Comments Add Comment
सम्झना :

ईश्वर बरालका कठोर आनीबानी

ईश्वर बरालको नाम लिनेबित्तिकै यौटा कठोर समालोचकको व्यक्तित्व आँखा अगाडि उदाउँछ । जसले सधैं भाषिक शुद्धताको प्रश्न उठाइरहे लेखन, भाषण, वक्तव्य, औपचारिक, अनौपचारिक; जहाँसुकै जहिलेसुकै र अधिकांश  सिर्जनात्मक लेखकको आँखामा सधैं बिझाइरहे । उनले त्यो रट छाडेनन्, आजीवन ।

उनलाई कुनै लेखक/साहित्यकार रिसाउलान् भन्ने कहिल्यै चिन्ता भएन । शुद्धै लेख्न नजान्ने के लेखक ? के साहित्यकार ? उनी यो सिद्धान्तबाट कहिल्यै टसको मस भएनन् ।

मैले साहित्यमा पाइला हालेको तीसको दशकमा ईश्वर बराल बेलायत बस्दथे । उनी नेपाल आउँदा गोरखापत्र दैनिकले नेपाली साहित्यको विषयमा उनीसँग संवाद गरेर रिपोर्ट प्रकाशित गरेको थियो । त्यो रिपोर्ट पढेर नै मैले उनी बेलायत प्रवासमा भएको पत्तो पाएको थिएँ । त्यसबेला उनले गरेको यौटा टिप्पणी आजपर्यन्त मैले भुलेको छैन । उनले तत्कालीन समयको नेपाली साहित्य कस्तो पाउनुभयो भन्ने प्रश्नको जवाफमा भनेका थिए– केशवराज पिंडालीको ‘एकादेशकी महारानी’ पढेपछि योभन्दा रद्दी अरू उपन्यास पढ्नुपर्ला भनेर अरू उपन्यासै पढिनँ ।

गजबको कुरा के थियो भने केशवराज पिंडाली त्यतिबेला मधुपर्क मासिक र गोरखापत्रको शनिवासरीय परिशिष्टाङ्कका एकछत्र सम्पादक थिए । यो टिप्पणी साहित्यिक वृत्तमा निकै चर्चाको विषय बन्यो ।

बेलायतबाट फर्केपछि बराल भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा प्राध्यापनका लागि गए अनि रिटायर्ड नहुन्जेल त्यहीं अध्यापनमा लागिरहे ।

जगदीशशमशेर राणाको ‘नरसिंह अवतार’ २०३७ सालमा प्रकाशित भएको थियो । त्यसको विमोचन अमेरिकी पुस्तकालय नयाँसडकमा सम्पन्न भएको थियो । सो कार्यक्रमका मुख्य व्यक्ति थिए डा. ईश्वर बराल । उनलाई यही कार्यक्रमका लागि दिल्लीबाट झिकाइएको भन्ने चर्चा थियो । उनको त्यस समारोहको बुलन्द भाषण सुनेपछि धेरैले सो वर्षको मदन पुरस्कार नरसिंह अवतारले नै पाउनेछ भन्ने लख काटे । नभन्दै पछि त्यो लख यथार्थ भएको थियो ।

ईश्वर बराल नेपाली वाङ्मयमा चिनिने विशिष्ट समालोचक हुन् । संस्कृत शब्दको बढी प्रयोग र ‘औ’ शब्दको पौल प्रयोगले उनका समालोचनालाई ओठ लेप्य्राउनेहरू देखिए पनि उनको त्यो समालोचकीय व्यक्तित्वलाई खासै फरक परेन

विद्वान् सम्पादक

ईश्वर बराल नेपाली साहित्यमा यौटा समर्थ र विद्वान सम्पादकका रूपमा चिनिन्छन् । उनले नेपाली साहित्यमा महत्वपूर्ण साहित्यिक विधाका गहकिला कृतिहरू सम्पादन गरे । ती कृतिहरू महत्वपूर्ण र कीर्तिमानी त थिए नै, नेपाली शिक्षा प्रणालीमा पाठ्यक्रममा समेत रहनाले लोकप्रिय थिए । परिचित र प्रतिष्ठित भएका थिए ।

उनले सम्पादन गरेका कृतिहरूमा ‘हिमालचुली’ कविता सङ्कलन २०१२, ‘झ्यालबाट’ कथा सङ्कलन २००६ र ‘सयपत्री’ निबन्ध सङ्कलन २०१३ हुन् । यी तीन विधाका सम्पादित कृतिले नेपाली आधुनिक साहित्यको पूर्वाद्र्धका साहित्यकारका प्रतिनिधि रचनालाई प्रस्तुत गर्दछन् । यी कृतिहरूमा समाविष्ट विद्वत्तापूर्ण गहन भूमिका र साहित्यकारहरूको मिहिन परिचयले ईश्वर बरालको विद्वत्ताको परिचय त दिन्छ नै तत्कालीन कालखण्डको नेपाली साहित्यको विहङ्गम तस्वीरसमेत प्रस्तुत गर्दछ ।

मोहन कोइराला र पारिजातका कविता सम्पादन गर्ने काम पनि बरालले नै गरे । यी दुवै कृति तत्तत् साहित्यकारका अमूल्य सृजना हुन् ।

मोहन कोइराला लामो समयदेखि फूटकर कविता लेखनमा थिए । उनी नबुझिने कविताका सर्जकका रूपमा चिनिन्थे । ‘फर्सीको जरा’ त नेपाली कवितामा नबुझिने कविताको प्रतीक नै बनेको थियो । मोहन कोइरालाको सिंगो स्वतन्त्र कवितासंग्रह भने प्रकाशित भएको थिएन । मोहन कोइरालाको कवि व्यक्तित्वलाई नेपाली साहित्यमा कुन ठाउँमा राख्ने विषयमा नेपाली विद्वानहरू अलमल परेको बेला ईश्वर बरालले विस्तृत भूमिकासहित ‘मोहन कोइरालाका कविता’ सम्पादन गरेर प्रकाशित भएपछि उनी नेपाली साहित्यमा शक्तिशाली आधुनिक कविका रूपमा स्थापित भए ।

मोहन कोइरालालाई त्यसरी स्थापित गराउने श्रेय ईश्वर बराललाई नै जान्छ । त्यसमा विद्वानहरूको मत खासै बाझिएको पनि पाइन्न । चर्चित दुई कविहरू मोहन कोइराला र ईश्वर बल्लभमध्ये वामपन्थी धारका व्यक्तिहरू ईश्वर बल्लभलाई श्रेष्ठ मान्दछन् भने, प्रजातन्त्रवादीहरू मोहन कोइरालालाई । तर समग्र रूपमा कवि मोहन कोइराला नै आफ्नो जीवनकालमा आधुनिक कविका रूपमा शिखरमा विराजमान भए । त्यसको जगमा ईश्वर बरालको सम्पादनमा प्रकाशित मोहन कोइरालाका कविता नै कारक रह्यो ।

त्यस्तै उनले सम्पादन गरेको ‘पारिजातका कविता’ पनि पारिजातका कृतिहरूमा यौटा कृति स्तम्भ हो, यद्यपि उनी नेपाली साहित्यमा आख्यानका हस्ती मानिन्छिन्, शिरीषको फूल उपन्यासले आजपर्यन्त पाठक तान्न सफल छ, तथापि पारिजातका कविता उनको महत्वपूर्ण कृति हो । यसमा उनले आफूलाई  प्रगतिवादी विचारमा ढाल्नु अघिका स्वच्छन्द स्वतन्त्र कविताहरू रहेका छन् र तिनलाई ईश्वर बरालले विशद व्याख्यासहितको सम्पादकीय भूमिका समावेश गरी प्रकाशित गराए ।

समालोचक ईश्वर बराल

ईश्वर बराल नेपाली वाङ्मयमा चिनिने विशिष्ट समालोचक हुन् । संस्कृत शब्दको बढी प्रयोग र ‘औ’ शब्दको पौल प्रयोगले उनका समालोचनालाई ओठ लेप्य्राउनेहरू देखिए पनि उनको त्यो समालोचकीय व्यक्तित्वलाई खासै फरक परेन । उनको समालोचकीय यात्रा निरन्तर चलिरह्यो । उनको समालोचना चासोको विषय रह्यो ।

उनका ‘आख्यानको उद्भव’ (विसं २०३९) र ‘सुवानन्ददास देखि शम्भुप्रसादसम्म’ (विसं २०५५) निकै महत्वपूर्ण समालोचनात्मक कृतिहरू हुन् । उनका समालोचनामा गहन अध्ययन, अनुसन्धान र विस्तृत व्याख्या र आफ्नो दृष्टिकोणसहितको हुनाले आधिकारिक र विश्वसनीय मानिन्छन् ।

उनका ‘बालकृष्ण समः व्यक्तित्व र कृतित्व’ (विसं २०५५), ‘राजीवलोचन जोशी’ (विसं २०५३)  जस्ता खास साहित्यिक व्यक्तिमाथि केन्द्रित समालोचनात्मक कृतिहरू पनि उत्तिकै महत्वपूर्ण छन् ।

उनको दृष्टि समकालीन नेपाली साहित्य र साहित्यकारमा कहिल्यै परेन । पुराना पुस्तामा मात्र अल्झिनु र नयाँ छिमलका साहित्यकारमा उनको दृष्टि नपुग्नु, व्याकरण ठीक नभएको र शुद्ध लेख्न नसक्ने वर्गमा राखेर सधैं उपेक्षा गर्नु उनको कमजोरी थियो । अपवादका रूपमा एकाध साहित्यकारका कृतिमा मात्र उनले कलम चलाएका थिए ।

उपकुलपति ईश्वर बराल

२०४६ सालको जनआन्दोलन सफल भएपछि नेपालको सबै क्षेत्रमा त्यसको प्रभाव प¥यो । कविवर माधव घिमिरेको कुलपतित्वमा रहेको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पदाधिकारीमाथि राजीनामाका लागि नैतिक दबाब बढ्यो । कतिसम्म भने नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सभाहलमै साहित्यकारहरूले दबाब दिने कार्यक्रमको आयोजना गरे ।

गोविन्द गिरी प्रेरणा

त्यसपछि तत्कालीन प्राज्ञ परिषदका नयराज पन्तबाहेक सबैले सामूहिक राजीनामा गरे । केही समयपछि कुलपति पदमा कोही नियुक्त नगरिकन उपकुलपतिको नेतृत्वमा नयाँ प्राज्ञ परिषदको गठन गरे तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले । उपकुलपतिमा नियुक्ति पाउने भए डा. ईश्वर बरालले ।

उनको नियुक्तिपछि नेपाली साहित्यिक जगत तरङ्गित र विभाजित भयो । शुरूमा त राजनीतिक हिसाबले भन्दा पनि जीवनभर विदेश बसेर नेपाल फर्कने वित्तिकै एकेडेमी सुम्पेको भनेर आलोचना भयो । त्यसरी आलोचना छेड्नेहरूमा पारिजात र वानीरा गिरी अगुवा थिए । पारिजातको पछाडि प्रगतिवादी लेखक संघ र प्रगतिवादी लेखकको ठूलो समूह थियो । तर वानीरा गिरी एक्लो थिइन्, प्रजातन्त्रवादी भए पनि ।

उनको विरोध जायज माने पनि प्रजातन्त्रवादीहरूले उनको साथ दिएनन् । किनभने प्रजातन्त्रवादी प्रधानमन्त्रीले प्रजातन्त्र पक्षधरलाई उपकुलपति बनाएका थिए । पारिजातको नेतृत्वमा ‘प्राज्ञिक संघर्ष समिति’ नै गठन भयो । सिंहदरबारको गेटमा धर्ना भयो । प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइयो । अन्ततः पछि आन्दोलन तुहियो, ईश्वर बरालले आफ्नो कार्यकाल पूरा गरे ।

उनको कार्यकालमा प्रज्ञा प्रतिष्ठानको उपकुलपति कार्यालयको गेटमा यौटा नयाँ सानो साइनबोर्ड देखियो । त्यसमा लेखिएको थियो– ‘पूर्व अनुमतिबेगर प्रवेश निषेध’ ।

त्यो नेपाली परिवेशमा सर्वथा नौलो कुरा थियो ।

खासमा विदेशमा र सभ्य मुलुकमा ‘एप्वाइन्टमेन्ट’ अर्थात् पूर्व अनुमतिबेगर भेटघाट गरिंदैन । बराल बेलायत र भारतमा त्यस्तो संस्कृतिमा जीवनको लामो कालखण्ड बसेर आएको हुनाले घुम्दै आएर ढोका ढक्ढकाउँदै भेट्न आउने आगन्तुकदेखि दिक्क थिए । त्यसपछि त्यो सूचना टाँग्न लगाएका थिए । तर यो कुरालाई अधिकांशले रुचाएनन् । उनीसँग यही कारणले पनि कतिपय साहित्यकार रुष्ट भए ।

उनको अर्को यौटा बानी थियो । कतै भेट भएको ठाउँमा कसैले पुस्तक वा पत्रिका उपहार दिए भने उनी स्वीकार गर्दैनथे । उनको भनाइ हुन्थ्यो, ‘मलाई अचानक भेट भएर दिनुभएको कि बढ्ता भएर दिनुभएको ? मलाई दिने हो भने मैकहाँ ल्याएर दिनुपर्छ, तब तपाईंले मलाई दिएको ठहर्छ ।’

यो फेरि अर्को अलोकप्रिय कुरा थियो नेपालका लागि ।

सिर्जनशील साहित्य समाजको स्थापना भएर त्यसले स्थापनाकालमै तीव्र गति लिएको थियो । कवि गोष्ठी गर्दा कविता वाचन सकिएलगत्तै वाचित कविताहरूको समीक्षा गर्ने नयाँ खालको प्रचलन शुरू गरिएको थियो । एकपल्ट भारतीय पुस्तकालयको सभाकक्षमा कविता वाचन कार्यक्रमको आयोजना गरिएको थियो । त्यस कार्यक्रममा कृष्णचन्द्र सिंह प्रधान र ईश्वर बराल कविताको विषयमा बोल्ने अतिथि वक्ता थिए । सो समारोहमा पनि ईश्वर बरालले भाषिक शुद्धतालाई नै मुख्य विषय बनाएर बोलेका थिए ।

तर कृष्णचन्द्र सिंह प्रधानले कविहरू सर्जक हुन्, उनको सिर्जना र भाव एवम् विचार हेर्ने हो, भाषिक शुद्धता हेर्ने होइन भनेका थिए । साहित्यिक समारोहहरूमा यस्तो जुहारी चलिरहन्थ्यो । तर ईश्वर बरालले कसैले मन पराए पनि नपराए पनि आफ्नो त्यो ‘लिक’ कहिल्यै छोडेनन् ।

२०४० को दशकमा पूर्वाञ्चलमा भवानी घिमिरेको नेतृत्वमा महानन्द पुरस्कार वितरण समारोह निकै नै उत्साह र उमङ्गका साथ सम्पन्न हुने गर्थ्यो। त्यसले साहित्यिक जगतमा निकै चर्चा पाएको थियो । खासमा महानन्द पुरस्कारको रकम त्यति आकर्षक थिएन । तर आयोजनाचाहिं निकै आकर्षक थियो । नेपालको काठमाडौंदेखि नेपालबाहिर दार्जीलिङ, सिलिगढी, खर्साङलगायतका नेपाली साहित्यकारहरू समेत सहभागी हुने हुनाले भव्यता बढ्दथ्यो ।

२०४७ सालको महानन्द सापकोटा पुरस्कार वितरण समारोह झापा जिल्लाको दमकमा सम्पन्न भएको थियो । त्यो समारोहमा म पनि सहभागी थिएँ । तीनदिने सो कार्यक्रममा कमल दीक्षित, ईश्वर बराललगायत अतिथिको रूपमा गएका थिए । दार्जीलिङबाट रामलाल अधिकारीलगायत आएका थिए । सो कार्यक्रममा ईश्वर बरालले भाषाकै बारेमा उही आफ्नो कुरा दोहो¥याएका थिए जुन मलगायत काठमाडौंबाट आउनेहरू धेरैका लागि नौलो थिएन ।

बरु ईश्वर बरालले त्यहाँ यौटा रमाइलो गरे । उनले भाषण गर्ने क्रममा रामलाल अधिकारीलाई आफ्नो शिष्य भएको बताए । उनले आफ्नो शिष्यले भाषा साहित्यको क्षेत्रमा गरेको प्रगति र योगदानको तारिफ गरे । त्यसपछि उनले रामलाल अधिकारीलाई मञ्चमा बोलाएर आफूले लगाइरहेको टोपी खोलेर लगाइदिए । यो उनले ठूलो सम्मान गरेका थिए ।

मैले यो सबैलाई त्यस कार्यक्रमको भ्रमण संस्मरण ‘दमकको ह्याङओभर बोकेर’ शीर्षकमा लेखेको थिएँ । त्यसको केही दिनपछि म एकेडेमी पुगेको थिएँ, बराललाई भेट्न । उनले सो भेटमा मेरो लेखको भाषिक पक्षलाई उप्काए ।

त्यो पढेर असन्तुष्ट रहेछन् । उनले त्यो असन्तुष्टि पनि देखाए । सबैले त्यस्तै सोच्छन्, तपाईं अपवाद होइन भनेर पछि उनी मत्थर भए । सम्भवतः उनले मेरो तमाम लेखनमा पढेको त्यही लेख थियो, त्यसको मैले मौखिक भए पनि प्रतिक्रिया पाएँ ।

सन् १९९२ मा लण्डन जानको लागि बेलायती दूतावासमा म लेखक हो भन्ने चिठी आवश्यक परेर अनुरोध गरेको थिएँ । त्यसका लागि उनले प्रशिक्षणमा भएको लेखक भन्ने व्यहोराको पत्र बनाइदिएर गुन गरेका थिए ।

एकदिन एक्कासी ईश्वर बराल अस्वस्थ भएको खबर आयो । उनको बोली बसेको सुनियो । उनी कसैलाई भेट्ने बित्तिकै आँसु झार्न थाल्छन् रे भन्ने पनि सुनें मैले । त्यसैले परिवारका कसैले पनि आगन्तुकलाई घर आएर भेट्ने अनुमति दिंदैनन् भन्ने पनि सुनें । म उनको घर कहिल्यै नगएको र घर आउजाउ गर्ने तहको सम्बन्ध नभएकोले म जाने कुरै थिएन । तर मेरा परिचित अग्रज साहित्यकारहरू जो उनका नजिक थिए, उनीहरूबाट सो जानकारी पाएको थिएँ ।

यसैबीच उनलाई सीताराम पुरस्कार दिइने घोषणा भयो । सो पुरस्कार वितरण समारोहमा म पनि निम्तालु थिएँ । रूसी सांस्कृतिक केन्द्र कमलपोखरीमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा पुरस्कार ग्रहणका लागि ईश्वर बराल आएका थिए । उनी सदा झैं राष्ट्रिय पोशाक दौरा सुरुवालमा थिए । उनको रुप र स्वरुपमा कुनै परिवर्तन आएको देखिनँ मैले । जसले उनी अस्वस्थ भएको पत्तो पाएका थिए तिनलाई वाहेक अरूलाई उनी अस्वस्थ भएको कुनै छनक मिलेन । उनी बोल्न नसक्ने भएकोले त्यहाँ उनको बोल्ने कार्यक्रम हुने कुरा थिएन । पुरस्कार ग्रहण गरेपछि केहीबेरमा उनी मञ्चबाट बाहिरिएका थिए । शायद कार्यक्रम समाप्तिपछि साहित्यकारहरूसँग भेट नहोस् भनेर हो कि !

२०५४ साल कात्तिक २७ गते उनको देहावसान भयो । ईश्वर बरालको नाम सम्पादक र समालोचकको रूपमा सदैव उत्तिकै अग्लो छ, नेपाली वाङ्मयको परिदृश्यमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment