Comments Add Comment

एमालेमा ‌नयाँ स्थायी कमिटी : बामदेव समेटिए, नेपाल समूह परेन

१० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेका छन् । माधवकुमार नेपाल पक्षको अनुपस्थितिका बीच शुक्रबार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् ।

उनको स्थायी कमिटीमा नेपाल पक्षलाई समावेश गरिएको छैन । एमाले एकता अभियान चलाएका, तर ओलीले बोलाएको बैठकहरुमा अनुपस्थित रहेका वामदेव गौतमलाई भने राखिएको छ ।

साबिकको नेकपामा स्थायी कमिटीमा रहेका पूर्व माओवादीका चार नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र लेखराज भट्टलाई पनि स्थायी कमिटीमा समोवश गरिएको छ ।

उनीहरूबाहेक महासचिव ईश्वर पोखरेलका साथै विष्णुप्रसाद पौडेल, किरण गुरुङ, छबिलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ,  रघुवीर महासेठ, विष्णु रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल, सुवास नेम्वाङ, केशव बडाल र पुष्पराज कँडेल छन् ।

अहिले साबिकको नेकपाको स्थायी कमिटीमा थिए र, पार्टी दुई समूहमा विभाजित हुँदा ओली समूहलाई साथ दिएका थिए । ‘यो तत्कालका व्यवस्था गरेका हौं । आवश्यकता अनुसार यसमा संख्या थप हुन पनि सक्नेछ’ पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भनेका छन् ।

नेपाल समूह आउट

एमाले अध्यक्ष ओलीले बनाएको स्थायी कमिटीमा पार्टीमा समानन्तर गतिविधि गर्दै आएको माधवकुमार नेपाल समूहलाई भने स्थान दिइएको छैन ।

नवौं महाधिवेशनबाट निर्वाचित एमालेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल वरिष्ठ नेता थिए भने युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल उपाध्यक्ष, घनश्याम भूसाल उपमहासचिव र गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराई सचिव थिए । सुरेन्द्र पाण्डे र बेदुराम भुसाल स्थायी कमिटी सदस्य थिए ।

अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा पनि पदेन स्थायी कमिटी सदस्य थिए । साबिकको नेकपामा रघुजी पन्त पनि स्थायी कमिटीमा थिए । तर, उनीहरु कसैलाई पनि स्थायी कमिटीमा राखिएको छैन ।

२३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो । २८ फागुनमा आफ्नो समूहका नेताहरुको बैठक राखेर अध्यक्ष ओलीले आफू र महासचिव ईश्वर पोखरेलबाहेक एमालेका पदाधिकारी हटाए भने स्थायी कमिटी खारेज गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति बनाएका थिए । तर अहिले आफ्नो समूहका नेताहरुलाई मात्र राखेर १९ सदस्यीय स्थायी कमिटी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment