Comments Add Comment

वीरगञ्जमा खतराको घण्टी बजिसक्यो, जिम्मेवारी बुझौं

पछिल्ला दिनमा प्रायजसो शनिबार पीसीआर परीक्षण गर्ने गरिएको थिएन । आवश्यक स्वाब नमुना नपुगेर एक/दुई दिनको फरकमा पीसीआर हुँदै आएको थियो ।

तर हामीले होलीअघि नै सचेत हुन आग्रह गरेका हौं । यो स्थितिको पूर्वानुमान भएकै हो । २०७७ चैतको अन्तिम साता दुई अंकमा संक्रमित भेटिन थालिसकेका थिए ।

जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा स्थितिलाई लिएर महत्वपूर्ण निर्णयहरु पनि भएका थिए । तर कार्यान्वयनको पाटोमा कमजोरी देखिएको छ ।

पछिल्लो पटक जिल्ला प्रशासन कार्यालयमा २०७७ चैत २९ गते सर्वपक्षीय छलफल भयो । मैले त्यहाँ भनेको थिएँ, ‘कोरोनाको दोस्रो नयाँ लहर आइसकेको छ, आवश्यक तयारी गरौं, हप्ता दश दिनमा स्थिति गम्भीर हुन्छ ।’ दिनहुँ क्लिनिकल अभ्यासमा रहेको र विगतको अनुभवले नै मैले अनुमान लगाएको हुँ ।

मैले त्यहाँ भनेको थिएँ – कोरोनाको दोस्रो नयाँ लहर आइसकेको छ, आवश्यक तयारी गरौं, हप्ता दश दिनमा स्थिति गम्भिर हुन्छ ।दुःखको कुरा, सरोकारवाला निकायले आवश्यक तयारी र पहल नै गरेनन् ।

म मात्रै हैन, क्लिनिकल अभ्यासमा रहने जुनसुकै डाक्टरले परिस्थितिको सहजै अनुमान लगाउन सक्छन् । पछिल्लो साता संक्रमितमा देखिएको समस्याको प्रकृति र पीसीआर परीक्षणको नतिजा पनि यसको आधार थियो ।

दुःखको कुरा, सरोकारवाला निकायले आवश्यक तयारी र पहल नै गरेनन् । संघीय सरकारको तयारी नारायणी अस्पतालमा एचडीयू र आईसीयू गरेर ३५ बेडको जोहो गरिएको छ । त्यसबाहेक नतिजामुखी पहल कुनैपनि सरकार वा सरकारी निकायबाट भएको देखिँदैन ।

नारायणी अस्पतालका बेड भरिने क्रममा छन् । २२ जना संक्रमित आइसोलेसन वार्डमा छन् । संक्रमणले जटिल अवस्थामा पुगेका बिरामीलाई अब कहाँ भर्ना गर्ने ? शनिबार मात्रै ४५ जना नयाँ संक्रमित भेटिएका छन् । अधिकांशमा लक्षण छ । नारायणी अस्पतालले मात्रै कसरी व्यवस्थापन गर्ने ? कसरी धान्ने ?

डीसीसीएमसीले निजी अस्पताललाई कोभिड शंकास्पद बिरामीहरूको उपचारका लागि अनिवार्य २० प्रतिशत बेड छुट्याउनु भनी निर्णय गरेको छ । निजी अस्पतालले कोभिडका लागि बेड छुट्याउनु के व्यवहारिक छ ? वीरगञ्जका निजी अस्पताल अधिकांश पुरानो संरचनामा तयार भएका २५ शय्याका अस्पताल छन् ।

नयाँ र आधुनिक संरचनाका अस्पतालमा समेत टेस्टिङ, आइसोलेसन, बेड चार्ज र जनशक्ति जस्ता चुनौती छन् । निजी अस्पतालमा शंकास्पद कोभिड र ननकोभिड सँगै राखेर उपचार गर्नु त्यति सहज छैन ।

स्थानीय र प्रदेश सरकारको उदासिनता

गत वर्ष कोभिड महामारीविरुद्ध वीरगञ्ज महानगरपालिका निकै सक्रिय देखिएको थियो । आफ्नै सक्रियतामा कोभिड अस्पताल सञ्चालन, पीसीआर मेसिन खरिद, क्वारेन्टिन व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, टेस्टिङमा समेत सहयोग गरेको हो ।

चिकित्सकका लागि क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापन समेत गरेको हो । स्थानीय सरकारको जिम्मेवारी भनेर तोकिएको भन्दा बढी काम वीरगञ्जले गरेकै हो । कमी कमजोरीका वावजुद जटिल अवस्थामा पुगेको ‘कोरोना महामारी’ नियन्त्रण गरेर उदाहरणीय काम गरेको हो ।

त्यसबखत निकै सक्रियता र चासोका साथ लागेका वीरगञ्ज महानगरका नगर प्रमुख विजयकुमार सरावगी पनि यसपाली ‘पर्ख र हेर’ कै नीति लिएर बसेका देखिन्छन् । केन्द्र, प्रदेश र स्थानीय स्तरमा राजनीति हावी भएर उनले निकै कष्टकर स्थितिको सामना गर्नुपरेको थियो । आफूलगायत सम्पूर्ण परिवार संक्रमित हुनुको साथै बुवा गुमाउनु परेको तितो अनुभव उनले बटुले ।

अन्य पालिकाहरूले पनि गर्नुपर्ने तयारी गरेका छैनन् । प्रदेश सरकारबाट कुनैपनि ठोस कुराहरू आएको छैन । यो अवस्था सर्वसाधरणका लागि घातक अवस्था हो भन्ने मूल्यांकन हामीले गरेका छौं ।

अबको समाधान

वीरगञ्जमा खतराको घण्टी बजिसकेको छ, सरोकारवाला कानमा तेल हालेर बसेका छन् । सर्वसाधरण नागरिक मास्क लगाउने, २ मिटरको दुरी कायम गर्ने, भिडभाड नगर्ने, साबुन पानीले नियमित हात धुने वा सेनिटाइजर प्रयोग गर्नेजस्ता स्वास्थ्य सुरक्षा सतर्कता उपाय अवलम्बनमा समेत गम्भीर देखिएका छैनन् । यो प्रतिकुल अवस्थामा के गर्ने त ?

  • सघन तबरले नेशनल मेडिकल कलेजले विगतमा सञ्चालन गरेको ‘बाबा होटल आईसोलेसन’ सञ्चालनका लागि यथासक्य छिटो प्रक्रिया अघि बढाउने । ०७७ चैत २९ गते जिल्ला स्थित सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरू कोभिड उपचारका लागि प्रयाप्त नभएमा नेसनल मेडिकलले सञ्चालन गरेको ‘कोभिड–१९ अस्थायी बाबा अस्पताललाई पुनः सञ्चालन गराउन आवश्यक व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग अनुरोध गर्ने भन्ने निर्णय भइसकेको छ । यसमा प्रक्रिया छिटो सम्पन्न गराउन आवश्यक पहल गर्ने ।
  • गोपाल मण्डली धर्मशाला, जुन पहिला सेनाको नेतृत्वमा आइसोलेसनको रुपमा सञ्चालनमा थियो, आवश्यक परिमार्जन गर्दै १५० शय्याको आइसोलेसन स्थापना गर्ने ।
  • आधुनिक संरचना र वैज्ञानिक व्यवस्थाको आधारमा निजी अस्पतालमा कोभिड बेडहरूको यकिन गरेर उपचारको व्यवस्था मिलाउने, निजी अस्पतालमा कोभिड टेष्टिङका लागि आवश्यक व्यवस्था मिलाउने । विगतमा निजी अस्पतालको तर्फबाट एउटा अस्पताल नै अस्थायी कोभिड अस्पतालको रुपमा स्थापना गर्ने विकल्पमा समेत छलफल भएको थियो ।
  • परीक्षण र कन्ट्याक्ट ट्रेसिङको दायरा खुम्चिएको छ, फराकिलो बनाउने ।
  • विगतमा जस्तै होटल आइसोलेसनको अवधारणा अघि सार्नुपर्छ । जति सकिन्छ आइसोलेसन बेडको संख्या बढाउनुपर्छ । आइसोलेसन व्यवस्थापनका लागि पुनः गैरसरकारी संघ संस्थाहरूको सहयोग लिनुपर्छ ।
  • सबैभन्दा महत्वपूर्ण कुरा अक्सिजन छिटो र छरितो ढंगले उपलब्ध हुनुपर्छ ।

सुझाव

  • कोरोना संक्रमण तपाईं हाम्रो माझ छ ।
  • सतर्क रहौं, अनावश्यक न घुमौं ।
  • एकअर्कामा २ मिटर दुरी कायम राखौं ।
  • हातको सफाइमा ध्यान दिऔं र मास्कको सही प्रयोग सँधै गरौं ।

सबै निकायले आ–आफ्नो दायित्व पूरा गरिदिए, यो लहरबाट पक्कै पनि उन्मुक्ति मिल्ने छ । आफ्नो जिम्मेवारी बोध गर्दै आवश्यक कदम चालौं । कोरोना संक्रमणबाट आफू बचौं र परिवार र समाजलाई पनि बचाऔं ।

(लेखक नारायणी अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत छन् । उनी गतवर्ष वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना विशेष अस्पताल गण्डकको संयोजक थिए ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment