
९ वैशाख, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा एउटा विषयको प्रश्नपत्र बाहिरिएको अनुसन्धान टुंगो नलाग्दै अर्को विषयको प्रश्नपत्र समेत आउट गर्ने परीक्षा समितिलाई तत्काल निलम्बन गरी कारबाही गर्न नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)ले माग गरेको छ ।
केही दिनअघि मात्र इन्जिनियरिङ संकायको स्नातक तहको दोस्रो सेमेस्टरको भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षाभन्दा अघि बाहिरिएको थियो । गत आइतबार इन्जिनियरिङ संकायको दोस्रो सेमेस्टरको हाइड्रोलिक विषयको प्रश्नपत्र आउट भएको तर अहिलेसम्म कसैलाई कारबाही नभएको अखिल क्रान्तिकारीको भनाइ छ ।
अखिल (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालयका संयोजक बालकुमार केसीद्वारा जारी विज्ञप्तिमा यस्ता घटनाका श्रृंखलाले विश्वविद्यालयको साख र गरिमामा गम्भीर आँच पुगेको उल्लेख गरिएको छ ।
एकपछि अर्को अमर्यादित घटना हुँदा पनि विश्वविद्यालय प्रशासनको लाचारी, उदासीनता र लापरबाही अत्यन्तै आपत्तिजनक र निन्दनीय रहेको भन्दै क्रान्तिकारीले परीक्षा समितिमा रहेका सबैलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेको छ ।
पछिल्लो समय राजनीतिक दलको भागबण्डा र खिचातानीले विश्वविद्यालय अस्तव्यस्त भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4