Comments Add Comment

प्रि–मनसुन गतिविधि सक्रिय, वर्षातले मकै छर्ने किसानलाई लाभ

३ वैशाख, काठमाडौं । देशभर वायुमण्डलमा प्रि–मनसुन गतिविधि सक्रिय भएको छ । लामो समयसम्म स्थिर रहेको वायुमण्डलमा प्रि–मनसुन गतिविधि सक्रिय भएपछि देशका विभिन्न ठाउँमा वर्षात भएको छ ।

हिउँदे वर्षा नभएर पीडित भएका किसानलाई यो वर्षातले राहत दिएको छ भने कतिपय स्थनमा हावाहुरी र असिनापानीले विभिन्न बालीनालीमा क्षति पनि पुगेको छ । यो वर्षातले वायुमण्डलमा फैलिएको प्रदूषण पनि हटाउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार स्थानीय वायुको प्रभावकै कारण देशका विभिन्न भागमा वर्षातसँगै असिना, चट्याङ र हावाहुरी देखिएको हो । अब स्थानीय वायु सक्रिय भएकाले गर्मी अवस्थामा विभिन्न ठाउँमा यस्ता मौसमी गतिविधि हुने पौडेलले बताए ।

मौसमविद् वरुण पौडेलका अनुसार धरान, धनकुटा, ओखलढुंगा, संखुवासभा, काठमाडौं उपत्यकाका तीन वटै जिल्ला र आसपालका अन्य जिल्ला, गण्डकी प्रदेशका पहाडी जिल्लासहित पश्चिम पहाडका केही भू-भागमा वर्षात भएको छ ।

केही स्थानमा असिना पनि परेको छ भने हावाहुरी पनि आएको छ । तराईमा पनि स्थानीय वायुको प्रभावले हावाहुरी आएको छ । अब दैनिक जसो विभिन्न भेगमा यसरी नै वर्षात हुने विभागको अनुमान छ ।

‘यो हरेक वर्ष दोहोरिने नियमित प्रक्रिया हो, असारमा सक्रिय हुने मनसुनअघि वायुमण्डलमा यस्ता सक्रिय गतिविधि हुन्छ,’ उनले भने,‘यो गतिविधि बढेपछि स्थिर वायुमण्डलका कारण बढेको प्रदूषण पनि हट्छ ।’ यो वर्ष धेरै हिउँदे वर्षा नभएकाले देशभर नै वायुप्रदूषण उच्च दरमा बढेको थियो ।

प्रि–मनसुन गतिविधि सक्रिय भएकाले पानी परेपछि पहाडी भेगमा मकै लगायतका बाली लगाउन थाल्ने मौसमविद् पौडेलले बताए । यस्तो वर्षातले तराई भेगमा लगाइएका बालीलाई पनि राहत प्रदान गरेको छ । तर, असिना र हावाहुरीका कारण कतिपय ठाउँमा अन्नबाली र फलफूलमा नोक्सानी पनि पुगेको छ ।

पानी परेपछि पूर्वी तथा मध्य पहाडी तथा तराई क्षेत्रका वनमा लागेको अधिकांश डढेलो पनि नियन्त्रणमा आएको छ । पश्मिच क्षेत्रमा भने अहिले पनि ६६ स्थानमा डढेलो सक्रिय रहेको डढलोसम्बन्धी विवरण दिने सरकारी प्रणालीमा उल्लेख छ ।

यो समयमा स्थानीय वायुको प्रभावले विशेष खालको कालो बादल उत्पन्न भएर चट्याङ पर्ने जोखिम पनि हुन्छ । यस्ता बादल ठोक्किएर चट्याङ पर्ने सम्भावना हुने भएकाले सचेत हुनुपर्ने मौसमविद पौडेलको भनाइ छ ।

‘मौसम प्रतिकुल भएको अवस्थामा सकेसम्म घरभित्रै बस्ने र आवश्यक सावधानी अपनाए प्राकृतिक विपदबाट जोगिन सकिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment