
५ वैशाख, जनकपुरधाम । धनुषाको जनकपुरधामसहित विभिन्न ठाउँमा आइतबार चैती छठ पर्वअन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । चैती छठ पर्वको अवसरमा जनकपुरधामस्थित गंगासागरसहितका पोखरीमा पूजापाठ गरिएको छ ।
चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन अरवा अरवाइन गर्ने गरिन्छ भने दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुन्छ ।
जनकपुरधामसहित प्रदेश २ को सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा समेत चैती छठ पर्व मनाइँदै आएको छ ।
सुख, समृद्धि, निरोगिता, सन्तान प्राप्ति, चर्म रोग निको हुने विश्वासका साथ चैती पर्व मनाउनेको संख्यामा वृद्धि हुँदै गएको छ । यस पर्वमा बाँसको सामग्री ढकिया, दौरा, सुपामा ठकुवा, भुसुवा, फलफूल राखेर पूजा गरी अर्घ दिने गरिन्छ ।
राजविराजमा घरको छतमै पूजापाठ
सप्तरी सदरमुकाम राजविराजमा पनि चैती छठ पर्व मनाइएको छ । तर, कोरोना कहरका कारण कतिपय श्रद्धालुले भने आफ्नै घरको छतमा यो पर्व मनाइरहेका छन् ।
घरको छतमा भाँडोमा पानी जम्मा गरी अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । ‘कोरोना कहरका कारण जलाशयमा गएनौं,’ स्थानीय शिवनारायण साहले भने, ‘आफ्नै घरको छतमा यो पर्व मनाउन बाध्य भएका छौं ।’
प्रतिक्रिया 4