 
																			१० वैशाख, काठमाडौं । ३ वैशाख २०७८ मा नर्वेका एक पर्वतारोही सगरमाथा आधार शिविरमा बिरामी परेपछि उनलाई उद्दार गरी काठमाडौं ल्याइयो ।
पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार उनमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
काठमाडौं ल्याएर परीक्षण गरी विभागले सम्बन्धित ट्राभल एजेन्सीबाट उनको रिपोर्ट मगायो । ‘रिपोर्टमा ‘निमोनिया’ भएको उल्लेख छ । कोभिडको लक्षण थियो, तर रिपोर्टमा निमोनिया मात्र भएको हामीलाई प्राप्त रिपोर्टमा उल्लेख छ,’ तामाङले अनलाइनखबरसँग भने ।
बीबीसी विश्व सेवाले भने सगरमाथामा कोरोना देखिएको र कोरोना लाग्ने नर्वेकै पर्वतारोही भएको उल्लेख गरेको छ । नर्वेका पर्वतारोही अर्लेन्ड नेस स्वयंले आफूलाई कोभिड भएको बीबीसीसँग दाबी गरेका छन् ।
पर्यटन विभागका महानिर्देशक तामाङले भने बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेको र आफूहरुलाई अस्पतालबाट आएको रिपोर्टले कोभिड संक्रमणको पुष्टि गर्न नसक्ने बताए । तामाङका अनुसार ती आरोहीसँग आएका गाइडलाई समेत कोरोना परीक्षण गराएको थियो र उनको रिपोर्ट नेगेटिभ आएको छ ।
जोखिमसँगै चुनौती पनि
अहिले फर्काइएका एक आरोहीमा कोरोना पुष्टि भए पनि नभएपनि सगरमाथामा जोखिम र चुनौती भने बढेको तामाङ स्वीकार गर्छन् । यो सिजन कम्तीमा १२ सय मानिस सगरमाथा आधार शिविरमा हुनेछन् ।
ती पर्वतारोही, गाइड, भरियादेखि सहयोगीसम्म रहेका छन् । त्यसमा सरकारले खटाउने सम्पर्क अधिकृतसम्म रहने छन् । ‘त्यहाँ कोरोना फैलियो भने थाम्न नसक्ने परिस्थिति आउने छ,’ उनले भने, ‘हामीले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेका छौं ।’
यसैसाता विभागले सगरमाथामा भिडभाड कम गर्न एक निर्देशन नै बनाएर सार्वजनिक गरेको थियो । जसअनुसार एक पटकमा बढीमा १ सय ७० जना मात्र आरोही आरोहण मार्गमा जान सक्नेछन् । आधार शिविरमा समेत छुट्टाछुट्टै समूहबीच सामाजिक दूरी कायम गर्न भनिएको छ । सन् २०१९ पछि अहिले पहिलो पटक आरोहण हुन लागेको हो ।
१५ जना हाइअल्टिच्यूड सिकनेसका कारण फर्किए
अहिलेसम्म सगरमाथा आधार शिविर पुगेका मध्ये १५ जना भने विभिन्न स्वास्थ्य समस्याका कारण काठमाडौं फर्किसकेका छन् । त्यसरी फर्कने मध्ये अधिकांशको समस्या उचाइसम्बन्धी रहेको तामाङले बताए ।
उनका अनुसार काठमाडौं आइसकेकाहरुलाई पुनः हिमालमा फर्कने पीसीआर नेगेटिभ हुनुपर्ने प्रावधान अनिवार्य गरिएको छ । एक हिमाल चढेर अर्को हिमालमा जान समेत यस्तो प्रावधान अनिवार्य गरिएको उनले जानकारी दिए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4