Comments Add Comment
टिप्पणी :

राजनीतिक हस्तक्षेपको शिकार बन्दै इन्जिनियर्स एशोसिएसनको चुनाव

नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को नयाँ नेतृत्वका लागि वैशाख २४ गते निर्वाचन हुँदैछ । कस्ता उम्मेदवारलाई भोट दिने ? अघिल्ला चुनावमा भन्दा यस पटक मतदाताहरू अन्योलमा छन् । अन्योल हुनुका कारणमा नेइएप्रतिको अनास्था, पेशागत सङ्गठनमा चरम राजनीतिक हस्तक्षेप जस्ता कारण छन् ।

३३औं कार्यकारिणी समितिको चुनावबाट नेतृत्वमा कस्ता अनुहार आउलान् ? उम्मेदवारहरू हेर्दा सहज अनुमान लगाउन सकिन्छ– राजनीतिक आस्थाका आधारमा बिल्कुल दल निकट रहेर काम गरेकाहरू आउँछन् ।

नेइएलाई इन्जिनियरहरूको हकहितमा भन्दा आफ्नो रिटायर्ड लाइफ बिताउन वा राम्रो आर्थिक प्रगति गरेका व्यक्तिहरू इन्जिनियरिङ समुदायमा नाम चलाउन नेतृत्वमा दाबी प्रस्तुत गर्ने प्रवृत्ति विगतदेखिकै हो । यो टिप्पणी कुनै व्यक्ति–विशेष होइन, नेइएको विगत र वर्तमानको यथार्थ हो ।

तर, पूरै निराश नै भइहाल्नुपर्ने अवस्था पनि होइन । विस्तारै युवा नेतृत्वमा आउन खोज्दैछन् । प्रदेश र केन्द्रमा युवाहरू नेतृत्व वरिपरिको जिम्मेवारी खोजिरहेका छन्, यो सुखद पक्ष हो । थप सुखद बनाउन धेरै सुधारका प्रयास आवश्यक छन् । यसका लागि वैशाख २४ गते हुने चुनावमा २१ हजार ६८० मतदाताले कस्तो नेतृत्व चुन्छन् भन्ने प्रश्न पनि उत्तिकै अहम् छ ।

नयाँ पुस्तालाई नेतृत्व पुस्तान्तरण गरी आफ्नो विज्ञता र अनुभवलाई युवा पुस्तामा हस्तान्तरण गर्नुको सट्टा अझै पनि गुटगत, व्यक्तिगत स्वार्थ, पद र शक्तिका पछाडि लाग्नु अग्रज र पाका इन्जिनियरहरूको क्रियाकलाप स्वयं इन्जिनियरहरूलाई उचित लागिरहेको छैन ।

नेइएप्रतिको अनास्था हटाउन

नेइएप्रति इन्जिनियरहरूको अनास्था ठूलो समस्याका रूपमा छ । यसलाई बदल्नु अहिलेको मुख्य चुनौती हो ।

इन्जिनियरिङ काउन्सिलमा ६२ हजार इन्जिनियर दर्ता छन् । यीमध्ये ३७ हजारजति नेइएका सदस्य छन् । आधा इन्जिनियर बाहिर रहेको नेइए सबै इन्जिनियरहरूको साझा संस्था कसरी हुन सक्छ ? यो स्वाभाविक प्रश्न छ । यसप्रति विगतका नेतृत्वले कुरा नगरेका होइनन् । तर, प्रभावकारी काम गर्न नसकेकै हुन् । अहिलेसम्मका एशोसिएसनको नेतृत्वमा पुगेकाहरूको फ्रेसर इन्जिनियरहरूप्रति दायित्वबोध र जवाफदेही कम देखिएको छ ।

यो परिस्थितिमा आजका युवाको चाहनाबमोजिमको नेतृत्व नेइएमा कहिले आउँछ भन्ने सान्दर्भिक चासो छ । यो चासोलाई सम्बोधन गर्न पनि युवा चेत बोकेका उम्मेदवारलाई जिताउनु आवश्यक छ । जसले सबै इन्जिनियरहरूलाई नेइएमा समेट्न सकोस् ।

नेइएप्रति अनास्था हुनुको कारण ‘एशोसिएसन हाम्रो हो’ भन्ने पार्न सकिएको छैन । यसबाट आफ्नो क्षमता अभिवृद्धि गराउनेदेखि हकहितका अनेक विषयमा बोल्छ भन्ने विश्वास छैन ।

यही कारण सदस्यता शुल्क समेत राजनीतिक दल निकट सङ्गठनहरूबाट तिर्नुपर्ने अहिलेको स्थिति छ । यस्तो खालको अविश्वास र गलत प्रवृत्ति तोड्न र सबै इन्जिनियरलाई नेइएमा समेट्न पनि युवा नेतृत्व आवश्यक छ । किनभने नेइएभित्र र बाहिर रहने इन्जिनियरहरूको ठूलो संख्या युवाको छ ।

अनौपचारिक तथ्याङ्कलाई मान्ने हो भने ४० वर्ष मुनिका इन्जिनियरको संख्या ८० प्रतिशत माथि छ । त्यसकारण नेइए बाहिर रहेका इन्जिनियरहरूलाई नेइएप्रति रहेको अनास्था हटाउने जिम्मेवारी पनि युवा इन्जिनियरहरूकै काँधमा छ ।

समय हद हटाउन

अहिलेको विधान अनुसार अध्यक्ष हुन निरन्तर नेइएको १५ वर्ष सदस्य भएको हुनुपर्छ । महासचिव हुन १० वर्ष निरन्तर सदस्य भएको हुनुपर्छ । यस्तो प्रावधान राखेर ऊर्जावान् युवालाई नेइएको अध्यक्ष/महासचिवलगायत पदाधिकारी बन्न रोक्ने काम भइरहेको छ ।

यो समय हद मेटाउन पनि युवाभन्दा अरूले चाहन्छन् भन्नु अपत्यारिलो छ । पत्यारिलो थियो भने यस्तो विधान बन्दैनथ्यो वा विगतमै परिवर्तन भइसक्थ्यो ।

विगतलाई हेर्ने हो भने इन्जिनियरको नेतृत्वमा जीवनको उत्तराद्र्धमा रहेकाहरू छन् र जसबाट इन्जिनियरहरूको हकहित, विकास निर्माण र सुशासन कायम गर्नमा ज्यादै कम सक्रियता देखिन्छ । नेइएको नेतृत्व रिटायर्ड जीवन जिउने थलो मात्रै बनेको विदितै छ ।

यो हटाउन पनि नेइएमा युवा इन्जिनियरको समसामयिक समस्या समाधान गर्न सचेत प्रयत्न गर्न सक्ने स्पष्ट एजेन्डा बोकेका उम्मेदवारलाई जिताउनुपर्ने देखिन्छ । दूरदर्शी युवा नेतृत्वले समग्र इन्जिनियरिङ क्षेत्रको विकास र राज्यकै समुन्नत पहिचान स्थापित गराउन सक्छ । युवा इन्जिनियरहरूको उद्यमशीलता, आर्थिक–सामाजिक रूपान्तरण, दिगो विकास र सुशासनसहितको भ्रष्टाचाररहित इन्जिनियरिङ क्षेत्रको निर्माण गर्न महत्वपूर्ण भूमिका छ ।

राजनीतिक हस्तक्षेप न्यून गर्न

नेइएको नेतृत्वमा रहेको अर्को समस्या हो– चरम राजनीतिक हस्तक्षेप । यसलाई तोड्न नसक्दा पनि नेइएप्रति कतिपयको अनास्था छ । अहिले पनि नेतृत्वको होडबाजीमा राजनीतिक दलभित्र गुट–उपगुट बनाउने र नेतृत्व हस्तान्तरणमा अनिच्छा देखाएर युवालाई केवल मतदाताको रूपमा प्रयोग गर्ने काम भइरहेको छ ।

नयाँ पुस्तालाई नेतृत्व पुस्तान्तरण गरी आफ्नो विज्ञता र अनुभवलाई युवा पुस्तामा हस्तान्तरण गर्नुको सट्टा अझै पनि गुटगत, व्यक्तिगत स्वार्थ, पद र शक्तिका पछाडि लाग्नु अग्रज र पाका इन्जिनियरहरूको क्रियाकलाप स्वयं इन्जिनियरहरूलाई उचित लागिरहेको छैन । ‘यो समय युवा पुस्ताको समय, अवसर र जिम्मेवारीको हो’ भन्ने नारा सबैतिर सुनिन्छ तर यी भनाइ इन्जिनियरिङ नेतृत्वमा व्यावहारिक रूपमा लागू गर्न युवालाई नै विश्वास गर्नुपर्ने हुन्छ ।

परम्परावादी शैलीमा आएका पाका पुस्ताकै पछाडि परेर उनीहरूका सेवामा मात्र लागिपर्नु र नेतृत्वका आशा पनि अघिल्लो पुस्ताले छाडेपछि वा दिएपछि पाउँछु भन्ने चरित्रलाई पनि युवा इन्जिनियरहरूले हटाउनुपर्नेछ ।

सदस्यता व्यवस्थामा परिवर्तन

नेइएको हाल नयाँ सदस्यता लिन ७५० रुपैयाँ शुल्क राखिएको छ भने हरेक वर्ष नवीकरण बापत ५०० रुपैयाँ थप शुल्क तिर्नुपर्ने हुन्छ । त्यस्तै आजीवन सदस्यताको लागि ५ हजार ५०० तोकिएको छ ।

नेइएका साधारण सदस्यहरूले निर्वाचनमा सहभागी हुन शुल्क तिरेर हरेक पटक नवीकरण गराउनुपर्ने हुन्छ ।

तर, नेइएको सदस्यता नवीकरणमा रुचि कम देखिने गरेको छ । यस्तो अवस्थामा दल निकट इन्जिनियरिङ सङ्गठनले सदस्यता नवीकरण गराइदिने र निर्वाचनमा उम्मेदवार छनोटमा इन्जिनियरिङ जस्तो प्रबुद्ध वर्गमा समेत विवेक नपुर्‍याई सदस्यता नवीकरण गराइदिएको समूहलाई मतदान गर्ने अधिकांश इन्जिनियरहरूको विगतदेखि नै नियति बन्दै आएको छ ।

इन्जिनियरहरूले स्वतन्त्रतापूर्वक आफ्नो प्रतिनिधि छनोट गर्ने कुरामा अभिप्रेरित गर्न एशोसिएसनको सदस्यताको बारेमा गरिएको व्यवस्था परिवर्तन गर्न आवश्यक छ । नेपाल इन्जिनियरिङ परिषदमा जस्तै एकै पटक निश्चित सदस्यता शुल्क तिरेर दर्ता हुने व्यवस्था मिलाउनुपर्ने अनिवार्य भइसकेको छ ।

यसले  हरेक निर्वाचनमा सदस्यता नवीकरण गराइराख्नुपर्ने झन्झटबाट मुक्त गर्नुका साथै दल निकट इन्जिनियरिङ संगठनको अनावश्यक राजनीतिक प्रभावबाट टाढा राख्न सहयोग मिल्छ ।

नेइएमार्फत इन्जिनियरका समस्या समाधान गर्न

हरेक निर्वाचनमा इन्जिनियरका समस्याबारे केही हदसम्म चर्चा गरिए तापनि निर्वाचनपश्चात् ती विषय हराउँदै जाने गरेका छन् ।

अघिल्लो निर्वाचन २०७२ को भूकम्पपछि पुनर्निर्माणमा ठूलो संख्यामा खटिएका इन्जिनियरहरूको समस्या, तलबभत्ता र व्यवस्थापनका कुराहरू इन्जिनियर सङ्गठनले उठाए पनि टालटुलमै सीमित बन्यो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद सकिनै लाग्दा अहिले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूको बिदाइ गर्ने या व्यवस्थापन गर्ने भन्ने विषय छलफलमा रहेको छ । पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको व्यवस्थापनको विषय सफल कार्यान्वयनका निम्ति नेइएमार्फत पहलकदमी लिने समय आएको छ ।

त्यस्तै सिभिल इन्जिनियरिङ बाहेकका इन्जिनियरिङमा लोकसेवा आयोग लगायत विभिन्न संस्थानहरूमा विश्वविद्यालयबाट उत्पादन भएका इन्जिनियरहरूको अनुपातमा निकै कम दरबन्दी खुलाइँदै आएको छ । यस्ता वास्तविक विषयहरूमा इन्जिनियरहरूको साझा थलो नेइएले राज्यका अङ्गहरूसँग सहकार्य र समन्वय गर्न चुक्नुहुँदैन ।

नेपालमा विकास बजेट खर्च नहुने समस्या छ । यसको प्रमुख कारण प्राविधिक कर्मचारी कम र निजामती कर्मचारीको संख्या बढी हुनु हो । विकास खर्च गराउने प्राविधिक कर्मचारी कम राखेर टिप्पणी उठाउने जस्ता प्रशासनिक कामका प्रक्रियामा रहने कर्मचारीको संख्यामा सन्तुलन मिलाउन पनि आवश्यक छ ।

यसको महसुस स्वयं सरकारले पनि गरेको छ । तर, व्यावहारिक रूपमा सन्तुलन मिलाउन सकिरहेको छैन ।

पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको भनाइ सापटी लिने हो भने प्रशासन समूहका व्यक्ति आवश्यकताभन्दा ७० प्रतिशत बढी छन् । र प्राविधिकहरूको संख्या अत्यन्त कम छ । चाहे त्यो डाक्टर होस्, इन्जिनियर होस्, चाहे वन होस्, चाहे कृषि होस् । यही कारण नेपालमा विकास बजेट खर्च कम भइरहेको छ । कर्मचारीतन्त्रमा रहेको यस्तो असन्तुलनका सम्बन्धमा आवाज उठाउन पनि नेइएमा युवा नेतृत्वको आवश्यकता महसुस भएको छ ।

अन्त्यमा …

यावत् समस्यालाई छिचोल्दै इन्जिनियरहरूको साझा संस्था नेइएमा विज्ञान र प्रविधिले विकास र आर्जन गरेका अनुभव र विज्ञता युवामा हस्तान्तरण गरी दिगो आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणका लागि बेलैमा सकारात्मक उत्प्रेरणासहितको पहल गर्ने उपयुक्त समय आएको छ ।

यस्ता अवसरको सदुपयोग यस्तै चुनावमार्फत व्यक्त गर्ने हो । युवा नेतृत्वले राजनीतिक आस्था हेर्दैन, नेतृत्वमा पेशागत एजेण्डा बोकेका युवा चाहन्छ भन्ने देखाउनुछ ।

विश्व र नेपालकै राजनीतिमा युवा सहभागिताका लागि चर्को रूपमा आवाज उठिरहेको छ । यो आवाजलाई इन्जिनियरिङ जस्तो पेशागत सङ्गठनबाट देखाउनुपर्ने चुनौती हाम्रासामु छन् ।

जसरी राजनीतिमा सुशासन र पारदर्शिताका लागि आवाज उठिरहेको छ, युवामैत्री नेतृत्व र सक्रिय युवा अनियमितताका बारेमा खबरदारी गरिरहेका छन् । त्यसैगरी इन्जिनियरिङ क्षेत्रमा रहेका तमाम विकृतिबारे पनि एशोसिएसनमार्फत खबरदारी गर्न युवा इन्जिनियरले विशेष भूमिका खेल्नुपर्ने बेला आएको छ ।

(लेखक नेपाल इन्जिनियर्स एशोसिएसनको केन्द्रीय कार्यकारिणी समिति सदस्यका उम्मेदवार हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment