Comments Add Comment

‘नदीनाला अकल्पनीय गतिमा परिवर्तन भइरहेका छन्’

गएको एक दशकमा निर्माण सामग्रीको माग हृवात्तै बढेको छ । त्यसैले साना-ठूला खोला-खोल्सी जहाँ भेटिन्छ त्यहींबाट वैध र अवैध किसिमले नदीजन्य पदार्थ दोहन गर्ने काम भइरहेको छ । समृद्धिको नाममा जुन किसिमले हाम्रो गाउँघर, शहरबजारमा व्यापक रूपमा बाटोको संजाल फैलिंदैछ, त्यसले मुलुकको जैविक विविधतालाई पार्ने असरबारे धेरैलाई चासो र यो विषय राष्ट्रिय प्राथमिकतामा पनि परिरहेको छैन ।

यति व्यापक रूपमा नदीनालाको दोहन हुँदासम्म पनि ठ्याक्कै कुन ठाउँबाट कति नदीजन्य सामग्री उत्खनन भइरहेको छ भन्ने थाहा पाउन गाह्रो छ । किनभने यसबारे हुनुपर्ने जति अध्ययन भएकै छैनन् । अहिले हामी यही विषयमा पूर्वी राप्ती, मर्स्याङ्दी नदीमा गरिरहेको अध्ययनमा त्यही समस्यासँग जुधिरहेका छौं । उत्खनन भइरहेका यी गिट्टी बालुवाको परिमाण यकिन गर्न गाह्रो छ ।

तर प्रारम्भिक अध्ययनबाट के प्रष्ट छ भने हाम्रा नदीनाला अकल्पनीय गतिमा परिवर्तन भइरहेका छन् । यसको असर नदीमा आश्रति समुदाय र जलीय जैविक विविधतामा देखिन थालिसकेको छ । विकास निर्माणका लागि प्रयोग हुने सामग्रीको जथाभावी दोहन हुँदा यसले नदीलाई हानि गर्ने कुरा त छँदैछ, जलीय जैविक विविधतामा पनि हानिकारक असर पार्दछ ।

मस्र्याङ्दी नदीमा अध्ययन गर्दा, गिट्टी बालुवा दोहन गरेको ठाउँदेखि दशौं किलोमिटर तलसम्म पनि पानी धमिलिएको हामीले पायौं । यसले नदीको ढुंगा गिट्टीमा लेउ लाग्नुपर्ने ठाउँमा माथिबाट बग्दै आएको माटो भरिन्छ । जसले गर्दा ती नदीमा लेउबाट पोषण प्राप्त गर्ने जीवाणुहरूको वासस्थानमा ह्रास आउँछ ।

यही कारणले अहिले नेपालमा पाइने २०० भन्दा बढी प्रजातिका माछामध्ये धेरै लोपोन्मुख अवस्थामा पुगेका छन् । यसले जलीय जैविक विविधतालाई मात्रै मास्दैन, नदीमा आश्रति समुदायहरूमा पनि असर पार्छ । माछा मारेर जीविकोपार्जन, माछाबाट प्रोटिनलगायत पोषणयुक्त आहार पाउने परिवारहरूले आयआर्जनको लागि अरू विकल्प खोज्न थाल्नुपर्ने अवस्था आइसकेको छ ।

खोलानालाहरूसँगको हाम्रो सम्बन्ध पालनपोषणमा मात्र सीमित छैन । नेपालका विभिन्न धार्मिक समुदायहरूले आफ्ना मृतक आफन्तहरूको अन्तिम संस्कार गर्ने थलो पनि नदी नै हो । तर जुन मात्रामा नदीहरूको दोहन भइरहेको छ, आउने वर्षहरूमा देशभरिका खोलाहरू पनि काठमाडौंमा बग्ने दुर्गन्धित वागमती जस्ता नहोलान् भन्न सकिन्न । मनपरी उत्खनन नरोकिने हो भने यी अविरल बग्ने खोलाहरू कुरुप हुँदै ढल फाल्ने साना नालीमा सीमित हुने दिन टाढा छैनन् ।

पानीको हाहाकार

जमीनमुनिको पानी पुनर्भरण (रिचार्ज) गर्न अत्यावश्यक यी प्राकृतिक स्रोतहरूमा विकास निर्माणको नाममा अनियन्त्रित ढंगले दोहन भइरहेको छ । जमीनमुनि पानी सोस्ने काम गर्ने गिट्टी बालुवाको सतह गहिरिंदै जाँदा ती नदीनाला वरिपरि बस्ने समुदायहरूको पानीको स्रोतसम्मको पहुँचमा समस्या बढ्दै गएको छ ।

एस्काभेटरहरूले नियम विपरीत खोलालाई २० फिटसम्म गहिरो बनाएर खन्दा सो क्षेत्र आसपासमा पानीको सतह गहिरिंदै गएर खानेपानीको हाहाकार मच्चिन थालेको छ । यस्ता समाचार मिडियामा आउन थालिसके । धेरै मात्रामा बालुवा र ढुङ्गा निकाल्नुको अर्थ नदीले पानी पुनः जम्मा गर्ने आफ्नो क्षमता गुमाउनु हो, जुन भूमिगत जल पुनर्भरणको लागि अत्यन्त महत्वपूर्ण छ ।

जहाँ धेरै उत्खनन हुन्छ, त्यहाँ पानी सोस्ने र भूमिगत जल पुनर्भरण गर्ने बालुवा र रोडाजस्ता स-साना छिऽयुक्त पदार्थबाट नदी वञ्चित हुन्छ । हामी अहिले जे देख्दैछौं, ती माटोजस्तो खुकुलो सामग्रीका तहहरू मात्रै हुन् । तिनले पानी थाम्न सक्दैनन् ।

पहिले ५० फिट जति खन्दा पनि हाते कलबाट प्रशस्तै पानी आउने ठाउँमा अहिले तीन/चार सय फिटसम्म खन्दा पनि पानी आउँदैन । यस्तै हो भने केही वर्षमै पानीको समस्याले विकराल रूप लिनेछ । एक त गहिरोबाट पानी निकाल्न थप खर्च र ऊर्जा लाग्छ नै, त्यसमाथि त्यस्तो गहिराइबाट निस्केको पानीमा मिसिएको प्रदूषण प्रशोधन गर्न पनि थप खर्च चाहिन्छ । यसको अर्थ जनतासम्म पानी आइपुग्दा त्यो निकै महँगो भइसकेको हुन्छ । अर्थात् खानेपानी, सिंचाइ सुविधा जस्ता हिजोसम्म सुलभ तरिकाले प्राप्त हुने वातावरणीय सेवा, दीर्घकालीन रूपमा झन्झन् महँगो हुँदै जानेछन् ।

नेपाल पानीको स्रोतमा जतिसुकै धनी भए पनि, यी स्रोतहरूको दिगो व्यवस्थापन नहुँदा हामीले जुन किसिमको सेवा-सुविधा पाउनुपर्ने हो, त्यो पाउन सकिरहेका छैनौं । त्यसैले पानीको समस्या अब काठमाडौंमा मात्रै हैन अन्यत्र पनि विकराल हुन थालिसक्यो ।

यस वाहेक नदीजन्य पदार्थको मनपरी उत्खननले गर्दा त्यसले बर्खामा निम्त्याउने संकट पनि थामिनसक्नु हुन थालेको छ । खहरे खोलाहरूको बहावलाई नियन्त्रण गर्ने ठूला चट्टानहरू नदीको बगर र किनारामा नहुँदा खेतीयोग्य जमीन कटान हुने र छेउछाउको बस्ती डुबाउने डर बढेको छ । त्यसैले वर्षैपिच्छे पानीको समस्या बल्झिरहने अनि त्यही पानी बर्खामा नियन्त्रण बाहिर गएर बाढी र पहिरोको जोखिम हुने समस्या बढिरहेका छन् ।

खोलाको बगरमा थुप्रिएको गिट्टी, बालुवालाई मापदण्डसहित प्रयोग गर्न सके मात्र पर्यावरणमा नकारात्मक असर पर्दैन । यस्तै मनपरी उत्खनन रहिरहृयो भने हाम्रा स्वच्छ खोलानालाहरू छिट्टै एकादेशको कथा जस्तै हुनेछन् । नेपालका छिमेकी मुलुकहरू चीन र भारतले जुन किसिमले आफ्ना खोलानाला दोहन गरे, त्यसको परिणाम अहिले उनीहरूले भोगिरहेका छन् । फलस्वरूप चीनमा अहिले याङ्जी र भारतमा गंगा नदीलाई पहिलेकै अवस्थामा फर्काउन निकै प्रयास भइरहेका छन् । विकासको नाममा हामीले पनि त्यो बाटो पछ्याउनुहुँदैन । हामीले पर्यावरणको संरक्षण गर्दै नदीजन्य पदार्थको सदुपयोग गर्न सके मात्र हाम्रो विकास दिगो हुन्छ ।

(काठमाडौं विश्वविद्यालयकी नदी पर्यावरणविद् डा.रामदेवी तचामो शाहसँग भृकुटी राईले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment