Comments Add Comment

विद्यालय बन्द गर्ने प्रस्ताव थन्किएपछि अभिभावकलाई स्वास्थ्यको अपील

२ वैशाख, काठमाडौं । कोभिड-१९ महामारीको दोस्रो लहरसँगै नयाँ भेरियण्टको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालय बन्द गर्न र २५ जना भन्दा बढी भेला हुन नदिन २७ चैतमै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको थियो ।

स्वास्थ्यको सिफारिसबारे सीसीएमसीमा छलफल भयो, तर कुनै निर्णय भएन । स्कुलहरूमा संक्रमण भने तीव्र गतिमा फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मध्यपुर थिमि नगरपालिकाको एक निजी विद्यालयमा कक्षा ६ कक्षामा पढ्ने ११ वर्षीय बालकको कान्ति बाल अस्पतालमा संक्रमणकै कारण मृत्यु भयो भने चैत १४ यता मात्रै ३५० भन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् ।

पछिल्ला ३ दिनयता ९ वर्षभन्दा मुनिका क्रमशः १२, २२ र ५ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्षभित्रका क्रमश: ४८, ४० र ४३ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय बालबालिकामा संक्रमण बढेकाले विद्यालय बन्द नगरे कोरोना महामारी नियन्त्रण बाहिर जाने स्थिति आएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । ‘यो पटक पहिलेभन्दा काम गर्न गाह्रो छ किनकि हाम्रो सिफारिस र निर्देशन पालना भएको छैन’ उनले भनेका छन्, ‘नयाँ भेरियण्ट पहिले भन्दा छिटो फैलने गरेको छ ।’

‘महामारीको गम्भीरतालाई बुझेर निर्णय गर्ने निकायले कुनै निर्णय नगरेपछि हामीले यो अपील गरेका हौं । मन्त्रालयको अपीलअनुसार सर्वसाधारण आफैंले बुझेर त्यही अनुरुपको व्यवहार गर्दा संक्रमणको जोखिम कम हुन्छ,’ मन्त्रालयका एक अधिकारी भन्छन् ।

एकातिर संक्रमण तीव्र गतिमा फैलिने, अर्कातिर विद्यालय बन्द गर्ने सिफारिस अलपत्र पर्ने अवस्था आएपछि मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित क्षेत्र १४ जिल्लामा बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार पहिलो चरणको महामारीमा सुरूमै लकडाउन गरिएको थियो भने नागरिक आफैं अनुशासित भएकाले संक्रमण र मृत्युको तथ्यांक तुलनात्मक रूपमा कम थियो ।

‘यो पटक भिडभाड ज्यादा र मानिसहरुले जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही गरेकाले संक्रमण छिटो फैलिने र मृत्युदर बढ्न सक्छ’ डा. पौडेल सम्भावित खतरा संकेत गर्छन् ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि संक्रमणको दोस्रो लहरमा कोरोना लागेर कोही सिकिस्त भएमा अघिल्लो चरणमा भन्दा उपचार गर्न बढी कठिन हुने, मृत्युदर र संक्रमणदर बढी देखिने सम्भावना देखिएको बताउँछन् ।

नयाँ भेरियन्टको संक्रमण संगसंगै मृत्युदर पनि पहिलेको भन्दा बढी भएको उनको भनाइ छ । ‘संक्रमणको जोखिम भएका ठूला शहरमा विद्यालय बन्द गर्नु उपयुक्त हुन्छ भने संक्रमण नदेखिएको स्थान र सानो शहरमा जनस्वास्थ्यको मापदण्ड पालना गरेर स्कुल चलाउँदा हुन्छ ‘ डा. सुवेदी विद्यार्थीलाई संक्रमणको जोखिमबाट बचाउन चालुपर्ने कदमको बारे भन्छन् ।

पहिलो चरणको महामारीमा आवश्यकताभन्दा बढी एन्टिबायोटिकको प्रयोग भएकाले विगत केही महिनामा धेरैथरी एन्टिबायोटिकले नमर्ने खालका ब्याक्टेरिया स्वास्थ्य केन्द्रहरूमा फैलिएको सुवेदी बताउँछन् । त्यसले पनि कोभिडले बढी सिकिस्त बनाएका व्यक्तिमा देखिने ब्याक्टेरियल निमोनियालाई नेपालमा हाल उपलब्ध एन्टिबायोटिकले उपचार गर्न अत्यन्त कठिन हुन थालेको छ ।

सुवेदीका अनुसार वायु प्रदूषणको कारण श्वासप्रश्वावासका विरामी अस्पताल जाने क्रम बढेकाले संक्रमणको जोखिम झन् बढेको छ । ‘दोस्रो उभार र नयाँ भेरियण्टले गर्न सक्ने क्षति अरु देशको अवस्था हेरेर पनि आकलन गर्न सकिन्छ’ डा. सुवेदी थप्छन्, ‘जोखिम झन् बढेकाले यो बेला राज्यका निकाय पहिले भन्दा बढी संवेदनशील हुन जरुरी छ ।’

स्वास्थ्य मन्त्रालयको गुनासो

मंगलबार स्वास्थ्य मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भनेका थिए, ‘स्वास्थ्य संकटकाल आउने निश्चितजस्तै छ । हामीले त्यही अनुरुप तयारी गरिरहेका छौं, तर स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने निकायहरुले महामारीको गम्भीरता बुझेर काम गरेका छैनन् ।’

आउँदो जेठ अन्तिममा दैनिक ११ हजार संक्रमित भेटिनसक्ने मन्त्रालयको प्रक्षेपण सुनाइरहँदा उनले भनेका थिए, ‘महामारीविरुद्ध लड्ने अरु निकाय पनि छन्, उनीहरु गम्भीर नहुँदा अपजस भने हामीलाई आउँछ ।’

उनकाअनुसार महामारी विरुद्ध लड्न प्रदेश, स्थानीय सरकार र प्रत्येक वडा तथा पालिकाहरुको केन्द्र सरकार र स्वास्थ्य मन्त्रालयसँग सहकार्य हुनुपर्छ । स्वास्थ्य मन्त्रालयकै निर्देशन समेत पालना नभएकाले महामारी नियन्त्रण जटिल बन्दै गएको मन्त्री त्रिपाठी बताउँछन् । उनले भनेका थिए, ‘स्वास्थ्य मन्त्रालयले गरेको सिफारिसको विषयमा निर्णय नगर्दा ठूलो संकट आउनसक्छ ।’

यो पनि पढ्नुहोस दोधारमा अभिभावक : छोराछोरीलाई स्कूल पठाउने कि नपठाउने ?

स्वास्थ्यमन्त्रीले यसो भनेको तीन दिनपछि मन्त्रालयले १४ वटा जिल्लालाई कोरोना अतिप्रभावित घोषणा गर्‍यो र बढी भीडभाड हुने सबै क्षेत्र बन्द गर्न अपील गरेको छ । विद्यालय, ७ बजेपछि रात्री व्यवसाय, रेष्टुरेन्ट तथा क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुलमा नजान मन्त्रालयले अपील गरेको छ ।

‘महामारीको गम्भीरतालाई बुझेर निर्णय गर्ने निकायले कुनै निर्णय नगरेपछि हामीले यो अपील गरेका हौं । मन्त्रालयको अपीलअनुसार सर्वसाधारण आफैंले बुझेर त्यही अनुरुपको व्यवहार गर्दा संक्रमणको जोखिम कम हुन्छ,’ मन्त्रालयका एक अधिकारी भन्छन् ।

महामारीको सुरुवाती चरणदेखि नै कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले असहयोग गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘सबै निकायले काम नगर्दा महामारी नियन्त्रण गर्न गाह्रो छ तर अपजस स्वास्थ्य मन्त्रालयलाई मात्र आउँछ,’ एक अधिकारी भन्छन् ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सचिव खगराज बराल स्वास्थ्य मन्त्रालयले गरेको सिफारिस अनुसार तीन हप्ता अनलाइन वा वैकल्पिक माध्यमबाट पठनपाठन गराउनुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइसकेको बताउँछन् । ‘स्वास्थ्यको प्रस्तावमा छलफल गरेर सीसीएमसीको निर्देशक समितिले क्याबिनेटमा सिफारिस गरिसकेको हो, त्यसबारे निर्णय भइसकेको छैन’, उनले भने, ‘विद्यालय बन्द गर्ने/नगर्ने विषयमा अहिले आवश्यकताअनुसार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले निर्णय गर्न सक्छ ।’

नेपालगञ्जमा पनि सोही अनुसार ७ दिन विद्यालय बन्द गर्ने निर्णय भएको उनी बताउँछन् । स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको अपीलले पनि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र स्थानीय तहलाई पनि झक्झक्याउने उनी बताउँछन् । भन्छन्र, ‘डबल म्युटेन्ट र युके भेरियन्टको पुष्टिसँगै कोभिड–१९ को जोखिम थप बढेको छ, अब सबै सतर्क हुनैपर्छ ।’

ईडीसीडीका निर्देशक डा. पौडेल पनि महामारीको गम्भीरता बुझेर हरेक स्थानीय निकाय तथा प्रमुख जिल्ला अधिकारीले संक्रामक रोग ऐनले दिएको भूमिकाअनुसार काम गर्ने बेला आएको बताउँछन् । ‘यो बेला सहकार्य गरेनौं भने हामी महामारीसंग जुध्न सक्दैनौं, हरेक संस्था र व्यक्तिको सहकार्यबिना महामारीविरुद्ध लड्न असम्भव छ’ डा. पौडेल सुनाउँछन् ।

महामारीको जोखिम बढेकाले मन्त्रालयले सबै अस्पताललाई फिवर क्लिनिक अनिवार्य सञ्चालन गर्न र सबै सरकारी अस्पताललाई कम्तीमा ५० प्रतिशत बेड कोभिड-१९ का लागि छुट्याउने र निःशुल्क उपचार सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

‘हामीले के बुझ्नु जरुरी छ भने अहिले महामारीको जोखिममा छौं, अब पनि जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने र भिडभाड गर्ने हो भने हाम्रो स्वास्थ्य संरचनाले धान्दैनन्,’ सहप्रवक्ता अधिकारी भन्छन् ।

तथ्यांकले जोखिमको संकेत गर्दै

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ५ जना संक्रमित आईसीयूमा उपचाररत छन् भने १ जना संक्रमित भेण्टिलेटरमा उपचाररत छन् । त्यस्तै प्रदेश २ मा ४ र बागमती प्रदेशमा ३७ जना आईसीयूमा उपचाररत छन् भने २४ जना भेण्टिलेटरमा छन् । लुम्बिनी प्रदेशमा ४० आईसीयूमा र ८ जना भेण्टिलेटरमा उपचाररत छन् । कर्णालीमा ४ जना आईसीयूमा उपचाररत छन् भने सुदूरपश्चिम प्रदेशमा १ जना आईसीयूमा र २ जना भेण्टिलेटरमा छन् ।

स्वास्थ्य मन्त्रालयको अनुसार देशभरका अस्पतालको आईसीयूमा रहेका ९१ जना संक्रमितमध्ये २९ जना उपत्यकाका अस्पतालमा छन् । त्यस्तै भेण्टिलेटरमा उपचाररत ३५ संक्रमितमध्ये २२ जना उपत्यकाकै अस्पतालमा छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा ४९० जनामा संक्रमण पुष्टि भएको थियो भने ५ जनाको मृत्यु पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment