Comments Add Comment

आठ दिनमा एक अर्ब २६ करोड रुपैयाँको सुन खरिद बिक्री

मूल्य उकालो लागे पनि कारोबारमा उत्साह

फाइल तस्वीर

८ वैशाख, काठमाडौं । सुनको कारोबार कोरोना काल अघिकै अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् । बिहेको मुख्य सिजन चलिरहेका बेला सुनको माग पनि बढेको र दैनिक १५ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको सुन कारोबार हुन थालेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

वैशाख पहिलो आठ दिनको औषत कारोबार हेर्दा सुनको कारोबार पहिलो लकडाउन अघिको मुख्य सिजनकै बराबरी भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । बजारमा दैनिक ३५ देखि ४० किलोसम्म सुनको माग भइरहे पनि २० किलो बिक्री रहेको उनको भनाइ छ । वैशाख लागेपछिको पहिलो ८ दिनमा सरदर एक अर्ब २६ करोड १९ लाख ४४ हाजार रुपैयाँ बराबरको सुनको कारोबार भएको उनले बताए । ‘कोभिडको दोस्रो लहरको सम्मुखमा पनि सुन चाँदीको माग निकै राम्रो छ, हामी यसलाई कोरोना अघिको मुख्य सिजनकै अवस्थाको मान्न सक्छौं,’ महासचिव बज्राचार्यले अनलाइनखबरसँग भने ।

सरकारले कोटा वृद्धि गरेर सुनको आयात पुरानै अवस्थामा पुर्‍याए पनि बजारको माग भने धान्न कठिन भएको महासचिव बज्राचार्यको भनाइ छ । सुन अभावका कारण ग्राहकले माग गरेको समयमा तयारी सुन उपलब्ध गराउन व्यवसायीलाई कठिन भएको महासंघले जनाएको छ ।

उकालो लाग्न थाल्यो भाउ

बुधबार एकै दिन सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले बढ्यो । बजारमा उच्च माग भइहरको बेला सुनको भाउमा वृद्धि भएपछि उपभोक्ता भने महँगीको मारमा परेका छन् । भाउ घोषणा हुने वैशाखको पहिलो एक सातामा मात्रै सुनको भाउ तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको महासंघले जनाएको छ । यो एक सातमा चाँदीको भाउ प्रतिकिलो २० रुपैयाँले बढेको छ । नेपालमा सुनको भाउ बढ्नुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको उतार चढाव नै एक मात्र प्रमुख कारण भएको व्यवसायी बताउँछन् ।

कोभिडको तेस्रो लहरका कारण फिनल्याण्ड, स्वीडेन लगायत आधादर्जन मुलुकका रिर्जब बैंकहरुले सुन रिजर्भ गर्न थालेको र डलरको भाउ घट्ने क्रमको असर सुनको मूल्यमा परेको महासंघका महासचिव बज्राचार्य बताउँछन् । ‘विश्व अर्थ व्यवस्थामा संकट पर्ने आधारहरु देखियो भने सुनको माग बढ्छ र त्यसले मूल्य आकाशिन्छ । कोभिडको तेस्रो लहरको डर अमेरिका र युरोपेली मुलुकमा परेको देखिन्छ,’ बज्रचार्यले भने । सुन खरिद गरेर जम्माम पार्ने बढे भने भाउ अझै बढ्न सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment