Comments Add Comment

चुनाव जितेको भोलिपल्ट चाडका राष्ट्रपतिको मृत्यु

७ वैशाख, काठमाडौं । अफ्रिकी मुलुक चाडका राष्ट्रपति इडरिस डेबीको मृत्यु भएको त्यहाँको सेनाले बताएको छ । सेनाका अनुसार गत साताको अन्तिममा मुलुकको उत्तरी क्षेत्रमा भ्रमणको क्रममा अचानक विद्रोहीले आक्रमण गर्दा डेबी घाइते भएका थिए । मंगलबार उनको मृत्यु भएको हो ।

यसअघि ११ अप्रिलमा भएको निर्वाचनको सोमबार सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार डेबी छैटौं कार्यकालका लागि निर्वाचित भएका थिए ।

यससँगै सेनाले सरकार र संसद् विघटन गरेको छ । सेनाको परिषद्ले चाडमा १८ महिना शासन चलाउनेछ । ६८ वर्षीय डेबी चाडमा सबैभन्दा लामो समय शासन गर्ने नेता थिए । उनी सन् १९९० मा चाडको सत्तामा आएका थिए । डेबी गत साताको अन्तिममा विद्रोहीसँग लडाइँ चलिरहेको लिबियाको सीमाक्षेत्रको भ्रमणका लागि गएका थिए ।

चाडको सैन्य परिषद्को नेतृत्व दिवंगत राष्ट्रपतिका छोरा महमत इडरिस डेबी इत्नेले गर्नेछन् । उनी आर्मीका चारतारे जर्नेल हुन् ।

चाडको विद्रोहीले यसअघि निर्वाचनको दिन पनि सीमा क्षेत्रको सैन्य क्याम्पमा आक्रमण गरेको थियो । अहिले विद्रोही राजधानीतर्फ बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

विद्रोहीसँग सेनाले गत शनिबारदेखि लडाइँ सुरु गरेको थियो । आर्मीका जनरलले दिएको जानकारीअनुसार यो क्रममा तीन सय छापामार लडाकुहरु मारिएका छन् भने १५० लडाकु पक्राउ परेका छन् । अहिलेसम्म पाँच सरकारी सैनिक मारिएको र ३६ जना घाइते भएको सेनाले बताएको छ । यद्यपि यो तथ्यांकको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment