Comments Add Comment

दक्षिण एशिया पुनः प्यान्डेमिकको केन्द्रबिन्दु

पछिल्लो समय दक्षिण एशियामा कोरोना संक्रमण बढ्दै गएकोमा कुनै शंका रहेन । यो आलेखमा संक्रमण दर कसरी बढिरहेको छ भनेर विश्लेषण गरिनेछ ।

गत वर्ष जुलाईको शुरूदेखि विश्व मानचित्रमा कोरोना प्यान्डेमिकको कुल भारको दोस्रो ठूलो हिस्सा दक्षिण एशियामा देखिन थालेको थियो । त्यो बेला अमेरिकाज (उत्तर, सेन्ट्रल र दक्षिण अमेरिका)मा प्यान्डेमिकको सबभन्दा ठूलो भार थियो भने युरोपमा पहिलो लहर सकिएर दैनिक संक्रमण न्यून अवस्थामा पुगेको थियो ।

त्यतिबेला अमेरिकामा दैनिक करीब ७० हजार, ब्राजिलमा ४० हजार र भारतमा ३० हजार नयाँ संक्रमण देखापरिरहेको थियो । दक्षिण एशियामा अगस्टबाट बढ्न थालेको पहिलो लहरको संक्रमणले सेप्टेम्बरमा प्यान्डेमिकको रूप लियो । दक्षिण एशिया र अमेरिकाजबीच सेप्टेम्बरभरि दैनिक कोरोना संक्रमणको प्रतिस्पर्धा मच्चिरह्यो ।

त्यो बेला यी दुई क्षेत्रमा दैनिक संक्रमण पालैपालो पहिलो र दोस्रो उच्च भइरह्यो । मध्य सेप्टेम्बरसम्ममा दक्षिणएशिया प्यान्डेमिकको ‘पिक’मा पुग्दा भारत विश्वमै संक्रमणको केन्द्रबिन्दु बन्यो । भारतमा दैनिक करीब ९० हजार, अमेरिकामा ४० हजार र ब्राजिलमा २५ हजार संक्रमण देखा परे ।

त्यतिबेला युरोपमा प्यान्डेमिकको दोस्रो लहर शुरू भएको थिएन । त्यहाँ दैनिक संक्रमण दर दक्षिण एशियाको भन्दा आधाभन्दा कम थियो । अक्टोबर लागेपछि दक्षिण एशियामा प्यान्डेमिक कम हुँदै गयो भने युरोपमा दोस्रो लहर शुरू भयो र विश्वमै कोरोना प्यान्डेमिकको सबभन्दा ठूलो लहर बन्यो ।

त्यो बेलादेखि हालसम्म अमेरिकाज र युरोपबीच दैनिक कोरोना संक्रमणको प्रतिस्पर्धा चलिरहेको छ भने मार्चको मध्यबाट दक्षिणएशियामा फेरि संक्रमण तीव्र वृद्धि भई प्यान्डेमिकको केन्द्रबिन्दु बन्ने तरखरमा देखिन्छ ।

विश्व जनसंख्याको २० प्रतिशत हिस्सा ओगटेको दक्षिण एशियामा अप्रिल १६ सम्ममा विश्वको कुल कोरोना संक्रमणमध्ये १२ प्रतिशत देखिएको छ । अप्रिल १६ को एकै दिन दक्षिण एशियामा विश्वको करीब ३० प्रतिशत नयाँ कोरोना संक्रमण भेटियो । त्यो दिन विश्वको कुल कोरोना मृत्युमध्ये १२.५ प्रतिशत दक्षिण एशियामा भयो ।

पछिल्लो समय अमेरिका र ब्राजिलमा भन्दा भारतमा धेरै दैनिक संक्रमण देखिन थालेको छ । भारतमा पहिलो लहरभन्दा दैनिक संक्रमण दोब्बर भएको छ । भारत र सिंगो दक्षिणएशिया कोरोना प्यान्डेमिकको केन्द्रबिन्दु बन्दै गएको यसले देखाउँछ ।

भुटान विश्वमै कोरोना संक्रमण न्यून भएको देशको रूपमा कायम छ । हालसम्म त्यहाँ एक हजारभन्दा कम संक्रमण र एक मात्र मृत्यु भएको छ । यो वर्ष जनवरीयता दैनिक संक्रमण शून्य रहेको भुटानमा अप्रिलदेखि संक्रमण बढ्दो क्रममा देखिएको छ । यद्यपि, अन्यत्रको दाँजोमा संक्रमण संख्या निकै कम छ ।

उता श्रीलंकाको स्थिति खराब देखिन्छ । त्यहाँ पछिल्लो दैनिक संक्रमण धेरै नभए पनि ‘आवर वल्र्ड इन डाटा’का अनुसार त्यहाँ संक्रमण दर (पोजिटिभिटी) निकै छ । अप्रिल शुरू भएसँगै त्यहाँ दैनिक कोरोना संक्रमण दर क्रमशः बढेर १० तारिखका दिन ३० प्रतिशतभन्दा धेरै पुग्यो, जुन विश्वमै सबभन्दा उच्चमध्ये एक थियो ।

बंगलादेशको दैनिक संक्रमण दर पनि २० प्रतिशतभन्दा माथि रहँदै आएको छ । यी तथ्यहरूबाट के स्पष्ट हुन्छ भने, दक्षिण एशिया पुनः एक पटक कोरोना प्यान्डेमिकको केन्द्र बन्दैछ । हामी सबैले सावधानीपूर्वक यसको सामना गर्नुपर्नेछ ।

चित्र–१ ले दक्षिण एशियाली तथा केही अन्य देशहरूको १–१६ अप्रिलको दैनिक संक्रमण दर (पोजिटिभिटी दर) देखाउँछ । जोन्स हप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाबाट लिइएको तथ्यांक अनुसार चित्रमा अधिकांश दक्षिण एशियाली देशको संक्रमण दर अन्य देशहरूको भन्दा उच्च देखिन्छ ।

दक्षिण एशियाली देशहरूमा अप्रिल १–१६ बीचको दैनिक कोरोना संक्रमणको नयाँ प्रवृत्ति देखिएको छ । दैनिक संक्रमणको प्रवृत्ति हेर्दा भारतको अवस्था निकै चिन्ताजनक देखिन्छ । फेब्रुअरीको शुरूमा त्यहाँ दैनिक करीब ११ हजार नयाँ संक्रमण देखिने गरेकोमा पछिल्लो समय दैनिक दुई लाख नाघेको छ ।

नेपाल लगायत दक्षिण एशियाका अन्य देशमा भारतमा भन्दा निकै कम दैनिक संक्रमण देखिन्छ । भारतको तुलनामा कम भए पनि संक्रमण बढ्दो दरमै छ । दक्षिण एशियाको कुल संक्रमित संख्या पनि दैनिक वृद्धि हुँदै गइरहेको छ ।

चित्र–३ मा दक्षिण एशियालीमा १–१६ अप्रिलमा कोरोनाबाट भएका मृत्यु संख्याको प्रवृत्ति देखाइएको छ । भारतमा दैनिक मृत्यु र दैनिक संक्रमण समानान्तर रूपले निकै बढेको चित्रमा देखिन्छ । फेब्रुअरीको शुरूमा भारतमा कोरोनाबाट दैनिक करीब १०० मृत्यु हुने गरेकोमा अहिले यो संख्या ८०० पुग्न थालेको छ ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टरको विवरणअनुसार अप्रिल १५ सम्म दक्षिण एशियामा एक करोड ६० लाख ५० हजार ९५९ जनामा कोरोना संक्रमण भएको छ भने दुई लाख पाँच हजार ४४९ जनाले संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् ।

गत साता १३ लाख ११ हजार १२८ जना कोरोना संक्रमित र आठ हजार तीन मृत्यु थपियो । यसले दक्षिण एशिया फेरि एक पटक कोरोना प्यान्डेमिकको केन्द्र बन्दै गएको पुष्टि गर्छ ।

नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण विभिन्न स्रोतबाट प्राप्त ११–१७ अप्रिलको तथ्यांकको आधारमा गरिएको छ । यसको उद्देश्य विश्व र नेपालको प्यान्डेमिकको सही अवस्था पाठकसमक्ष पुर्‍याउनु हो ।

गत हप्ता पनि विश्व र नेपालमा प्यान्डेमिकका तथ्यांकहरूमा उतारचढाव जारी रह्यो । उक्त सात दिनको नेपालभरको दैनिक परीक्षण र नयाँ संक्रमित संख्या चित्र–४ मा प्रस्तुत छ ।

त्यो हप्ता त्यसअघिको हप्ताभन्दा केही बढी परीक्षण भएको थियो । नयाँ संक्रमण पनि त्यही अनुसार बढेको देखिन्छ । धेरै परीक्षण भएको दिन नयाँ संक्रमण पनि बढी देखिएको हुनाले प्रशस्त परीक्षण गरिए वास्तविक संक्रमण अहिलेको भन्दा धेरै हुने निश्चित छ ।

यो अवस्थामा प्रशस्त परीक्षण गरी प्यान्डेमिकको सही मापन र व्यवस्थापन गरी एकातिर जनस्वास्थ्यको सुरक्षा गर्नु जरूरी छ भने अर्कातिर जनजीवन तथा आर्थिक गतिविधिलाई पनि निरन्तरता दिनु अत्यावश्यक छ ।

नेपाल सरकारको तथ्यांक अनुसार, गतहप्ता देशभर तीनहजार ९३३ जना नयाँ संक्रमित थपिएर कुल कोरोना संक्रमित संख्या दुई लाख ८३ हजार ६५८ पुगेको छ । चैतको चार हप्तामा नयाँ संक्रमित संख्या क्रमशः ६५१, ९२१, १०१८ र १९५७ जना थिए । चैतको साप्ताहिक मृत्यु संख्या क्रमशः २, ११, ५ र ७ थियो । पछिल्लो हप्ता यो संख्या ३६ पुगेको छ । यसले नेपालमा कोरोना संक्रमण निकै तीव्र बनेको देखाउँछ ।

देशभर र काठमाडौं उपत्यकाको दैनिक संक्रमणको तुलना चित्र–५ मा छ, जसमा पछिल्लो समय उपत्यकाभन्दा बाहिर धेरै संक्रमण फैलिएको देखिन्छ । यसले सीमापरिबाट आवतजावत हुने ठाउँमा धेरै संक्रमण भएको संकेत गर्छ । गत शुक्रबार बाँकेमा १३३, कास्कीमा ४६, रूपन्देहीमा ४३, कैलालीमा ३९, पर्सामा ३०, चितवनमा २२ र मोरङमा २० जना नयाँ संक्रमित फेला परेका थिए ।

नेपालमा गत हप्ता दैनिक कोरोना संक्रमण दर उकालो लाग्ने क्रम जारी रहेको चित्र–६ ले देखाउँछ । यी तथ्यहरूबाट दक्षिण एशियाली देशहरूमा प्यान्डेमिकको दोस्रो लहर पहिलोभन्दा दोब्बर ठूलो भइसकेको देखिन्छ ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई आत्मसात् गर्नुपर्ने बेला आएको छ । पहिलो लहरबाट लिएको अनुभव र शिक्षालाई फेरि एक पटक व्यावहारिक रूपमा लागू गर्नेपर्ने बेला आएको छ । दिनानुदिन बढ्दै गएको कोरोना नियन्त्रणका लागि नेपालले छिमेकबाट आउनसक्ने संक्रमण रोक्न विशेष प्रयास गर्नुपर्ने दखिन्छ ।

नेपाली जनताले पनि प्यान्डेमिकको यथार्थ बुझी आफ्नोतर्फको सावधानी हरपल अपनाउनुपर्दछ । हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने, भीडभाड नगर्ने आदि सावधानी अपनाएर कोरोना प्यान्डेमिक विरुद्धको लडाइँमा योगदान गर्नु नै बुद्धिमानी हुनेछ ।

(डा. श्रेष्ठ बी एण्ड बी अस्पतालका कन्सल्टेन्ट न्यूरोसर्जन तथा कोभिडविज्ञ हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment