Comments Add Comment

टी-२० अन्तर्राष्ट्रिय डेब्युको पर्खाइमा कुशल भुर्तेल

३ वैशाख काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा यही शनिबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज आयोजना हुदैछ ।

त्यसका लागि नेपाली टोलीले बिहीबार टीयू मैदानमा अन्तिम प्रशिक्षण सकाएको छ । अहिले उक्त सिरिजका लागि सबै खाले तयारी अन्तिम चरणमा पुगेको छ ।

नयाँ मुख्य प्रशिक्षक डेभ वाटमोरको लागि नेपालबाट यो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनेछ । साथै ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १५ सदस्यीय टिममा यस पटक केही नयाँ अनुहार पनि छन् ।

स्पीनर शाहब आलम र विकेटकिपर ब्याट्सम्यान पहिलो पटक सिनियर टिममा परेका छन् । साथै लिस्ट ए म्याच खेलिसकेका कुशल भुर्तेलले पनि टी२० अन्तर्राष्ट्रिय खेल्न बाँकी नै छ । साथै ओडीआई खेलिसकेका बलर कमल सिंह ऐरीले पनि टी-२० मा डेब्यु गर्न बाँकी छ ।

पछिल्लो समय नेपालले टी२० क्रिकेटमा ओपनर फेर्दै आएको छ । यसपटक पनि टिममा ओपनिङ गर्ने सम्भावनाको रुपमा दुई नयाँ खेलाडी आएका छन् ।

कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्ने लगभग पक्का छ ।अब उनलाई अर्को छेउमा कसले साथ दिन्छ त्यो हेर्न नेपालले खेल्ने पहिलो खेल नै कुर्नुपर्नेछ ।

नयाँ खेलाडीहरु टी-२० अन्तर्राष्ट्रिय खेल खेल्न उत्साहित छन् । कुशल भुर्तेल पनि घरेलु मैदानमै डेब्युको पर्खाइमा छन् ।

नयाँ प्रशिक्षक वाटमवरले पनि कुशललाई ओपनरको रुपमा अभ्यास गराइरहेका छन् ।

कुशलले घरेलु मैदानमा दर्शकअघि टी२० मा डेब्यु गर्ने अवसर पाए त्यो राम्रो हुने बताए । ‘होम ग्राउण्डमा डेब्यु गर्ने अवसर पायो भने त्यो राम्रो अवसर हो । सबैको इच्छा हुन्छ राष्ट्रिय टिममा खेल्ने र देशको लागि कन्ट्रिबुट गर्ने । मेरो पनि इच्छा छ,’ कुशलले बिहीबारको प्रशिक्षणपछि भने ।

सन् २०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकपमा फिनिसरको रुपमा खेलेका कुशल पछिल्लो समय ओपनिङ गर्दै आएका छन् । घरेलु प्रतियोगिताहरुमा उनले ओपनिङ नै गर्दै आएका छन् ।

नेपाल पुलिस क्लबबाट खेल्ने उनले प्रधानमन्त्री कप र काठमाडौं मेयर कपमा पनि ओपनिङ गरेका थिए । साथै पोखरा प्रिमियर लिग टी२० मा पनि उनले ओपनिङ गरिसकेका छन् ।

त्यसैले ओपनिङ उनको लागि नयाँ होइन तर राष्ट्रिय टिमको लागि घरेलु मैदानमा डेब्यु गर्दै ओपनिङ गर्न पाए त्यो क्षण उनको लागि पक्कै विशेष हुनेछ । ‘पछिल्लो दुई तीन वर्ष देखि ओपनरको रुपमा खेल्दैछु । टिमले पनि मलाई ओपनरकै रुपमा हेरिरहेको छ । टिममा खेल्ने अवसर पाए भने राम्रो गर्ने हो । टिमलाई राम्रोसँग अघि लिएर जाने हो,’ कुशलले भने, ‘घरेलु क्रिकेटमा ज्ञानेन्द्र दाईसंग ओपनिङ गरिसकेको छु । टी-२० आईमा गर्न पाए त्यो पहिलो पटक हुनेछ । जतिसक्दो राम्रो सुरुवात दिलाउने मेरो भूमिका हुन्छ ।’

डेभ वाटमोरसँग प्रशिक्षण लिदा धेरै सिक्ने अवसर पाएको उनले बताए । ‘नयाँ कोच राम्रो हुनुहन्छ । उहाँले परफर्म गर्दा पनि परपर्म नगर्दा पनि उस्तै एटिट्युडले बोल्ने गर्नुहुन्छ जुन राम्रो लाग्छ । यस्तै राम्रो वातावरण तयार गर्नुहुन्छ । सकरात्मक कुराहरु छ,’ उनले थपे, ‘धेरै अनुभवी कोच हुनुहुन्छ । श्रीलंका, बंगलादेश, कोलकता नाइट राइडर्स धेरै ठाउँमा कोचिङ गरिसक्नुभाछ । हामीलाई कोचिङ गर्दा हामी खुशी नै छौँ । उहाँले इनिङ्स कसरी ब्युल्ड गर्ने ३०-४० रनलाई कसरी अघि लैजाने सिकाउनुहुन्छ । यो राम्रो पक्ष हो ।’

कुशलले धेरै समयपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको उत्साहित रहेको बताए । साथै उनले यस सिरिजलाई नेपालले टी-२० ग्लोबल क्वालिफारको लागि राम्रो तयारी गर्ने अवसरको रुपमा हेरेको बताए ।

‘यो वर्षको अन्तिममा टी-२० को ग्लोबल क्वालिफायर छ । त्यसको लागि यहीदेखि योजना बनाउने टिमको नै योजना छ । यहीदेखि टिम कम्बिनेसन कसरी बनाउन सकिन्छ सबैले त्यही हेरिराछ मैले पनि त्यही सोचिराछु,’ उनले भने ।

कुशलले व्यक्तिगत रुपमा भन्दा पनि टिमको लागि कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा ध्यान दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment