Comments Add Comment

जलवायु संकट अब अमेरिकी विदेश र राष्ट्रिय सुरक्षा नीतिको केन्द्रमा

अमेरिकी राष्ट्रपति जो वाइडन

१२ वैशाख, काठमाडौं । जलवायु परिवर्तनको विषयलाई अमेरिकाले अब आफ्नो विदेश र सुरक्षा नीतिको केन्द्रीय विषय बनाउने भएको छ । जनवरी २० मा जो वाइडनले नयाँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेलगत्तै उनले यो विषयलाई प्राथमिकताका साथ उठाएका छन् ।

यसै सन्दर्भमा यही अप्रिल २२ र २३ गते वाइडनले ४० वटा मुलुकका सरकार र राष्ट्रप्रमुख सम्मिलित जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलनको आयोजना गरे । सम्मेलनको पूर्वसन्ध्यामा वाइडनका लागि जलवायु परिवर्तन सम्बन्धी विशेष दूत जोन केरीले विभिन्न मुलुकको भ्रमण गरेका थिए । अब अमेरिकाको हरेक द्विपक्षीय र बहुपक्षीय संवाद र सम्पर्कमा जलवायु परिवर्तनको विषयले उच्च प्राथमिकता पाउनेछ ।

यसै साता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्रिलंकेनले घोषणा गरेका छन्, ‘जलवायु संकटको विषयलाई हाम्रो विदेश र राष्ट्रिय सुरक्षा नीतिको केन्द्रमा राख्नेछौं ।’ उनले जलवायु परिवर्तन एउटा ‘व्यापारिक कार्ड नभई यो हाम्रो भविष्य भएको समेत उल्लेख गरेका छन् ।

राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेकै दिन वाइडनले जलवायु सम्बन्धी पेरिस सम्झौतामा जोडिने निर्णय गरेका थिए । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन सम्बन्धी सम्झौताबाट हात झिकेका थिए । तर बाइडेन आए लगत्तै जलवायु परिवर्तनको एजेण्डामा नेतृत्व लिएको छ ।

एमसीसीले अबको पाँच वर्षमा आफ्नो अनुदानको ५० प्रतिशतभन्दा बढी रकम जलवायु सम्बन्धी क्षेत्रमा लगानी गर्नेछ

जलवायु परिवर्तनलाई केन्द्रमा राखेसँगै अमेरिकाले विभिन्न विकासोन्मुख मुलुकलाई जलवायु परिवर्तन सम्बन्धी विभिन्न योजना कार्यान्वयन गर्नका लागि सहयोग गर्ने भएको छ । विशेषतः अमेरिकी सहयोग नियोग युएसएडले परियोजनाहरू संचालन गर्नका लागि सहजीकरण गर्नेछ । अमेरिकाले निजी क्षेत्र, नागरिक समाज र अन्य विभिन्न समुदायसँग काम गर्ने योजना समेत सार्वजनिक गरेको छ ।

अमेरिकाले भारत र बंगलादेशलाई नवीकरणीय ऊर्जाका विभिन्न क्षेत्रमा सहयोग गर्ने घोषणा केही हप्ता पहिले मात्र गरेको छ । जलवायु परिवर्तनको गम्भीर असरको सामना गरिरहेका तर स्रोत साधन र प्रविधी नभएका मुलुकहरुलाई आगामी दिन सहयोगको प्राथमिकतामा राखिने अमेरिकी विदेशमन्त्रीले घोषणा गरेका छन् ।

त्यसैगरी नियोग इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पाेरेसनले आफ्नो विकास रणनीतिमा जलवायु परिवर्तनको विषयलाई केन्द्रमा राख्ने घोषणा गरेको छ । मिलेनियम च्यालेन्ज कर्पाेरेसन(एमसीसी) ले पनि जलवायु परिवर्तनका एजेण्डाहरूलाई सम्बोधन गर्न काम गर्ने समेत अमेरिकी विदेश मन्त्रालयले उल्लेख गरेको छ । अब विशेषतः उसले स्मार्ट डेभलपमेन्ट र दीर्घकालीन पूर्वाधारमा लगानी गर्नेछ ।

एमसीसीले अबको पाँच वर्षमा आफ्नो अनुदानको ५० प्रतिशतभन्दा बढी रकम जलवायु सम्बन्धी क्षेत्रमा लगानी गर्नेछ । अब एमसीसीले न्यून कार्बन उत्सर्जन हुने विकासमा सहयोग गर्नेछ भने विभिन्न मुलुकलाई कोइला विस्थापन गरी स्वच्छ ऊर्जामा जानका लागि विभिन्न मुलुकलाई सहयोग गर्नेछ ।

नयाँ नीति अनुसार अमेरिकाले विकासोन्मुख मुलुकहरूका लागि जलवायु क्षेत्रमा काम गर्नका लागि दिंदै आएको सहयोग समेत बढाउने तयारी गरिरहेको छ । सन् २०२४ सम्म सार्वजनिक जलवायु वित्तलाई दोब्बर बनाउने उद्घोष गरेको छ । त्यसैगरी जलवायु अनुकूलन सम्बन्धी बजेटलाई तेब्बर बनाउने र यो प्राप्तिको लागि अमेरिकी कंग्रेससँग काम गर्ने अमेरिकी विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

जलवायु परिवर्तनको एजेण्डामा अमेरिकाले आफ्ना साझेदार मुलुकसँग नजिकको सहकार्य गर्ने नीति अगाडि सारेको छ । भारत र अमेरिकाको बीचमा यस अगाडि नै ‘क्लिन एजेण्डा २०३० पार्टनरसिप २०३०’ अन्तर्गत जलवायु एजेण्डामा काम गर्ने सहमति भइसकेको छ । सो साझेदारीको मुख्य एजेण्डा स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि मिलेर काम गर्नु हो ।

त्यसैगरी अमेरिकी विदेश मन्त्रालयले अमेरिका र देश बाहिर यातायात क्षेत्रमा व्यापक परिवर्तन गर्ने योजना अगाडि सारेको छ । यस अन्तर्गत विद्युतीय सवारीको प्रवर्द्धन केन्द्रमा रहेको छ । यसका लागि दुईपक्षीय, क्षेत्रीय र बहुपक्षीय निकायहरूसँग मिलेर काम गर्ने उल्लेख छ । अमेरिकाले अन्य विभिन्न क्षेत्रका नीतिलाई पनि अगाडि बढाउने तयारी गरिरहेको छ ।

अन्य विभिन्न विषयमा तीव्र मतभेद रहेका मुलुकहरूसँग पनि जलवायु संकटको विषयमा मिलेर काम गर्ने योजना अमेरिकाले अगाडि सारिरहेको छ । उदाहरणको लागि वाइडनले आयोजना गरेको शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ सहभागी थिए ।

अमेरिकाले जलवायु संकटलाई केन्द्रमा राखेपछि त्यसबाट नेपालले पर्याप्त फाइदा उठाउन सक्ने देखिन्छ । पहिलो त जलवायुको क्षेत्रमा अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको बजेटमा अब वृद्धि हुनेछ भने नेपालले सहयोगको आग्रह गर्दै कुनै योजना अगाडि बढाउन सक्छ ।

वाइडनले जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलनको आयोजना गरेकै दिन जलवायु परिवर्तन सम्बन्धी अमेरिकी राष्ट्रपतिका विशेष दूत जोन केरीले नेपालका वन तथा वातावरणमन्त्री प्रेम आलेसँग टेलिफोन कुराकानी गरेका थिए ।

अमेरिकाले यस अगाडि नै जलवायु संकटमा नेपालसँग मिलेर काम गर्न तयार रहेको बताइसकेको छ । जलवायु परिवर्तन सम्बन्धी आफ्नो नयाँ नीति कार्यान्वयन गर्नका लागि विश्वभर रहेका आफ्ना दूतावासले नेतृत्व लिने अमेरिकी विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment