Comments Add Comment

किरण चेम्जोङ धनगढी एफसीको आइकोनिक प्लेअर

२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ वैशाख ११ देखि सुरु हुने नेपाल सुपर लिगका लागि एनगढी एफसीमा अनुबन्ध भएका छन् । एनएसएलको फ्रेन्चाइज धनगढी एफसीले बिहीबार एक कार्यक्रम गर्दै किरणलाई आइकोनिक प्लेअरको रुपमा सार्वजनिक गरेको छ ।

क्लबका मालिक सुबास शाही र किरणले सम्झौतापत्रमा विहीबार नै हस्ताक्षर गरे । धनगढीले मिडफिल्डर विशाल राईलाई मार्की प्लेअरको रुपमा यसअघि नै टिममा राखिसकेको छ ।

भारतीय आइ लिगमा राउण्ड ग्लास पञ्जाबबाट खेलेका किरण एनएसएसको अक्सन सूचीमा थिएनन् । उनीसंगै अभिषेक रिजाल र प्रकाश बुढाथोकीले भारतमा लिग खेलेका थिए र उनीहरुलाई एनएसएलका लागि आइकोनिक प्लेअरमा रुपमा अनुबन्ध गर्न सकिने प्रावधान राखिएको थियो ।

३१ वर्षीय किरणकै कप्तानीमा नेपालले गत चैतमा नेपालमै सम्पन्न थ्री नेशन्स कप फुटबलको उपाधि जितेको थियो । यस्तै किरणले यस सिजन आई लिगमा उत्कृष्ट गोलकिपरको अवार्ड जिते भने आई लिगको टिम अफ दि सिजनमा समेत परे ।

किरणको अनुबन्धसंगै धनगढी टिम बलियो बनेको छ । धनगढीले चैत ६ गते भएको अक्सनबाट समूह ए मा रहेका दिनेश राजवंशी र निशान खड्कालाई यसअघि नै अनुबन्ध गरिसकेको छ । यस्तै युवा फरवार्ड दर्शन गुरुङलाई पनि धनगढीले अनुबन्ध गरेको छ । अक्सनबाट धनगढीले १४ खेलाडी अनुबन्ध गरेको थियो ।

धनगढीमा आवद्ध भएपछि गोलकिपर किरणले आफू ५ वर्षपछि घरेलु लिग खेल्न पाउँदा खुशी रहेको बताए । ‘धनगढीलाई हरेक खेल जिताउन म पूरा मिहिनेत गर्नेछु । कोभिडका बेला पनि फुटबल खेल्न पाइरहेका छौं, हामी भाग्यमानी छौं’ उनले भने ।

एनएसएलका लागि धनगढीको टिम

गोलकिपर : टेकेन्द्र थापा, किरण चेम्जोङ (आइकोनिक प्लेअर)

डिफेण्डर : अशोक खवास, विवेक बस्नेत, दिनेश राजवंशी, निराजन महर्जन, निशान खड्का, युद्द शाही

मिडफिल्डर : विशाल राई (मार्की प्लेअर), पुजन उपरकोटी, रुपेश केसी, साउजन राई, योगेश गुरुङ

फरवार्ड : विजय श्रेष्ठ, दर्शन गुरुङ, टंक बस्नेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment