Comments Add Comment

महामारीबीच हवाई-पर्यटनमा थपिँदै अर्बौं लगानी

तस्वीर : हार्नेस जिपलाइन प्रालिले पर्वतको कुश्मामा विभिन्न प्रोडक्टसहित बनाइरहेको आयोजनाको स्केच ।
  •  मे २०२१ भित्रै निजी क्षेत्रको बुद्ध एयरले थप एउटा एटीआर ७२ जहाज भित्र्याउँदैछ । यसअघि बुद्ध एयरले महामारीकै बीचमा एक एटीआर ७२ ल्याइसकेको छ । नयाँ जहाज ल्याएसँगै बुद्धले एकैपटक थप आधा दर्जन आन्तरिक गन्तव्यमा उडान गर्ने निर्णय गरेको छ ।
  • निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्स अन्तर्राष्ट्रिय उडानको तयारीमा छ । केही साता अगाडि बनारसमा परीक्षण उडान गरेको कम्पनीले काठमाडौंबाट छोटो दूरीका गन्तव्यमा उडानको योजना बनाएको छ । उसले नागरिक उड्डयन प्राधिकरणबाट अन्तर्राष्ट्रिय उडानको लाइसेन्स कुरिरहेको छ ।
  • आर्थिक समस्यामा रहेर अपेक्षित व्यापार गर्न नसकेको सिम्रिक एयरलाई नयाँ व्यवस्थापनले जिम्मा लिएको छ । विगतमा गुण एयरलाइन्स नै चलाएका लगानीकर्ताले थप लगानीसहित सिम्रिकलाई पुनः गुण एयरलाइन्समा परिणत गरेका छन् । यो कम्पनीले यती एयरलाइन्ससँग रहेका पाँच वटा जेट स्ट्रिम जहाज खरीद गरेको छ । वैशाखबाटै गुण एयरलाइन्सका नाममा उडानको तयारी गरेको छ ।
  • आतिथ्य उद्योगमा आक्रामक रूपमा लागेको व्यापारिक घराना एमएस ग्रुपले महामारीकै बीच आफ्नो तेस्रो परियोजना शुरू गर्दैछ । काठमाडौंको ठमेल र नक्सालमा दुई होटल बनाएको ग्रुपले कमलादीमा तेस्रो परियोजना शुरु गर्दैछ । यो होटलमा करीब दुई अर्ब रुपैयाँ लगानीको योजना रहेको ग्रुपका उपाध्यक्ष सुमितकुमार अग्रवालले बताए ।
  •  नेपाल एड्भेन्चर प्रालिले पोखरामा बन्जीसहित विभिन्न साहसिक प्रडक्टसहितको नयाँ परियोजना निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ । यो परियोजना पोखरा, १७ रातोपैरा भन्ने स्थानमा बनिरहेको छ । अघिल्लो साता बन्जीको सफल परीक्षण भएको छ । कम्पनीका अध्यक्ष सन्तोष भट्टराईका अनुसार सवा ८ करोड रुपैयाँ लगानीमा परियोजना निर्माणको काम जारी छ ।
  •  हार्नेस जिपलाइन प्रालिले पर्वतको कुश्मामा रिसोर्टसहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काई ब्रिज बनाइरहेको छ । एकैपटक दुई अलग अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सकिएको कम्पनीका अध्यक्ष बिदुर पौडेलले जानकारी दिए । उनका अनुसार यो परियोजनामा ११ करोड रुपैयाँ लगानी छ । आगामी दशैंसम्म परियोजनाका अधिकांश काम सक्ने लक्ष्य छ ।

यी प्रतिनिधि उदाहरण हन् । कोरोनाभाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको हवाई, पर्यटन र होटल क्षेत्र हो । दोस्रो लहरको कोरोनाले यसको भविष्यबारे थप अन्योल छ । तर, केही लगानीकर्ता भने अहिले पनि यो क्षेत्रमा दीर्घकालीन लाभ देख्छन् । नेपाल पर्यटनमा आधारित अर्थतन्त्र भएको मुलुक रहेको र अर्थतन्त्रको भविष्य समेत यसमै जोडिएको भन्दै व्यवसायीले थप लगानी गर्ने हिम्मत हारेका छैनन् ।

नेपाल एड्भेन्चर प्रालिद्वारा पोखरामा निर्माणाधिन बन्जीको परीक्षण गरिँदै ।

फुर्सदमा प्रडक्ट थप्ने, पर्यटक आउन थालेपछि व्यापार
हवाई र पर्यटन क्षेत्रका लगानीकर्ताले महामारीलाई अवसरका रूपमा समेत उपयोग गरिरहेका छन् । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा हवाईजहाजको मूल्यमा व्यापक गिरावट आएको छ । सोहीकारण जहाज थप्ने उपयुक्त समय यही हो । विगतमा एउटा एटीआर ७२ जहाज किन्दा लाग्ने मूल्यले अहिले दुईवटा एटीआर जहाज आउँछन् । उनी भन्छन्, ‘यो त बाई वान गेट वान अफर भयो नि !’

महामारीबीच धेरैजसो मुलुकले यात्रा प्रतिबन्ध र क्वारेन्टिनका प्रावधान कायमै राखेको हुँदा अन्तर्राष्ट्रिय पर्यटकलाई एक–अर्का मुलुकमा सहजै यात्रा गर्न समय लाग्नेछ । यो परिस्थितिमा सबैजसो मुलुक आन्तरिक पर्यटकमा केन्द्रित बनेका छन् ।

एमएस ग्रुपका उपाध्यक्ष अग्रवाल महामारीलाई उत्पादनसँग जोड्ने हो भने महामारीपछि निष्फिक्री भएर व्यापार गर्न सकिने बताउँछन् । ‘महामारीको बेला पर्यटक छैनन्’ उनी भन्छन्, यो बेला केही नगरी बस्ने र पर्यटक आउन थालेपछि मात्र तात्तियो भने हामी व्यापार गर्न सक्दैनौं ।’ त्यसैले पूर्वाधार बनाउनतर्फ लागेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय पर्यटन तत्काल पुनरुत्थान हुने सम्भावना कम
संयुक्त राष्ट्रसंघ मातहतको विश्व पर्यटन संगठनले गरेको अध्ययन अनुसार अन्तर्राष्ट्रिय पर्यटन बजार पुनरुत्थान हुन कम्तीमा सन् २०२३ सम्म कुर्नुपर्नेछ । यस्तो प्रक्षेपण कोरोनाभाइरसको नयाँ भेरियन्ट नआएको अवस्थामै गरिएको थियो । किनकि महामारीका बीच धेरैजसो मुलुकले यात्रा प्रतिबन्ध र क्वारेन्टिनका प्रावधान कायमै राखेको हुँदा अन्तर्राष्ट्रिय पर्यटकलाई एक–अर्का मुलुकमा सहजै यात्रा गर्न समय लाग्नेछ ।

यो परिस्थितिमा सबैजसो मुलुक आन्तरिक पर्यटकमा केन्द्रित बनेका छन् । नेपालमा समेत सोही परिस्थिति देखिने आकलन व्यवसायीले गरेका छन् । यद्यपि सरकारले भने दीर्घकालीन प्रक्षेपण गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment