Comments Add Comment

६ महिनामा किन दोब्बर भयो कुखुराको मासुको भाउ ?

२ वैशाख, काठमाडौं । गत असोज २५ गते काठमाडौं उपत्यकामा तयारी ब्रोइलर कुखुराको मासुको मूल्य प्रति किलो २०५ रुपैयाँ तोकियो । उक्त दिनको तयारी कुखुराको मासुको मूल्य पछिल्लो तीन वर्ष यताकै सबैभन्दा सस्तो भएको दाबी व्यवसायीहरुको थियो । तर असोजदेखि चैत अन्तिम सातासम्म मासुको मूल्य दोब्बरले वृद्धि भएर ४१० रुपैयाँ पुग्यो । संघले ४१० रुपैयाँ तोकेपनि बजारमा तयारी मासुको खुद्रा बिक्री मूल्य ४५० रुपैयाँसम्म पुगको छ ।

चैत २४ गते काठमाडौं उपत्यकामा कायम कुखुराको मासुको मूल्य संघकै दाबीअनुसार पनि असोज २५ गतेको भन्दा २०५ रुपैयाँले बढी हो । कुखुराको उत्पादनमा आएको गिरावटका कारण मासुको मूल्य अझै बढ्न सक्ने व्यवसायीहरुको दाबी छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार असोजदेखि चैत २९ सम्म मात्रै काठमाडौं उपत्यकामा २० पटक कुखुराको मासुको मूल्य बढेको छ ।

संघले अनलाइनखबरलाई उपलब्ध गराएको विवरणअनुसार असोज र कात्तिकमा आठ, मंसिरमा पाँच, पुसमा तीन पटक मासुको मूल्य बढेको थियो । यस्तै माघमा एक, फागुन र चैतमा दुई/दुई पटक मासुको मूल्य बढेको संघका सचिव देवकुमार गिरीले जानकारी दिए । काठमाडौं उपत्यकामा दैनिक साढे दुई लाख किलो कुखुराको मासु खपत हुन्छ । ठूलो परिमाणमा खपत हुने मासुको मूल्य वृद्धि दोब्बर हुँदा अनुगमनकारी निकाय र तालुकदार मन्त्रालय तथा विभागले भने अहिलेसम्म अध्ययन समेत गरेको छैन ।

मूल्य बढ्नुबारे सरकारी तर्क

कुखुराको मासुको मूल्य वृद्धि सम्बन्धमा कुनै अध्ययन नभएको पशु सेवा विभागले जनाएको छ । मूल्य बढेको विषयमा जानकार भएपनि विभागले बजार मूल्यबारे भने अध्ययन नगर्ने विभागका प्रवक्ता डा चन्द्र ढकालले बताए ।

‘पशुपन्छीजन्य क्षेत्रको विकास र प्रवर्द्धनमा विभागले काम गर्छ, कुखुराको मासुको मूल्य बढ्नेगरी हामीले अध्ययन गरेका छैनौं,’ प्रवक्ता ढकालले भने । कुखुराको मासुको मूूल्यलाई लिएर हालसम्म कुनै त्यस्तो अध्ययन तथा छलफल नभएको विभाग अन्र्तगतको बंगुर एवं कुखुरा प्रबर्द्धन इकाईले जनाएको छ । ‘मूल्य बढेको छ, त्यो विषयमा हामी जानकार छौं । तर कारणहरुबारे अध्ययन भएको छैन,’ इकाइ प्रमख डा.जगदिश पाण्डेले भने । नयाँ बजेट तथा कार्यक्रमका लागि विभाग निकै व्यवस्त रहेकाले पनि यसबारे अध्ययन नभएको हुनसक्ने उनले बताए ।

यता बजर मूल्यबारे अध्ययन र अनुगमन गर्ने निकाय वाणिज्य विभागले भने कुखुराको मासुको मूल्य वृद्धिबारे व्यवसायीहरुसँग जवाफ मागेको जनाएको छ । मासुको मूल्य बढेकोबारे व्यवसायीलाई कारण पेस गर्न निर्देशन दिइएको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए ।

व्यवसायी भन्छन ‘कुखुरा उत्पादन नै भएन’

बजारमा मासुको मूल्य बढ्नुको कारण मागको तुलनामा उत्पादन घट्नु नै भएको तर्क व्यवसायीहरुको छ ।

कोरोना महामारीका कारण कुखरापालन व्यवसायबाट साना किसानहरु पलायन हुँदा कुखुरा उत्पादन घटेको कुखुराको मासुको मूल्य निर्धारण गर्ने राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । जाडोका कारण अहिले बजारमा आउनु पर्ने कुखुराको उत्पादन घटेको र त्यसको असर मूल्यमा परेको बिसीको भनाइ छ ।

कोरोना महामारीका कारण लगाइएको लकडाउनले यस अघि घाटा बेहोर्नु पर्दा किसान पलायन हुँदाको असर बजारमा देखिएको संघका सचिव देवकुमार गिरीको भनाइ छ । ‘लकडाउनले बजारमा मासुको मूल्य अवमूल्ययन हुँदा चल्ला नबिकेर साना हृयाचरी वाला पनि घाटामा गए, तयारी कुखुराले बजार नपाउँदा किसान पनि पलायन भए । त्यसैको असर अहिले देखिएको हो,’ सचिव गिरीले तर्क गरे । नयाँ पालेका चल्लामा पनि मृत्युदर ४० प्रतिशतसम्म हुँदा अझै मूल्य बढ्न सक्ने उनले बताए ।

किसान भन्छन्  : बिचौलियाले खेलेका हुनसक्छन्

बजारमा कुखुराको मासुको मूल्यको तुलनामा किसानले सोही अनुसारको मूल्य पाए/नपाएको बारे सरकारले अध्ययन गर्नु पर्ने किसानहरुको तर्क छ ।

विगत १५ वर्षदेखि ब्रोइलर पालन गरिरहेकी धादिङ धुनेबेसी नगरपालिका-५ सुमराकी गंगादेवी सिग्देल आफूले जिउँदो कुखरा प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री गरेको बताउँछिन् । अहिलेसम्म राम्र्र भाउ पाइए पनि त्यो भाउ अनुसार उपभोक्ताले कसरी मूल्य तिरेका छन् भन्ने बारे भने आफू अनभिज्ञ रहेको उनले सुनाइन् । ‘अहिल भने दाना र चल्लाको भाउ पनि बढेको छ, बिचौलिया पनि होलान् । सरकारले अनुगमन गरेर मूल्य निर्धारण गर्नु पर्छ,’ उनले भनिन् । मासुको मूल्य बढेकै कारण चल्लाको भाउ पनि बढेको उनको भनाइ छ ।

विगतमा एक महिना उच्च हुने र तीन महिनापछि आरोलो  लाग्ने मासुको भाउ पछिल्लो ६ महिनासम्म उच्च रहनु रहस्यमय भएको नेपाल बोइलर कुखुरा पालक किसान संघका अध्यक्ष जनक पौडेल बताउँछन् । ठूला मासु बिक्रेताकोे डिजाइनमा सस्तोमा मासु उठाएर महँगोमा  बिक्री गरिएकाबारे सरकारले अनुगमन गर्नु पर्ने संघका अध्यक्ष पौडेलले बताए । ‘किसानलाई देखाएर कुखुराको अभाव भएको भन्दै मूल्य बढाउँछन् ।  उत्पादन र बजारको मागबारे सरकारले अनुसन्धान गर्नुपर्छ,’ अध्यक्ष पौडेलले भने । किसानसँग जिउँदो कुखुरा २६० देखि २७० मा उठेको भन्ने गुनासो आएको भन्दै उनले २७० मा जिउँदो ब्रोइलर किनेर ४५० सम्मा मासु बिक्री गर्नुचै अपराध भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment