Comments Add Comment

नयाँ वर्षमा सौराहाका सडकमा घुइँचो, होटल सुनसान

१ वैशाख, चितवन । नयाँ वर्ष २०७८ सालको पहिलो दिन नेपालकै तेस्रो पर्यटकीय गन्तव्य मानिने चितवनको सौराहामा आन्तरिक पर्यटकको निकै घुँइचो लाग्यो ।

सौराहाका मुख्य बजार क्षेत्रमा रगीचंगी तोरण टाँगिएको छ । विभिन्न विद्यालय, कलेजबाट आएका विद्यार्थी, सहकारी, विभिन्न आमा समूह तथा छिमेकी जिल्लाबाट आएका आन्तरिक पर्यटकका कारण सौराहाको हात्ती तथा गैंडा चोकमा खुट्टा हाल्ने ठाँउसमेत पनि भएन । राप्ती नदीको किनार क्षेत्रमा पर्यटकहरुको उस्तै भीड थियो ।

बाहिर भीड भएपनि सौराहाका होटलहरु पनि खाली देखिए । सौराहामा सडकमा देखिने भीडसँग होटलको अकुपेन्सी साइनो हुन छाडेको व्यवसायीहरू बताउँछन् । क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष एवं जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले नयाँ वर्षको अघिल्लो रातसमेत होटलका कोठा पर्यटकले नभरिएको बताउँछन् । उनले ६० देखि ७० प्रतिशतको हाराहारीमा मात्रै अकुपेन्सी रहेको बताए ।

‘गत वर्ष त कोरोना महामारीकै समय भयो होटलहरु चलेनन् त्यसअघिका नयाँ वर्षमा जति पर्यटक बस्न आउँथे अहिले आएनन्,’ व्यवसायी घिमिरे भन्छन्, ‘कोरोनाको दोस्रो लहर शुरु हुने खतरा बढेकोले पर्यटकहरु आउन कम भएको हुनसक्छ ।’ घिमिरेले सौराहा घुम्न आउने धेरैजसो आन्तरिक पर्यटक दिउँसो मात्रै बस्ने तर राति नबस्ने गरेको बताए ।

घिमिरे भन्छन्,  ‘रेष्टुरेन्टहरुको अवस्था राम्रो छ, तर होटलको छैन । कोरोनापछि सुधार भएको होटलको अवस्था फेरि दयनीय हुने हो कि भन्ने चिन्ता छ । अबको केहीदिनमा त्यसको सिन देखिन्छ ।’

सौराहामा चितवन र यसआसपासका जिल्लाबाट मात्रै बढी पर्यटकहरु आउने, सेल्फी खिचेर रमाउने, हात्ती चढ्ने गरेको व्यवसायीको भनाइ छ । सौराहामा बिदाको दिन शुक्रबार र शनिबार अन्य दिनमा भन्दा बढी पर्यटकहरु आउँछन् । माघदेखि चैतको मध्यसम्ममा यहाँका होटल आन्तरिक पर्यटकहरुले धानिने जस्तो देखिएको थियो । तर, कोरोनाको दोस्रो लहरको हल्लापछि पर्यटकहरु बास बस्न छाडेको व्यवसायीहरुको भनाइ छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले नयाँ वर्षको अघिल्लो दिन अकुपेन्सी राम्रो भए पनि नयाँ वर्षकै दिन भने खासै नभएको बताए । ‘सडकमा हेर्दा भीडभाड देखिन्छ, निकै चलेको होला भन्ने पनि लाग्छ तर भित्रको अवस्था अर्को छ, होटलमा नबस्ने र मात्रै रमाइलोका लागि घुम्ने पर्यटक मात्रै आएका छन्,’ अध्यक्ष भट्टराईले भने ।

चितवन फरेष्ट रिसोर्ट चलाएका भट्टराईको होटलमा २५ कोठा छन् । मंगलबार राति सबै भरिएका कोठा बुधबार जम्मा १० वटा मात्रै गएको छ । अध्यक्ष भट्टराईले सौराहाका होटलको औसत अकुपेन्सी दर ५० देखि ५५ प्रतिशत रहेको र अब झनै कम हुँदै जाने बताए । सरकारले राति ९ बजेपछि होटल तथा रेष्टुरेन्ट बन्द गर्न निर्देशन जारी गरेको प्रति व्यवसायीहरु रूष्ट बनेका छन् । सौराहामा ११० पर्यटकीय होटल छन् । होटल व्यवसायीहरुले रेष्टुरेन्टको व्यापार राम्रो भएको बताउँछन् । तर रेष्टुरेन्ट एण्ड बार एशोसियन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले सोचेजस्तो व्यवसाय नभएको बताए । उनले होटलकोभन्दा रेष्टुरेन्टको अवस्था केही राम्रो भएको बताए । टाढाबाट आउने पर्यटकहरु कोरोनाको दोस्रो लहरको डरले नआएको अध्यक्ष खतिवडाले बताए ।

सौराहामा विदेशी पर्यटकलाई लक्षित गरेर उपहारको पसल सञ्चालन गरेकाहरु सबैभन्दा बढी मारमा परेका छन् । विदेशी पर्यटक नआउने स्वदेशी पर्यटकले सामान नकिन्ने हुँदा समस्या भएको उनीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment