
८ वैशाख, हेटौंडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकामा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९ का ३० वर्षीय गुणसिंह वाइबा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार उदयपुर घर भएका २७ वर्षीय मुकेश परियार घाइते भएका छन् ।
घाइते परियारको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रक तथा चालक प्रहरी नियन्त्रण रहेको बताइएको छ ।
यस्तै कान्ति लोकमार्गको मकवानपुरगढी गाउँपालिका–१ कर्मे खोलामा जन्ती बोकेको सुमो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
बकैया–४ बाट जन्ती बोकेर ठिङ्गन जाँदै गरेको ना १ ज १७५१ नम्बरको सुमो दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4