Comments Add Comment

शीतलता प्रदान गर्ने पर्व सिरुवा (जूरशितल)

सिरुवा थारू समुदायमा युगौंदेखि चलिआएका विभिन्न पर्वमध्ये एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसलाई जूरशितल पनि भन्ने गरिन्छ । यसको छुट्टै महत्व र पहिचान छ । जूरको अर्थ ‘भाग्य’ अथवा चिसो भन्ने हुन्छ । यसकारण यसलाई शीतलता प्रदान गर्ने भाग्य–पर्वको रूपमा लिइन्छ । खेती नै प्रमुख आय-आर्जनको स्रोत भएको थारू समुदायमा पानीको महत्व हुने नै भयो । यो पर्वमा पनि बढीभन्दा बढी पानीको प्रयोग हुन्छ ।

यो पर्व सँगसँगै नयाँ वर्ष पनि पर्ने भएकाले नेपालमा यसको महत्व झन् बढ्न गएको छ । यसलाई तराईमा बसोवास गर्ने आदिवासी राजवंशी, गनगाई, ताजपुरिया, धिमालका साथसाथै अन्य समुदायले पनि पर्वकै रूपमा धुमधामसँग मनाउने गरेका छन् ।

यो पर्वलाई समय परिवर्तनको संकेतको रूपमा पनि मनाउने गरिएको छ । गर्मी मौसम शुरू हुनलागेको, पानीको बढीभन्दा बढी प्रयोग हुने गरेको र पानीले शीतलता प्रदान गर्ने भएकोले पनि यसलाई जूरशितल भन्ने गरिन्छ ।

यो पर्व नेपालको पूर्वी तराईका साथै भारत, थाइल्याण्ड, म्यानमार, कम्बोडिया, श्रीलंका, लाओस आदि देशमा प्रत्येक वर्ष अप्रिल १३ देखि १५ सम्म महासोंक्रान, थिनग्यान, पिमाई लाउ, चौलचाम थ्ले, आथुल, अबुरुदुजस्ता नामले मनाउने गरिन्छ ।

थारू समुदायमा एउटा भनाइ नै छ– ‘सिरुवा पसारे या फगुवा ओसारे’ । अर्थात् थारूहरूको चाडपर्व सिरुवाबाट प्रारम्भ र फुगावा (होरी) मा गएर समाप्त हुन्छ । पूर्व महान्यायाधिवक्ता स्व. रामानन्दप्रसाद सिंहले यसलाई थारूहरूको शीर्षस्थ पर्वको रूपमा चित्रण गर्नुभएको छ ।

अहिले पोखरीमा व्यावसायिक रूपमा माछा पाल्ने र शिकार गर्ने काम गैरकानूनी भएकोले यो चलन हराउँदै गएको छ ।

यसै समयमा ‘थारू पुत्र’ भगवान गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महानिर्वाण (देहत्याग) पर्ने भएकोले यो पर्वमा थारूहरूको आफ्नो छुट्टै पहिचान र सम्बन्ध जोडिएको छ ।

बौद्ध र थारू संवत्को साथै नेपाल सरकारको आधिकारिक बिक्रम संवत्को पहिलो महीनाको पहिलो दिन पनि पर्ने भएकोले यसलाई नयाँ वर्षको रूपमा नेपालभरि हर्षोल्लासका साथ मनाउने चलन छ । यो राष्ट्रिय पर्वमा नेपाल सरकारबाट सार्वजनिक विदाको घोषणा गरेकोले पनि यो एउटा संस्कृतिको रूपमा रहेको छ ।

नेपालमा सिरुवा

यो पर्वको बारेमा नेपाल तथा अन्य मुलुकमा प्रचलित एउटा पौराणिक कथा जो थारू समुदाय तथा अन्य एशियाली मुलुकमा प्रचलनमा छ । जसअनुसार परापूर्वकालमा एक महाप्रतापी राजकुमार थिए । उनी विभिन्न किसिमको भाषा र चराचुरुङ्गीहरूको भाषा पनि बुझ्ने गर्दथे । उनको प्रताप स्वर्गसम्म पुगेको थियो । जसको कारण कपिल नामका देवतालाई राजकुमारसँग इष्र्या लाग्यो र उनी पृथ्वीमा झरे ।

दरबारमा पुगी राजकुमारसँग तीनवटा प्रश्न सोध्ने शर्त राखे । शर्तानुसार कपिल देवताले सोधेका तीनवटा प्रश्नको जवाफ राजकुमारले सात दिनभित्रमा दिनुपर्ने थियो । प्रश्नको जवाफ दिन नसके राजकुमारले आफ्नो टाउको काटेर दिनुपर्ने र जवाफ सही दिए कपिल देवताले आफ्नो टाउको काटेर राजकुमारलाई दिने शर्त थियो । राजकुमार सर्वज्ञानी भएकोले शर्त सहर्ष स्वीकार गरे ।

राजकुमारले प्रश्न त स्वीकार गरे तर जवाफ पाउन सकेनन् । एक दिन दुई दिन हुँदै छैटौं दिनसम्म पनि जवाफ नपाएर बेइज्जत भएर टाउको कटाउनु भन्दा आफैं आत्महत्या गर्ने भनेर राजकुमार जंगलतिर लागे । जाँदाजाँदै बीच जंगलको एउटा ठूलो रूखमुनि चिन्तित मुद्रामा बसे ।

त्यस रूखमाथि चीलको गुँड थियो र गुँडमा बच्चाहरू भोकले कराइरहेका थिए । बच्चाकी आमा आएर उनीहरूलाई सम्झाउन थाली– तिमीहरू धैर्य गर तल रूखमुनि बसिरहेको जवानको मासु खान पाउँछौ । ऊ तीनवटा प्रश्नको जवाफ दिन नसकेर आत्महत्या गर्न आएको हो ।’

बच्चासँगको कुराको सिलसिलामा आमाले शर्त तथा प्रश्न र उसको सही उत्तर पनि आफ्ना बच्चाहरूलाई सुनाई । तल बसिरहेका राजकुमार चराचुरुङ्गीको भाषा पनि बुझ्ने भएकाले सबै कुरा सुने र खुशीसाथ त्यहाँबाट दरबार पुगे । समयसीमाभित्रै कपिल देवताले दिएको तीनवटै प्रश्नको जवाफ दिए ।

शर्त मुताबिक कपिल देवताले आफ्नो टाउको काटेर राजकुमारलाई अर्पे । तर उनको टाउको यस्तो थियो कि त्यसलाई समुद्रमा राखे समुद्रै सुक्ने, वनमा राख्यो भने वन नै जलेर सखाप हुने अर्थात् टाउको राख्ने कुनै ठाउँ नै रहेन ।

यो समस्यालाई समाधान गर्न कपिल देवताका सात छोरीहरू मिलेर एउटा उपाय निकाले । सातै बहिनीले बुवाको टाउको पालैपालो वर्ष दिनका लागि बोकेर सुमेरु पहाडको एउटै ध्रुवमा वरिपरि घुम्न लागे । एक वर्षका लागि यही सिरुवा जूरशितलको दिन नै एक बहिनीले अर्की बहिनीलाई बुवाको टाउको हस्तान्तरण गर्ने विश्वास यो पर्वसँग जोडिएको छ । यस्तै मिल्ने कथा अन्य देशमा पनि छन् । कतिपय देशमा त यो दिन कपिल देवतालाई गुफाबाट निकाली पूजा गर्ने, जूरशितल मनाउने तथा भोज खाने चलन छ ।

सिरुवा पर्व नेपालको पूर्वी तराईका साथै भारत, थाइल्याण्ड, म्यानमार, कम्बोडिया, श्रीलंका, लाओस आदि देशमा प्रत्येक वर्ष अप्रिल १३ देखि १५ सम्म महासोंक्रान, थिनग्यान, पिमाई लाउ, चौलचाम थ्ले, आथुल, अबुरुदुजस्ता नामले मनाउने गरिन्छ ।

कथानुसार पहिलो प्रश्न थियो– बिहानको समयमा व्यक्तिको राशि (भाग्य) कहाँ वास गरेको हुन्छ ? दोस्रो– दोपहर र तेस्रो– रातिको समयमा मानिसको भाग्य कहाँ वास गरेको हुन्छ ? उत्तर– मुख, शरीर र खुट्टा ।

यो पर्वको तयारीमा थारू समुदाय अघिल्लो दिनदेखि नै लागिपरेका हुन्छन् । घर-आँगन र वरिपरिको सरसफाइ विशेष किसिमले गर्छन् । महिलाले विभिन्न किसिमको रंगीन माटो प्रयोग गरी घरलाई लिप–पोत गरेर चिटिक्क पार्छन् । घरमा विभिन्न किसिमको कोहबर (कलाकृति) ले भित्ता सजाइएको हुन्छ । जसमा हात्तीदेखि विभिन्न चराचुरुङ्गीका चित्र रहेका हुन्छन् । यसबाट नै थारू समुदाय नयाँ वर्षलाई स्वागत गर्न तयार रहेको भान हुन्छ ।

थाइल्याण्ड तथा म्यानमारमा सिरुवा

चैत महीनाको अन्तिम दिन थारू समुदाय साँझतिर पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतको लागि विभिन्न किसिमका रोटी, पकौरी, कचरी, बरीलगायत पकवान बनाउनमा व्यस्त हुन्छन् । यस्ता परिकारको वासनाले गाउँ नै सुगन्धित हुन पुग्छ ।

भोलिपल्ट बिहान नयाँ वर्षमा नयाँ जोस र उमंगका साथ जूरशितल शुरू हुन्छ । बिहान सबेरै घरको मूलीले आफ्ना कुलदेवताको साथै घरका सदस्यहरूको टाउकोमा पानी छर्केर आशीर्वाद दिन्छन् । सानाले ठूला वा अग्रजको खुट्टामा पानी हालेर दीर्घायुको लागि कामना गर्दछन् । जूरशितल गाई, वस्तु तथा रूख–बिरुवामा पनि गर्ने चलन छ । सबैजना आ–आफ्नो कुरालाई बिर्सेर जूरशितल गरी खुशी साटासाट गर्नमा व्यस्त रहन्छन् ।

एक दिन अगाडि पकाएको खानेकुरा एकापसमा मिलेर साटासाट गरी खाने चलन छ । अघिल्लो वर्ष पकाएको खाना नयाँ वर्षमा खाने गर्छन् । जसले पुरानो वर्षको सम्झना तथा नयाँ वर्षको स्वागत सँगसँगै हुने गर्दछन् ।

थारू समुदायमा एउटा भनाइ नै छ– ‘चैत के निनहल वैशाख मे खेनाइ’ अर्थात् चैतमा पकाएको खानेकुरा वैशाखमा खाने । नयाँ वर्षको दिन सामूहिक रूपमा माछा मार्ने तथा शिकार खेल्ने चलन पनि छ । अहिले पोखरीमा व्यावसायिक रूपमा माछा पाल्ने र शिकार गर्ने काम गैरकानूनी भएकोले यो चलन हराउँदै गएको छ । त्यसको साटो खशी, कुखुरा काटेर खाने चलन बढेको छ ।

सिरुवा जूरशितलमा थारू समुदाय नजिक रहेको धार्मिक स्थलमा मेला लाग्ने गर्छ । थारूहरू दशैंभन्दा पनि सिरुवामा नयाँ लुगा लगाउने गर्छन् । कतिपय स्थानमा त एक महिनासम्म मेला लाग्ने गरेको पाइन्छ । पश्चिमतिरका थारू समुदायले माघीलाई थारूहरूको नयाँ वर्षको रूपमा माने पनि खासमा माघी आर्थिक हिसाबले नयाँ वर्ष हो भने थारूको असली नयाँ वर्ष वैशाख नै हो ।

यो पर्व तीन दिनसम्म मनाउने चलन रहेको भए पनि हाल यसमा केही कमी आएको छ । केही समुदायहरूले यसलाई जगेर्ना गर्नका लागि काठमाडौंको टुँडिखेलमा सिरुवा मनाउने गरेका छन् ।

यसमा पहिलो दिनलाई जल सिरुवा अर्थात् पानीसँग खेलेर सिरुवा मनाउने दोस्रो दिनलाई काद सिरुवा अर्थात् हिलोसँग खेलेर मनाउने र तेस्रो दिनलाई रंग सिरुवा अर्थात् विभिन्न किसिमको रंगहरूको प्रयोग गरी उल्लासपूर्वक मनाउने चलन छ ।

बौद्ध धर्मको बाहुल्य रहेका देशहरूमा यो पर्व यही समयमा यस्तै किसिमले मनाउने गरेको पाइन्छ । भगवान गौतम बुद्ध पनि थारू समुदायमा नै जन्मिएको हुनाले यस पर्वसँग थारूहरूको वंशाणुगत सम्बन्ध रहेको छ ।

लेखक थारु भाषा साहित्य केन्द्र नेपालका उपाध्यक्ष हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment