Comments Add Comment

स्मार्टफोनमा किन लत बस्छ ?

तपाईं स्मार्टफोनको प्रयोग गरिरहँदा अनुभव गर्नु भएकै होला कि तपाईंको नजर स्मार्टफोनको स्क्रिनबाट हट्न मान्दैन । अर्थात् स्मार्टफोनको स्क्रिनमा हेरिरहने अर्थात् मोबाइल फोन चलाइरहने लत धेरैलाई लागिसकेको छ ।

स्मार्टफोन क्रान्ति

स्मार्टफोनप्रतिको यो आशक्ति करिब डेढ दशकदेखि जारी छ । एप्पलले आइफोन बजारमा ल्याएसँगै एक प्रकारले मोबाइल फोनको बजारमा स्मार्टफोन क्रान्ति भयो ।

त्यसयता स्मार्टफोन एउटा यस्तो माध्यम बनिरहेको छ जसले मानिसहरुलाई एक आपसमा जोड्ने, दुनियासँग सम्बन्ध कायम राख्नेदेखि सिर्जनशीलतालाई जिवन्त राख्न समेत सहयोग गरिरहेको छ ।

सबैजसो मानिसको हात तथा गोजीमा हरबखत स्मार्टफोन रहेकै हुन्छ । र, त्यसैले यो पनि महसुस गरिरहेका हुन्छन् कि मैले आवश्यकता भन्दा धेरै स्मार्टफोनको प्रयोग गरिरहेको छु ।
क्यालिफोर्निया स्टेट युनिभर्सिटीका मनोविज्ञानका प्राध्यापक लेरी रोजन एक घटनाको उदाहरण दिन्छन् ।

उनी भन्छन्, ‘एकदिन मेरो कक्षामा एकजना आमन्त्रित शिक्षक आए र उनले पढाएको सुन्नका लागि म विद्यार्थीहरुको बीचमा बसेँ । त्यहाँ मेरो छेउमा एकजना छात्र बसेका थिए । उनले पूरै कक्षाभर आफ्नो स्मार्टफोन चलाइरहे । उनले कुनैबेला टेक्स्ट मेसेजको जवाफ दिइरहेका हुन्थे त कहिले फेसबुक चलाइरहेका हुन्थे ।’

दिनमा कति पटक स्मार्टफोनको प्रयोग ?

लेरी रोजनले द डिस्ट्रेक्ट माइन्ड : एन्सिएन्ट ब्रेन्स इन ए हाइटेक वल्र्ड नामक किताब लेखेका छन् । उनको अनुसन्धानको केन्द्रीय विषय नै प्रविधिले मानव मस्तिष्कमा गर्ने असर रहेको छ ।
कुनै व्यक्तिले एक दिनमा कतिपटक स्मार्टफोनको स्क्रिनमा हेर्दछ होला ? रोजले आफ्ना २ सय भन्दा धेरै विद्यार्थीहरुमा गरेको अध्ययनबाट यसको जवाफ दिएका छन् ।

उनी भन्छन्, ‘विद्यार्थीहरु कतिपटक आफ्नो फोन अनलक गर्दछन् र कति मिनेटसम्म फोन अनलक रहन्छ भन्ने कुरा हामीले पत्ता लगारहेका थियौँ । हामीले यस्तो अचम्म लाग्दो तथ्य फेला पार्यौँ कि एकजना युवाले एक दिनमा औषतमा साठी पटक आफ्नो फोन अनलक गर्दो रहेछ र करिब २२० मिनेटसम्म फोन अनलक रहँदो रहेछ ।’

दिनमा साठी पटक फोन प्रयोग गर्दा साढे ३ घण्टासम्म स्क्रिनमा हेरिँदो रहेछ । कतिपयले त एक दिनमा आफ्नो फोन १ सय पटकसम्म अनलक गर्ने गरेको पनि पाइएको छ ।

स्मार्टफोनले पार्दछ सम्बन्धमा असर

विज्ञहरुका अनुसार फोनमा झुन्डिइरहने लतले आपसी सम्बन्धमा पनि असर पार्न थालेको छ । लेरी रोज भन्छन्, ‘अध्ययनका क्रममा पाइएको छ कि कतिपय पति तथा पत्नीहरु आफ्नो पार्टनरले आफुलाई भन्दा स्मार्टफोनमा धेरै ध्यान दिने गरेको गुनासो गर्दछन् । आफ्नो पार्टनरको ध्यान आफूतर्फ तान्न उनीहरुलाई निकै कठीन हुने गरेको छ ।’

कतिपय मानिस त यस्ता पनि हुन्छन् जो गाडी चलाइरहेका बखत समेत फोन चलाउँछन् जबकि त्यसो गर्नु निकै जोखिमपूर्ण हुन्छ । कतिपय मानिस सुत्ने बेलामा समेत आफूसँग फोन राख्दछन् र ओछ्यानमा समेत लगातार फोन चलाउँदछन् । यसरी फोन चलाउने बानीले निद्रामा असर पार्दछ ।

आखिर फोनमा झुन्डिरहने बेचैनी मानिसहरुमा किन उत्पन्न हुन्छ ?

रोजनका अनुसार सम्वादका सबैखाले माध्यमहरुसँग मानिसहरु जोडिन चाहन्छन् । त्यस्ता माध्यमहरुमा टेक्स्ट मेसेज र इमेल पनि हुन्छन् । तर सोसल मिडिया सबैभन्दा लोकप्रिय छ । मानिसहरु एकलकाटे बनेर तथा दिक्क मानेर बस्न चाहँदैनन् ।

शोधकर्ता रोजनका अनुसार लगातार फोनमा झुन्डिरहने मानिसहरुलाई जब उनीहरुको फोन खोसेर अर्को काममा लगाइन्छ तब फोनमा आउने हरेक मेसेजको आवाजले उनीहरुमा बेचैनी तथा मुटुको धड्कनको गति पनि बढाइदिन्छ । स्मार्टफोनप्रति मानिसहरुको आशक्ति अर्थात् फोन विना बस्न नसक्ने मानिसहरुको संख्या निकै धेरै छ । उनीहरु जब फोनबाट छुट्टिन्छन् तब उनीहरुमा बेचैनी बढ्दछ ।

फोनको लत

न्युयोर्क विश्वविद्यालयकी प्राध्यापक नताशा शुल पनि आफूले आवश्यकता भन्दा धेरै फोनको प्रयोग गर्ने गरेको स्विकार गर्छिन् । उनी भन्छिन्, ‘कुनै महत्वपूर्ण बोर्ड बैठक वा आफ्नो विभागको बैठकका बेला मलाई यो महसुस हुन्छ कि मेरा सहकर्मीहरुको ध्यान म तिर हुन्छ तर म चाहीँ स्मार्टफोनको स्क्रिनमा औँला चलाउन तथा इमेल हेर्नबाट आफुलाई रोक्न सक्दिन ।’

आखिर कुनै चिजमा के त्यस्तो गुण हुन्छ जसमा मानिसहरुको लत बस्दछ ? नताशा यस विषयकी विज्ञ पनि हुन् । उनका अनुसार कुनैपनि व्यक्तिलाई आफूतर्फ आकर्षित गर्ने चिजहरु जस्तै सेक्स, आफूलाई मनपर्ने मानिस तथा मिठो खानेकुरा रहने गरेकोमा अहिले कम्प्युटर प्रविधि पनि थपिएको छ । यसले पनि हामीलाई आफूतर्फ आकर्षित गर्दछ र त्यसको लत लाग्दछ ।

लत पछाडिको मनोविज्ञान

लत आखिर किन लाग्दछ ? यस विषयमा फादर अफ बिहेवियरिज्मको नामले चिनिने अमेरिकी मनोवैज्ञानिक बिएफ स्किनरले गरेको प्रयोगबाट धेरै कुरा थाहा हुन्छ । पुरस्कार तथा सजायँले कुनै व्यक्तिको व्यवहारमा कस्तो असर पर्दछ भन्ने बारेमा पनि उनले विभिन्न प्रयोगहरु गरे । एक प्रयोगमा उनले परेवालाई बाकससमा बन्द गरे जसमा एउटा स्विच दबाउँदा पुरस्कारको रुपमा खानेकुरा बाहिर आउँदथ्यो । नताशाका अनुसार यो प्रयोगमा उत्सुकता जगाउने वाला कुनै कुरा थिएन । जब परेवालाई भोक लाग्दछ तब मात्र खानेकुरा प्राप्त गर्नका लागि उनले स्विच दबाउँदछ ।

स्किनरले सन् १९५० र १९६० मा गरेका अध्ययन अनुसार पुरस्कार पाउने लत तब बस्दछ जब कहिले र कति पुरस्कार पाइन्छ भन्ने कुराको पूर्व जानकारी हुँदैन ।

नताशा शुलले एडिक्सन बाइ डिजाइन नामक एक किताब पनि लेखेकी छिन् । उनका अनुसार मानिस होस् वा जनावर यदि पुरस्कार के पाइने हो ? भन्ने थाहा हुँदैन तब ऊ बढि आकर्षित हुन्छ । उनका अनुसार पुरस्कार दिने तरिकाले मानिसहरुको व्यवहारलाई प्रभावित गर्न सकिन्छ ।
क्यासिनो तथा जुवाघरमा स्लत मेसिन बनाउनेहरुले पनि त्यहीँ सिद्धान्त अंगीकार गर्दछन् । क्यासिनोमा धेरै मुनाफा स्लट मेसिनबाटै हुन्छ । जुवाका अन्य खेलका तुलनामा यसको लत तीन देखि चार गुणासम्म तीव्र गतिमा लाग्दछ ।

मेसिनको माया

नताशाका अनुसार फाइदा कमाउनकै लागि स्लट मेसिनको डिजाइन गरिएको हुन्छ । तर के परेवा र स्लट मेसिनको स्र्माफोनसँग पनि कुनै समानता छ त ?

नतासा भन्छिन्, ‘खाना बाहिर आउने आशामा ठुँगिरहने परेवा होस् वा कुनै क्यासिनोमा पटक पटक स्लत मेसिनको बटन थिच्ने जुवाडे होस् । अनि दैनिक रेलमा यात्रा गरिरहँदा फेसबुक टाइमलाइन वा टेक्स्ट मेसेज चेक गर्नका लागि भन्दै पटक पटक स्मार्टफोन हेरिरहने मानिस नै किन नहोस् । यी सबैमा एउटा कुरा समान छ । उनीहरु जान्न चाहन्छन् कि अगाडि के आउनेवाला छ ?’

प्रविधिको जालो

चर्चित लेखक तथा उद्यमी नीर एयालसँग प्रविधि स्टार्टअप अक्पनी चलाएको अनुभव पनि छ । उनको उक्त कम्पनी गेमिंग तथा विज्ञापनसँग सम्बन्धित कम्पनी थियो । उनले सन् २००७ मा उक्त कम्पनी सुरु गरेका थिए ।

उनका अनुसार ती दुबै कम्पनी प्रयोगकर्ताहरुको बदलिँदो आनीबानीमा निर्भर छन् । एयालका अनुसार त्यहाँ प्रविधिको निकै धेरै प्रयोग भैरहेको थियो तर उनीहरुमध्ये कसैको पनि मनोवैज्ञानिक सिद्धान्तसँग सम्बन्ध थिएन ।

उनले स्किनर जस्ता मानवीय सिद्धान्तलाई प्रविधिको दुनियामा लागू गरे र त्यसको निष्कर्षका आधारमा हुक्ड : हाउ टू बिल्ड ह्याबिट फार्मिंग प्रडक्ट भन्ने पुस्तक लेखे ।

उनका अनुसार लत बसाल्ने प्रविधिको पिता भनेर इमेललाई लिन सकिन्छ । इमेलमा कहिले राम्रो खबर आउँदछ त कहिले नराम्रो । यो एक किसिमको पुरस्कार हो र मानिसहरुले इमेलमा कस्तो खबर आउँदछ भन्ने जान्नका लागि सदैव उत्सुक हुन्छन् ।

उनी भन्छन्, ‘फोनमा आउने नोटिफिकेसनले पनि हामीलाई उसैगरी उक्साउँदछन् । फेसबुक, ट्वीटर तथा स्नापच्याटजस्ता एपहरु हामी उत्सुकताका साथ खोल्दछौँ । हामीलाई थाहा हुँदैन कि हामीलाई कुन रिवार्ड मिल्नेवाला छ ।’

उनी भन्छन्, ‘हामी कुनै काकताली परेर फोन हेर्दैनौँ । हामीले जानीबुझी यसो गरिरहेका हुन्छौँ र हामी जुन प्रविधिलाई गोजीमा लिएर घुरिहेका हुन्छौँ त्यो हामीलाई पुरस्कृत गर्ने उम्दा उपकरण हो ।’

कम्पनीहरुले जाल बुन्छन्

कम्पनीहरुले रिवार्ड तथा फिचर्सका विषयमा फरक फरक प्रयोग गर्ने गर्दछन् । एपलाई लगातार प्रयोग गर्ने विषयमा फोनले विभिन्न तथ्यहरु उपलब्ध गराउँदछ । यसले मानिसहरुलाई ती एप चलाउने लत बस्दछ । एयाल भन्छन्, ‘मैले दिक्कपना हटाउनका लागि इमेल जस्ता प्रविधिको प्रयोग सुरु गरेँ । जब हामी एक्लोपन महसुस गर्दछौँ तब फेसबुक चेक गर्दछौँ । जब कुनै जानकारीलाई लिएर हामी पक्का हुँदैनौँ तब गुगल हेर्दछौँ । जब हामी दिक्क मान्छौँ तब मन बहलाउनका लागि युट्युब हेर्दछौँ । हामी आफ्नो आवश्यकता अनुसारका उत्पादनहरुको प्रयोग गर्दछौँ ।’

उनका अनुसार हामीलाई आफुमा झुण्डाइराख्नका लागि कम्पनीहरुले मनोवैज्ञानिक सिद्धान्त तथा प्रविधिको प्रयोग गर्दछन् । र, यहीँ कारणले हामी फोनबाट टाढा हुन सक्दैनौँ ।

-बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment