Comments Add Comment

मेलम्चीको पानीले मासिक ३०० खाल्डा पार्ने अनुमान, मर्मत गर्न छुट्टै समूह

खानेपानीको पाइप चुहिएर बिग्रिएको सडक

४ वैशाख, काठमाडौं । काठमाडौंमा गत चैत १५ गतेदेखि मेलम्चीको पानी वितरण शुरु भएपछि चुहावट व्यवस्थापनका लागि कार्ययोजनाको मस्यौदा तयार भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापा नेतृत्वमा बनेको कार्यदलले पानीको चुहावट र त्यसले सडकमा पारेका समस्या समाधान गर्न संक्षिप्त कार्ययोजनाको मस्यौदा तयार गरेको हो ।

गत मंगलबार थापको नेतृत्वमा विभिन्न सरोकारवालाहरु सम्मिलित कार्यदल बनाएर सडकमा पानी चुहिने समस्या समाधान गर्न पहल थालिएको थियो । सडक विभागका महानिर्देशक थापाका अनुसार अब काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सडक विभागका प्राविधिकहरु सम्मिलित संयुक्त कार्यसूमह बनाइनेछ । करिब २५ जनाको सो समूहले जहाँ जतिबेला समस्या आउँछ, तुरुन्तै गएर मर्मतको काम गर्ने उनको दावी छ ।

‘हामीसँग प्राविधिक जनशक्ति र मेसिन तथा औजारहरु छन्,’ उनी भन्छन्, ‘आवश्यक निर्माण समाग्रीको बन्दोबस्त गरेर खानेपानीका प्राविधिकले मर्मत गर्नासाथ सडकको खाल्डा मर्मत गरिहाल्छौं ।’ महिनामा करिब ३०० ठाउँमा पानी चुहिएर सडकमा खाल्डा पर्ने अनुमानमा आधारित भएर कार्ययोजनाको मस्यौदा बनाइएको उनले बताए ।

महाराजगञ्ज क्षेत्रमा ९० र चाबहिल क्षेत्रमा ३० भन्दा बढी स्थानमा सडक भत्काएर मर्मत गर्न अनुमति मागिएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार अहिले अढाइ सय स्थानमा पानी चुहिएका छन्

सडक  डिभिजन काठमाडौंsf प्रमुख कुवेर नेपाली पानी चुहिने र सडकमा खाल्डा पुर्न महिनामा करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउँछन् । ‘पानी चुहिएको ठाउँमा पाइपलाइन मर्मतको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले गर्छ,’ उनले भने, ‘सो काम गर्दा बन्ने खाल्डाको पुनर्स्थापना सडक विभागले नै गर्छ ।’

यसका लागि आवश्यक बजेट उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले आश्वासन दिएका छन् । मन्त्रिपरिषदबाट निर्णय गराएर भएपनि पानीको चुहावट र सडक मर्मत गर्ने रकम जुटाउने आश्वासन मन्त्रीहरुले दिएका मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरु बताउँछन् ।

१२० भन्दा धेरै ठाउँमा सडक खन्ने अनुमति माग

अहिले पाइपलाइन मर्मतका लागि केयूकेएलका विभिन्न वितरण केन्द्रले सडक विभागसँग सडक खन्ने अनुमति मागेका छन् । महाराजगञ्ज क्षेत्रमा ९० र चाबहिल क्षेत्रमा मात्रै ३० भन्दा बढी स्थानमा सडक भत्काएर मर्मत गर्न अनुमति मागिएको छ । महानिर्देशक थापाका अनुसार अहिले अढाइ सय स्थानमा पानी चुहिएका छन् ।

यो पनि पढ्नुहोस मेलम्चीको पानी : पुरानो वितरण प्रणालीले थेग्नै सकस

सडकमा जताततै पाइप फुटेर पानी निस्किएपछि सडक विभागले चिन्ता व्यक्त गर्दै आएको छ । विगतमा मेलम्चीको पाइपलाइन बिछ्याउँदा बिग्रिएको सडक बल्ल–तल्ल ठीक पारेको भन्दै विभाग फेरि पुरानै दिन आउने चिन्तामा छ ।

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार मुख्य गरी पुराना भित्री शहरहरूमा यस्तो समस्या बढी छ । फाट्टफुट्ट रूपमा अन्य शहरी क्षेत्रभित्र ढल र पाइपलाइनबाट पानी बाहिर निस्किएको छ । लाजिम्पाट, बालाजु, सोह्रखुट्टे, पानीपोखरी, बानेश्वर चोक, रत्नपार्कलगायत क्षेत्रका सडकमा पनि यस्तो समस्या बढी छ ।

प्रवक्ता राईका अनुसार पहिल्यैदेखि ढलको समस्या भएका क्षेत्रका पाइपलाइनमा पनि समस्या देखिएको छ । ढलबाट निस्कने ग्यासले खानेपानीको पाइपलाई कमजोर बनाएका कारण चुहावटको समस्या देखिने गरेको उनको भनाइ छ ।

कतिपय क्षेत्रमा लामो समयदेखि पानी नआएकाले हाउस कनेक्सनमा समस्या देखिएको छ । मेलम्चीबाहेक अन्य विकासे निकायले पनि सडकमा विभिन्न काम गर्दा पाइपलाइन र ढल प्रणालीमा क्षति भएकाले ‘लिकेज’ को समस्या बढी देखिएको छ । अहिले केयूकेएलले अनामनगर क्षेत्रका १६ सय वटा धारामा बाहेक अन्य पुरानै प्रणालीबाट पानी छोडेको छ ।

अब मेलम्चीबाट आउने दैनिक करिब १७ करोड लिटर पानी वितरण सुरु गर्ने तयारी छ । केयूकेएलले काठमाडौंमा बिछ्याइएको करिब एक हजार किलोमिटरको नयाँ वितरणलाइनमार्फत पानी वितरण गर्न अब क्रमैसँग परीक्षण गर्ने योजना बनाएको छ ।

तर, नयाँ वितरणलाइनमार्फत पानी बाँड्न शुरु गरेपछि पनि ठाउँ–ठाउँमा थप लिकेजको समस्या देखिन सक्ने अनुमान छ । समस्या समाधान गर्दै एक वर्षसम्म लगाएर नयाँ लाइनबाट पानी वितरण गरिसक्ने योजना छ ।

यो पनि पढ्नुहोस मेलम्चीको पानी : चार दशक पुरानो कहानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment