
४ वैशाख, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ ६ बजेतिर विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
बस भीरमा खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले दुई घण्टा लगाएर घाइतेको उद्धार गरेका थिए ।
घाइतेमध्ये २३ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डा, तीन जनाको चितवनको भरतपुर र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । बसमा सवार सबै ३१ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4