Comments Add Comment

दोस्रो पटक शपथ लिएर मन्त्रालय पुग्दा बादललाई स्वागत

५ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादललाई मन्त्रालयका वरिष्ठ अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका छन् । आइतबार पदभार ग्रहण गरेलगत्तै गृह मन्त्रालय पुगेका उनलाई फूलमाला र खादा लगाइदिएर स्वागत गरिएको हो ।

उनको स्वागतका लागि गृह सचिव महेश्वर न्यौपाने, सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी गृहको गेटमा बसेका थिए ।

त्यसो त बादल आइतबार बिहान पनि गृह मन्त्रालय पुगेका थिए । उनी त्यहीं रहँदा संघीय संसद सचिवालयले उनको राष्ट्रियसभा सदस्य पद गुमेको सूचना निकाल्यो । त्यसपछि राष्ट्रियसभा सांसद्को हैसियतमा नियुक्त भएकाले उनी गृहमन्त्रीबाट पनि पदमुक्त भए र उनी गृहमन्त्रालयबाट निस्किए ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई दिउँसै गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरे । र, साँझ ५ बजे बादलले पद तथा गोपनीयताको शपथ ग्रहण गरे । त्यसपछि मन्त्रालय पुग्दा उनलाई स्वागत गरिएको हो ।

विद्यालयको नाम फर्ने प्रस्तावमा हस्ताक्षर

बादलले गृहमन्त्रीमा दोस्रो पटक पदबहाली गरेलगत्तै नेपाल प्रहरीको एउटा इकाइको नाम फेर्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयलाई नेपाल प्रहरी भीड व्यवस्थापन तथा प्रहरी युक्ति तालिम महाविद्यालय, जर्घा नवलपरासी बनाउन मन्त्रिपरिषदमा प्रस्ताव पठाउने फाइलमा उनले हस्ताक्षर गरेका हुन् ।

त्यसपछि गृहमा उपस्थित अधिकारीहरुलाई सम्बोधन गर्दै उनले विगतमा प्राप्त सहयोग निरन्तर रहिरहने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment