Comments Add Comment

लुम्बिनी : जसपा संसदीय दलको बैठक बिना निर्णय टुंगियो

५ वैशाख, बुटवल। लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनकाल लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक बिना कुनै निर्णय टुंगिएको छ ।

पार्टी प्रदेश कार्यालय, बुटवलमा निर्धारित समयभन्दा झण्डै ३ घण्टा ढिलो बसेको बैठकमा जसपाका ६ मध्ये ४ जना प्रदेशसभा सदस्य मात्र उपस्थित भए । साबिकको राजपाबाट निर्वाचित कल्पना पाण्डे लम्साल र साबिकको संघीय समाजवादी फोरमबाट निर्वाचित पुरमति ढेंगा अनुपस्थित भए । सांसद पाण्डे काठमाडौंमा रहेको र ढेंगा विरामी भएकाले बैठकमा सहभागी नभएको संसदीय दलका नेता सहषराम यादवले बताए ।

बैठकमा संसदीय दलका नेता सहषराम यादव, विजयबहादुर यादव, सन्तोष पाण्डे र सुमन रायमाझी उपस्थित भएका थिए । ‘दुईजना माननीय उपस्थित नभएकाले आज केही निर्णय गरेनौं, भोलि उहाँहरु आउनुहुन्छ र निर्णय हुन्छ’ बैठकपछि यादवले भने ।

जसपाले निर्णय नगरेपछि नेपाली कांग्रेस, माओवादी केन्द्रसहित तीन दलको बैठक पनि भएन । माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले भने, ‘जसपाको संसदीय दलको बैठक ढिलो सम्म चलेकाले तीन दलको छलफल हुन सकेन, भोलि हामी बस्छौं ।’

माओवादी केन्द्र र कांग्रेसले जसपालाई पनि मिलाएर नयाँ सरकार बनाउने प्रयास थालेको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्दै २३ चैतमा हस्ताक्षर संकलन पनि भएको थियो । तर संसदको बहुमतका लागि निर्णायक बनेको जसपाका सांसदहरु दुईतिर विभाजित भएपछि अविश्वास प्रस्ताव दर्ता हुन सकेन ।

शीर्ष तहमा भएको सहमतिअनुसार लुम्बिनीमा आफूहरुको नेतृत्वमा नेपाली कांग्रेस तयार रहेको र जसपाको निर्णय पर्खिएर बसेको माओवादी केन्द्रका सचेतक घर्तीले बताए ।

८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका) पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ । सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment