
२ वैशाख, काठमाडौं । अमेरिकाले साइबर आक्रमणको प्रयास तथा निर्वाचनमा हस्तक्षेपको विषयलाई लिएर रुसमाथि थप प्रतिबन्धको तयारी गरेको छ ।
बिहीबार अमेरिकाले रुसी कम्पनी तथा अधिकारीमाथि प्रतिबन्ध घोषणा हुने सम्भावना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ प्रतिबन्ध अनुसार करिब ३० रुसी कम्पनी अमेरिकाको कालोसूचीमा पर्नेछन् भने १० रुसी अधिकारीलाई अमेरिकाबाट देशनिकाला गरिने अनुमान छ । यद्यपि, यस विषयमा आधिकारिकरुपमा कुनै जानकारी भने दिइएको छैन ।
अमेरिकाले देशनिकाला गर्न लागेका मानिसहरुमा कूटनीतिक अधिकारी पनि छन् । पछिल्लो समय रुस र अमेरिकाको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेको बेला अमेरिकाले थप प्रतिबन्धको तयारी गरेको हो । गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘हत्यारा’ भएको बताएका थिए ।
गत वर्ष सोलारवाइन्ड सफ्टवेयरको केही भाग ह्याक भएको साइबर सुरक्षा विशेषज्ञहरुले विश्लेषण गरेका थिए। उक्त ह्याकिङबाट १८ हजार अमेरिकी सरकारी र निजी कम्प्युटर नेटवर्कसम्म साइबर अपराधी पुगेका थिए । अमेरिकाको गुप्तचर संस्थाले उक्त साइबर आक्रमण रुसले गराएको दाबी गर्दै आएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4