Comments Add Comment

ठूला शहरमा ‘अनावश्यक’ हिंडडुल रोक्ने सीसीएमसीको प्रस्ताव

११ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले कोरोनाभाइरस (कोभिड-१९) को बढ्दो संक्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको छ ।

शनिबार बालुवाटारमा भएको छलफलमा सीसीएमसीका अधिकारीहरुले ठूला शहरहरुमा बढ्दो संक्रमणको चेन ब्रेक गर्न नसके अवस्था भयावह हुनसक्ने बताएका छन् । सोमबार जारी भएको आदेश पूर्ण पालना नभएको भन्दै सीसीएमसीले अनावश्यक हिंडडुलमा रोक लगाउनुपर्ने प्रस्ताव गरेको छ ।

बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै लकडाउन गर्नुपर्छ भन्ने प्रस्ताव त आएको छैन । तर यसरी नै संक्रमण बढ्ने हो भने त्यो अवस्था पनि आउनसक्छ ।’

परीक्षाका नाममा विद्यालय तथा कलेजहरुमा भीडभाड भएको भन्दै त्यसमा पनि कडाइ गर्नुपर्ने सीसीसएमसीको प्रस्ताव छ ।

अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न नसकिने तर आवागमनलाई व्यवस्थित गर्नुपर्ने सीसीएमसीको जोड छ । नेपाली नागरिकहरुलाई चेकजाँच गरेर आउने दिने, विदेशी नागरिकहरुको हकमा भने तत्कालका लागि स्थलमार्गबाट आउन रोक्न सकिने सीसीएमसीका अधिकारीहरुले बताएका छन् । हवाईमार्गबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्ने सीसीएमसीको प्रस्ताव छ ।

सीसीएमसीको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले सरकारले जारी गरेको आदेश कडाइका साथ पालना गर्नुका साथै चेतनामूलक सन्देशहरु प्रवाह गर्नुपर्नेमा जोड दिए । होल्डिङ सेन्टरहरु सेनाले बनाउने र त्यो यसअघि भन्दा व्यवस्थित हुनुपर्नेमा उनले जोड दिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले यो छलफलका आधारमा सीसीएमसीबाट प्रस्ताव तयार परेर मन्त्रिपरिषदमा ल्याउन समेत निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment