Comments Add Comment

अस्ताए सन्त कुमार !

वार्सिलोना। डेनमार्कमा उनको बसाइ भएपनि युरोपभर परिचित नाम हो सन्त कुमार थापा मगर। युरोपका देशहरुमा पुगेर उनले नृत्य नगरेको सायदै होला। श्रीमती मलिका प्रधानसँगै युगल नृत्य युरोपको नेपाली समुदायले असाध्यै रुचाएको जोडी हो । तर, ४१ वर्षको उमेरमा नै उनै सन्त कुमार सधैँका लागि अस्ताएका छन्।

आइतबार विहानै मगरको निधनबारेको खबर सामाजिक सञ्जालमा फैलिएको थियो। उनको असमायिक निधनको खबरले युरोपको नेपाली समुदाय नै शोकमग्न बन्‍न पुग्‍यो । सामाजिक सञ्जालमा धेरैले उनको मृत्युमा दु:ख व्यक्त गरे।

उनी निकटवर्तीका अनुसार गत वर्ष नै उनलाई ब्लड क्यान्सर भएको पत्ता लागेको थियो। केही नजिकका साथीहरुलाई उनले भावुक हुँदै सम्पर्क पनि गरेका थिए। डेनमार्कको सबैभन्दा ठूला अस्पतालहरूमध्येको एक तथा कोपनहेगनको सबैभन्दा उच्च विशेषज्ञ अस्पताल ठानिएको रिग्स हस्पिटालेतमा उनको उपाचार भइरहेको थियो।

आइतबार एक्कासी निधनको खबरले डेनमार्कको नेपाली समुदाय मात्र हैन युरोपमा बसोबास गर्ने आम नेपाली समुदाय नै झस्कियो ।

काठमाडौँको मच्छेगउँमा जन्मिएका उनी विगत एक दशकदेखि श्रीमती र एक छोरीका साथ डेनमार्कको होयेटासटुरपमा बस्दै आएका थिए। कोरियोग्राफरमा नै सुन्दर भविष्य देखेका सन्त कुमार युरोप आएपछि पनि कलाकारिता क्षेत्रमा नै सक्रिय भए। उनी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )डेनमार्कका संस्थापक अध्यक्ष हुँदै युरोपका संयोजक बने। त्‍यससँगै इनास नृत्य प्रवर्द्धन समितिका ग्लोबल संयोजक समेत बनेर काम गरे उनले।

नेपाली चलचित्र ‘कपुरी क’ मा उनको कोरियोग्राफ्री रहेको छ। साथै विभिन्न म्युजिक भिडियोहरुमा मगरले अभिनय, निर्देशन र कोरियोग्राफ्री गरेका छन् । विदेशमा आयोजना हुने नृत्य प्रतियोगिताहरुमा उनी ने प्राय: निर्णायकको भूमिकामा देखिन्थे। ईनासको स्थापनाकालदेखि हालसम्म हुँदै आएका ग्लोबल तथा क्षेत्रीय स्तरका कार्यक्रमहरु सम्पन्न गर्न उनको महत्वपूर्ण योगदान रहेको छ।

मगरको निधनमा समवेदना व्‍यक्त

यस्तै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिका अध्यक्ष कमला दाहालले समवेदना प्रकट गरेकी छिन्। ‘उहाँको असामयिक निधनले कला क्षेत्र र इनासलाई अपूरणीय क्षति पुग्नुका साथै यस संस्थाले एक कर्तव्यनिष्ठ, प्रतिवद्ध, संस्थाप्रति समर्पित एक असल मित्र गुमाएको छ। नेपाली कला क्षेत्र प्रतिको कार्यमा यहाँको निष्ठा,अतुलनीय योगदान सदैव उच्च बनेर मन मुटु र इनासका अनन्त जीवनकालसम्म अजर अमर बनेर रहिरहनेछन्।’

यस्तै इनास ग्लोबल समितिका संस्थापक अध्यक्ष पुष्प बरुवालले दुखद र अकल्पनीय क्षण भएको बताएका छन्। ‘वास्तवमै शून्यता महसुस। आफ्नै मुटुको धड्कन रोकिएको अनुभूति। खै कसरि विश्वास गरौं यो वास्तविकता ? तपाई हाम्रो मनमा हुनुहुन्छ। हाम्रो स्मृतिमा अमिट हुनुहुन्छ। मेरो प्यारो सन्त भाइ, तपाईको स्वर्गवास होस्।प्रिय मलिका बहिनी लगायत परिवारजनमा धैर्य धारण गर्ने क्षमता मिलोस।’ उनले लेखेका छन्।

यस्तै एनआरएन डेनमार्कका अध्यक्ष रविन्द्र खड्काले कला -सॉस्कृतिक क्षेत्रको धरोहरलाई गुमाउदा डेनमार्कको नेपाली समुदायलाई स्तब्ध तुल्याएको बताएका छन्।’उहॉको जीवनको असामयिक अवसानले हामी सबैलाई स्तब्ध तुल्याएको छ।साथै नेपाली कला र संस्कृतिको फॉटमा अपुरणीय क्षति पुगेको छ।’

इनास युरोप उपसंयोजक प्रकाश तिवारीले दुख ब्यक्त आफ्ना सहयात्रीको सम्झना गरेका छन्। ‘हजुरलाई अचानक रोग लाग्यो उति बेलै डर लागेको थियो तर पनि आशा थियो उपचारको प्रक्रिया लामो नै भए पनि बिस्तारै ठिक हुनेछ। हामी पुनः भेट्नेछौं र भावी योजनाका बारेमा पनि छलफल गर्नेछौं । तर सहकार्य र संगत यति नै लेखेको रहेछ। हार्दिक श्रद्धाञ्जली ! ‘

स्वर्गीय मगरको शवलाई अत्येष्टिका लागि नेपाल लैजाने तयारी थालिएको उनी निकटवर्तीले अनलाईनखबरलाई बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment