, २०७५/७६ मा ४३, २०७६/७७ मा २६ गैंडा मरेका छन् । निकुञ्जका अनुसार गत वर्ष मरेका २६ गैंडामध्ये बूढो भएर मरेका गैंडाको संख्या ६ वटा छ । अरू वयस्क गैैंडा नै छन् ।

फाइल तस्वीर

गैंडाको औसत आयु ४० वर्षको हुन्छ । तोरीजन्य घाँस प्रजातिमा पाइने विषादी, किसानले छर्ने विषादी, करेन्ट लागेर, दलदलमा भासिएर, जुधेर, भालेले  आक्रमण गरेर, बाघको आक्रमण र कहिलेकाहीं रूखले च्यापेर समेत गैंडा मर्ने गरेका छन् । नदीजन्य सामग्री निकालेका खाडलमा परेर समेत गैंडा मर्ने गरेका छन् ।

तोरीजन्य घाँस प्रजातिमा पाइने विषादी, किसानले छर्ने विषादी, करेन्ट लागेर, दलदलमा भाँसिएर, जुधेर, भालेले आक्रमण गरेर, बाघको आक्रमण र कहिलेकाहीं रूखले च्यापेर समेत गैंडा मर्ने गरेका छन् ।

केही गैंडामा कलेजोसम्बन्धी समस्या देखिएको छ । लिभर सिरोसिसबाट एक र पाठेघरको संक्रमणबाट गत वर्ष दुईवटा गैंडा मरेका थिए । कुनै बेला तस्करहरूले गर्ने चोरी–शिकार गैंडा मृत्युको मुख्य कारण थियो । खाग तस्करहरूले विगतमा एकै वर्षमा ३८ वटासम्म गैंडा मारेको तथ्यांक छ । पछिल्लो समय चोरीशिकार ठप्प भए पनि प्राकृतिक कारणले भने गैंडा मरी नै रहेका छन् ।

अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा गैंडाको मृत्युदर ३९.५ प्रतिशतले घटेको देखिएको छ । तर, अझै पनि प्राकृतिक मृत्युदर घटाउन सकिने अवस्था भने बाँकी नै छ । गैंडाको वासस्थान सुधार, घाँसे मैदानको व्यवस्थापन, सूक्ष्म निगरानीले गैंडाको प्राकृतिक मृत्युमा कमी ल्याउन सकिने संरक्षणकर्मीहरू बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत कमलजंग कुँवर भन्छन्, ‘मानवीय कारणबाट हुने लापर्वाही कम गर्ने, गैंडाको संख्यात्मक घनत्वलाई विचार गर्ने र दलदललगायतका क्षेत्रको पहिचान गर्न सके मृत्युदरलाई अझै घटाउन सकिन्छ ।’

अबको योजना  

निकुञ्ज क्षेत्रमा १९ वटा ब्लक बनाएर गैंडाको गणना गरिएको थियो । अब ‘ब्लकवाइज’ गैंडाको तथ्यांक विश्लेषण गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख बरालले जानकारी दिए ।

‘कुन ब्लकमा कति वटासम्म गैंडा अटाउन सक्छन्, अहिलेको अवस्था के छ ? घाँसे मैदान र पानीको अवस्था के छ भनेर विश्लेषण गर्छौं’ बरालले भने, ‘ब्लकको क्षमताको आधारमा गैंडालाई राख्ने योजना बनाउँछौं ।’ उनले गैंडाको जन्म, मृत्यु र बसाइँसराइको अवस्था हेरेर तथ्यांक विश्लेषण गरिने बताए ।

विगतमा गैंडाको संख्यामा वृद्धि भएको, पूर्वी क्षेत्रबाट पश्चिमी नदी तटीय क्षेत्रमा सर्दै गएकोले यसको प्राकृतिक मृत्यु बढेको हुनसक्ने विश्लेषण गरिएको थियो ।

गैंडाको संख्या पश्चिम क्षेत्रमा बढेको तर पूर्वी क्षेत्रमा कम भएको भन्ने कुरा सत्य नभएको गणनाका प्राविधिक संयोजक हरिभद्र आचार्यले जानकारी दिए । उनले आवश्यकता अनुसार गैंडाको स्थानान्तरण पनि गरिने बताए । सानो क्षेत्रफलमा धेरै गैंडा हुँदा जुधेर घाइते तथा मर्ने सम्भावना बढी हुने हुँदा तिनको व्यवस्थापन गर्न आवश्यक भएको उनको भनाइ छ ।

गैंडाको संख्या बढ्दा संरक्षणमा चुनौती नबढ्ने विज्ञहरू बताउँछन् । यसपटकको गणनामा गैंडाको वासस्थानको अवस्था, मिचाहा वनस्पतिको प्रजाति र मानवीय क्रियाकलाप सम्बन्धी तथ्यांकसमेत संकलन गरिएको छ ।

कति क्षेत्रफलमा कति गैंडा अटाउन सक्छन् भन्ने विश्लेषण गरेर सोही अनुसार गैंडाको अनुपात मिलाउनुपर्ने विज्ञहरूको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जमा ८५० वटासम्म गैंडा अटाउन सक्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा १००, शुक्लाफाँटामा ५० र कोशीटप्पुमा ४० वटा गैंडा अटाउने विज्ञहरूको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment