Comments Add Comment

घरेलु मैदानमा उपाधि जित्दा खुसी लागेको छ : कुशल भुर्तेल

गोविन्दराज नेपाल

१२ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिज शुरु हुनु दुई दिन अघि नेपालले अन्तिम प्रशिक्षण सकाएपछि कुशल भुर्तेलले राष्ट्रिय टिममा खेल्ने इच्छा व्यक्त गरेका थिए ।

सन् २०१९ मै नेपालबाट एसीसी इमर्जिङ टिम्स कप खेल्दै लिस्ट ए मा डेब्यू गरेका उनी टी–२० अन्तर्राष्ट्रियमा भने डेब्यूको पर्खाइमा थिए । २०१९ डिसेम्बरमा नेपालमै भएको १३औं सागमा टिममा रहेपनि उनले खेल्ने अवसर पाएनन् । त्यसैले यस पटक १५ सदस्यीय अन्तिम टोलीमा परेका उनी घरेलु मैदानमा डेब्यूको अवसर हेरिरहेका थिए । शुरुमा उनीसँगै आसिफ शेखमध्ये एक जनाले कप्तान ज्ञानेन्द्र मल्लसँग ओपनिङ गर्ने योजना थियो ।

तर ४ वैशाखमा सिरिज हुने अघिल्लो दिन पूर्वकप्तान पारस खड्का चोटका कारण टिमबाट बाहिरिएपछि दुवैको भाग्य खुल्यो । कप्तान ज्ञानेन्द्र तेस्रो नम्बरमा सिफ्ट भए ।

कुशल भुर्तेल र आसिफ शेख दुवैले नेदरल्याण्ड्ससँग सिरिजको पहिलो खेल खेल्दै डेब्यू गरे । नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दा कुशलले सर्वाधिक ६२ रन बनाए । उनी सन्दीप जोरापछि टी–२० अन्तर्राष्ट्रिय डेब्यूमै अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । त्यही खेलमा आसिफले अविजित ५४ रन बनाए । पहिलो विकेटका लागि दुवैले ११६ रनको साझेदारी गरे ।

सिरिजको शुरुवातको कथा थियो यो ।

एक हप्तासम्म चलेको सिरिजमा नेपालले फाइनलमा शनिबार त्यही नेदरल्याण्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जित्यो । नेपालले अहिलेसम्मकै उच्च स्कोर २३८ रन बनाउँदा उनै कुशलले सर्वाधिक ७७ रन बनाए । जुन उनले एकै सिरिजमा प्रहार गरेको चौथो अर्धशतक थियो । उनी लिग चरणमा मलेसियाविरुद्धको एक खेलमा मात्र अर्धशतकबाट चुके ।

त्यसअघि उनले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान नै बनाए । सिरिजभर ५ खेलमा उनले चार अर्धशतकसहित सर्वाधिक २७८ रन बनाए ।

नेदरल्याण्ड्स जस्तो टिमलाई एकै सिरिजमा दुई पटक पराजित गर्दै नेपालले उपाधि जित्दा उनै कुशल म्यान अफ दी सिरिज बने । जसवापत् उनले बजाज पल्सर एनएस–२०० मोटरसाइकल पुरस्कार प्राप्त गरे ।

खेलपछि सञ्चारकर्मीसँग बोल्दै घरेलु मैदानमा पहिलो टी–२० सिरिज उपाधि जित्दा कुशलले खुसी व्यक्त गरे । ‘निश्चय पनि राम्रो लागिरहेछ । मेरो प्रदर्शन राम्रो भयो । धेरैपछि होममा सिरिज (ट्रफी) जित्यौं,  खुसी छौं,’ २४ वर्षीय भुर्तेलले भने, ‘यसैका लागि हामीले धेरै अघि देखि योजना बनाएका थियौं । विश्वकप छनोट आउँदैछ । हाम्रो खेल राम्रो भयो । त्यसमा हाम्रो शुरुवात भयो ।’

नेपालले यसअघि सन् २०१० मा नेपालमै भएको डिभिजन ५ को उपाधि जितेको थियो । त्यो ५० ओभरको थियो । घरेलु मैदानमा नेपालले पहिलो पटक त्रिकोणात्मक सिरिज खेलेको हो र पहिलो पटकमै उपाधि जित्यो । नेपालले यसअघि दुई देश सहभागी दुईवटा टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेको थियो । तर तीन देश सहभागी भएर फाइनल खेल्दै उपाधि जितेको यो पहिलो पटक हो ।  नेपालले अब २०२२ को शुरुमा टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्नेछ ।

भुर्तेलले यसअघि पनि नेपालको लागि खेलिसकेका थिए । तर आईसीसीबाट मान्यता प्राप्त टी–२० पहिलो पटक खेलेका हुन् । तैपनि उनलाई डेब्यू जस्तो कुनै फिल भएन । त्यसैले घरेलु मैदानमा मज्जाले खेले । उनको ब्याट गज्जबसँग चल्यो ।

‘पहिला पनि इमर्जिङ टिम्स कपमा खेलिसकेको थिएँ । डेब्यू भनेर त्यस्तो केही थिएन । राम्रो क्रिकेट खेल्नुपर्ने थियो । मलाई विश्वास गरेकोमा टोली  प्रशिक्षकलाई धन्यवाद,’ उनले टिमतर्फ इशारा गर्दै भने,’ ‘खेल पनि राम्रो भइहाल्यो । प्रदर्शन पनि गरिहालें । खुसी लागेको छ ।’

सन् २०१९ मा ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले इमर्जिङ टिम्स कप खेल्दा कुशलले ज्ञानेन्द्रसँगै ओपनिङ गरिसकेका थिए । उनले भारतको इमर्जिङ टिमसँग खेल्दै लिस्ट एमा डेब्यू गरेका थिए । त्यसपछि हङकङ र बंगलादेशको इमर्जिङ टिमसँग खेलेका थिए । ज्ञानेन्द्रसँग ओपनिङ गर्दा उनले ६० बल खेल्दै ४ चौका मद्दतमा २८ रन बनाएका थिए । त्यसपछि हङकङविरुद्ध १ रनमा आउट भएका उनले बंगलादेशविरुद्ध १० रन जोडेका थिए ।

त्यसपछि नेपालको सिनियर टिमका लागि उनले यही सिरिजमा खेलेका हुन् ।

कुशलले फाइनलमा विपक्षीले योजना बनाएपनि आफ्नो खेल खेलेको बताए । ‘योजना सबैको लागि बनाए होलान् । मेरो काम शुरुवात राम्रो गर्ने हो । मैले शुरुवात दिन सकेपछि फिनिसरहरु थियो राम्रो गर्छन् भन्ने थाहा थियो । दीपेन्द्र र कुशलले राम्रो फिनिस गरे,’ उनले थपे ।

भुर्तेलको ७७ रन अनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको आक्रमक ब्याटिङमा नेपालले ३ विकेट मात्र गुमाएर २३८ रन बनाएको थियो । कुशल मल्लले आफ्नो पहिलो टी–२० अर्धशतक समेत बनाए ।

नेपाललाई च्याम्पियन बनाउन ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका भुर्तेलले ६९.५० को औसतमा २७८ रन बनाए । उनको स्ट्राइक रेट १४०.४० थियो । उनले २४ चौका र १६ छक्का प्रहार गरे भने फिल्डिङ समेत उत्कृष्ट गर्दै ४ क्याच लिए ।

नेदरल्यान्ड्सविरुद्ध डेब्यू गर्दै ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियासँग अविजित ६१ रन बनाए । त्यसपछि नेदरल्याण्ड्ससँग फेरि ६२ रन बनाएका उनी अर्को खेलमा मलेसियासँग १६ रनमा आउट भए । फाइनलमा भने उनले आफ्नो व्यक्तिगत उच्च स्कोर बनाए ।

एउटै सिरिजमा चार अर्धशतक बनाउने नेपाली खेलाडी बनेका भुर्तेलले एकै सिरिजमा धेरै रन बनाउने नेपाली खेलाडीको कीर्तिमानसमेत बनाए । यसअघि २०१९ मा भएको १३औं सागमा कप्तान ज्ञानेन्द्रले ३ खेलमा १४८ रन बनाएका थिए । यस्तै उनले टी–२० मा नेपालका लागि सर्वाधिक ४ अर्धशतक बनाउने पारस खड्काको कीर्तिमानीसँग बराबरी गरे । पारसले १ शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।

यसैगरी डेब्यू सिरिजमै म्यान अफ दी सिरिज हुने भुर्तेल दोस्रो खेलाडी बने । यसअघि सन् २०१९ मा युएई विरुद्धको टी–२० सिरिजमा डेब्यू गर्दै बलर अविनाश बोहरा म्यान अफ दी सिरिज बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment