Comments Add Comment

नेपालगञ्‍ज मेडिकल कलेजमा जे देखियो

‘मेरो बेड नजिकै अर्को संक्रमितको मृत्यु भयो, म त्यहाँ बस्न सक्दिनँ’

१४ वैशाख, नेपालगञ्ज । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको आकस्मिक कक्षका बेड कोरोना संक्रमितले भरिभराउ छन् । अक्सिजनको सपोर्टमा छटपटाइरहेका शरीरहरुले असह्य पीडा व्यक्त गरिरहेका छन् ।

‘यहाँ यसरी भर्ना भएकाहरुको पीसीआर रिपोर्ट आउन बाँकी छ’ बिरामीको चापका बीच आकस्मिक विभागमा खटिएका डा. देवेन्द्र आचार्यले भने, ‘सबैलाई कोरोना संक्रमण भएको चाहिं निश्चित हो ।’

डा. आचार्यको मोबाइल तारन्तार बजिरहेको थियो । घरीघरी फोन रिसिभ गरेर उनी भन्थे, ‘एउटै आईसीयू बेड खाली छैन । अक्सिजन नभई नहुने हो भने ल्याउनुस्, कतै मिलाउन सकिन्छ कि !’

आकस्मिक विभागमा सबतिर बेहाल छ । ‘अस्पताल बाहिरै मर्न दिनुभन्दा यहाँ ल्याएर अक्सिजन मात्रै दिन सक्दा पनि अलिकति मन अडिन्छ’ डा. आचार्यले भने, ‘तर त्यति गर्न पनि नसकिने अवस्था आइसक्यो ।’

नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमितका लागि ६० बेड एचडीयू छुट्याइएको छ । ती बेड वैशाख १ यता कहिल्यै खाली छैनन् । १४२ जना कोरोनाका बिरामी राख्ने क्षमता भएको भेरी अस्पतालले २०६ जनाभन्दा बढी संक्रमितको उपचार गरिरहेको छ ।

दुई अस्पतालका बेड सिकिस्त संक्रमितले भरिंदा सास फेर्न गाह्रो  भएका संक्रमितहरु बेड पाउने आशमा छटपटाइरहेका छन् । ‘यो अवस्था आउँछ भनेर कसैले कल्पना गरेको थिएन,’ डा. आचार्य भन्छन्, ‘अब त हात उठाउने बेला भइसक्यो ।’

हामी आकस्मिक कक्षबाट आईसीयू कक्षमा छिर्याैं । आईसीयूका सबै बेड भरिभराउ छन् । मनिटरहरुको आवाजले त्यहाँको अवस्था दर्साइरहेको थियो । त्यही बेला एक संक्रमित नर्सिङ स्टेशन छेउमा आएर टुसुक्क बसे । नर्सले ‘आफनो बेडमा जानुस्’ भनेपछि उनी बोले, ‘मेरो छेउको बेडका बिरामी बित्नुभयो, म त्यहाँ बस्न सक्दिनँ ।’

नर्सले शव व्यवस्थापन टोली आउनै लागेको भन्दै ती बिरामीलाई सम्झाइन् ।

०००

हामी आईसीयूबाट निस्कँदै गर्दा संक्रमित बोकेको एम्बुलेन्स ढोकैमा आइपुग्यो । अक्सिजनको सपोर्टमा रहेका बिरामी सिकिस्त थिए । उनलाई राख्न भर्खरै मृत्यु भएका संक्रमितको शव निकाल्ने तयारी थालियो । शव व्यवस्थापन टोलीले करीब ४० मिनेटमा शव आईसीयू बाहिर ल्याएर राख्यो ।

अस्पतालको टोलीले बेड ‘डिसइन्फेक्ट’ गरेपछि नयाँ संक्रमितलाई भित्र लगियो । अर्को ४० मिनेटमा सेनाको टोली आइपुग्यो । शवलाई सलामी दिएर एम्बुलेन्समा हाल्यो ।

मेडिकल कलेजका एसिटेन्ट प्रोफेसर डा. श्याम विक सिकिस्त संक्रमितले पनि बेड नपाउने अवस्थाले स्वास्थ्यकर्मीलाई नै विचलित पार्न थालेको बताउँछन् । ‘हरेक दिन संक्रमितहरु छटपटाउँदै मरिरहँदा लाचार भएर हेर्नुपर्ने बाध्यता छ । आईसीयूभित्रको चीत्कार सुन्दासुन्दा हामी विक्षिप्त भइसक्यौं’ उनले भने, ‘यसरी कतिञ्जेल सक्ने हो ?’

बेड नपाउने संक्रमितको संख्या बढ्दै जाँदा आइलाग्ने परिणाम सम्झिंदा आङजिरिङ्ग हुने गरेको डा. आचार्यले बताए । उनी भन्छन्, ‘यही पारा हो भने हामी कसैलाई बचाउन सक्दैनौं भनेर हात उठाएर माफी माग्नुपर्ने दिन आउँछ ।’

नेपालगञ्जमा वैशाख ३ यता यस्तो अवस्था आएको भेरी अस्पतालका कोभिड फोकल पर्सन डा. दिनेश श्रेष्ठ बताउँछन् । ‘अकस्मात् यसरी केस बढ्न थाल्यो कि पूर्वाधार र जनशक्तिले धान्न सक्दैन’, उनले भने ।

उनका अनुसार डायलासिस र आमा सुरक्षा कार्यक्रमका बिरामीहरु रहेकाले कोभिडको लागि बेड बढाउन सक्ने अवस्था छैन । यी सेवा अन्य अस्पतालले दिने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहयोग गरे ५०० जना संक्रमितको उपचार गर्न सक्ने बताउँदै कोभिड फोकल पर्सन डा. श्रेष्ठले भने, ‘महामारीविरुद्ध लड्न हामीलाई सरकारकै सहयोग आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment