Comments Add Comment

पीपीईमा १६ घण्टासम्म बाफिन्छन् स्वास्थ्यकर्मी

डा. विनोद प्याकुरेल

१४ वैशाख, काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डा. विनोद प्याकुरेलको हात्केला चाउरी परेको र पटपटी फुटेको जस्तो देखिन्छ ।

उनले हत्केला प्रयोग हुने कुनै शारीरिक परिश्रम गरेर हातको स्वरुप बिग्रेको होइन, दैनिक १६ घण्टाभन्दा बढी समय पञ्जा (ग्लोब्स) लगाउँदा हात यस्तो भएको हो । लगातार पञ्जा लगाउँदा हात बाफिएको उनी बताउँछन् ।

डा. प्याकुरेलको हातमात्रै होइन फेस सिल्डका कारण अनुहार अगाडिको भाग र पीपीईका कारण शरीरका अन्य भागमा समेत यस्तो असर देखिएको छ ।

लगातार सात दिनसम्म उनी दैनिक १६ घण्टाभन्दा बढी खटिए । भोक, प्यास, निद्रा नभनी संक्रमितको उपचारमा खटिँदा अहिले उनी आफैं संक्रमित पनि भएका छन् । मंगलबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएका उनी काम गर्दा गर्दै आफू कतिखेर संक्रमित भएँ भन्ने कुरा अनुमान गर्न सक्दैनन् । होम आइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्था सामान्य छ ।

अस्पतालले सात/सात दिनको पालो लगाएर चिकित्सकलाई संक्रमितको उपचारमा खटाउने गरेको छ । डा. प्याकुरेल कोभिड आइसोलेसन वार्डमा खटिँदा पाँच जनामात्रै संक्रमित उपचाररत थिए । तर तीन/चार दिनमै संक्रमितले सबै कोभिड वार्ड भरिएपछि भने उपचारमा कठिन बन्दै गएको उनी सम्झन्छन् ।

‘अस्पतालमा बिरामीको चाप बढ्दै गयो । आईसीयू र भेन्टिलेटरबाहेक आइसोलेसन बेडमा बसेका अधिकांश बिरामीलाई पनि अक्सिजन दिनुपर्थ्यो,’ उनले भने, ‘गम्भीर प्रकृतिका बिरामीले कोभिड वार्ड भरिएपछि जनशक्तिले पनि थेग्न सकेन । ग्लोब्स, पीपीई, फेससिल्ड लगाएर घण्टौंसम्म विरामीको उपचारमा खटिनु पर्ने अवस्था आयो ।’

बेडमा छट्पटाइरहेका विरामीको चित्कार र पीडामा मलम लगाउन यताउता दौडँदा दौडँदै समय बितेको पत्तो नभएको डा. प्याकुरेल बताउँछन् ।

आफू आइसोलेनमा हुँदा पनि उनको मन भने अस्पतालका बिरामीतिरै छ । सास फेर्न गाह्रो भयो भन्दै बेडमा बिरामी छट्पटाउँदा लाचार भएर हेरिरहनुपरेको तस्तो सम्झनाले अहिले पनि उनलाई पिरोल्छ ।

‘अस्पताल आइपुगेका बिरामीलाई बचाउन चिकित्सकले हरसम्भव प्रयास गर्छ,’ उनी भन्छन्, ‘प्रयास गर्दा गर्दै पनि आफ्नै आँखा अगाडि भर्खरका युवाहरुले मृत्युवरण गर्दा भने साह्रै पीडा हुने रहेछ ।’

एकसातामा आफू उपचारमा खटिएकै बेला सात जनालाई बचाउन नसकेकामा उनी दुखी छन् । ज्यान गुमाउने तिनीहरु अधिकांश युवा नै थिए ।

एक जना २८ वर्षीय युवकलाई सास फेर्न गाह्रो भएपछि साँझपख अस्पताल ल्याइएको थियो । तत्काल आईसीयूमा राखेर उपचार गराउनुपर्ने अवस्था थियो । तर आईसीयू र भेन्टिलेटर उनीजस्तै गम्भीर बिरामीले भरिएको थियो ।

त्यसैले उनलाई आइसोलेसन वार्डमा राखेर अक्सिजन दिइयो । भोलिपल्ट बिहान एकजना बिरामीलाई आईसीयूबाट निकालेर उनलाई त्यहाँ सारियो । तर उनको स्वास्थ्यमा सुधार आउन सकेन । ‘एक्कासी उनी सास फेर्न गाह्रो भयो भन्दै छटपटाए,’ उनले स्मरण गरे, ‘अन्ततः उनलाई कोरोनाले यो संसारबाट सधैंका लागि लिएर गयो । हामी निरीह भयौं ।’

ती युवकको अनुहार अहिले पनि डा. प्याकुरेलको आँखामा झलझली आउँछ । ‘सुरुमै आईसीयूमा राखेर उपचार गराउन सकेको भए उनी बाँच्थे कि ?’ उनी अनुमान गर्छन् ।

यस्ता उदाहरण उनीसँग अरु पनि छ । सास फेर्न नसकेर छट्पटाइरहेका एकजना बिरामीलाई आइसोलेसन वार्डबाट सारेर भेन्टिलेटरसम्म प्याकुरेलले नै पुर्‍याए । पछि ती बिरामीको पनि मृत्यु भयो । ‘आँखै अगाडि बोल्दै गरेका बिरामी मर्दा निकै पीडा हुँदो रहेछ’ उनी भन्छन् ।

उपचाररत संक्रमितको मृत्यु हुँदा अन्य बिरामीमा पनि त्रास देखिने डा. प्याकुरेल बताउँछन् । ‘संक्रमितको मृत्यु हुँदा अरु बिरामीले ओढ्नेले अनुहार छोपेर बसेको देखेर साह्रै पीडा हुन्छ,’ उनी भन्छन्, ‘सायद बिरामीहरुमा मर्ने पालो मेरो हो कि भन्ने मनोवैज्ञानिक त्रास जस्तो देखिन्छ ।’

‘बेडमा कोही छटपटाइरहेका हुन्छन् । कोही कराइरहेका हुन्छन् । सास फेर्न गाह्रो भयो भनेर हामीलाई बोलाइरहेका हुन्छन्,’ डा. प्याकुरेल स्मरण गर्छन्, ‘थोरैलाई बचाउन नसकिए पनि धेरैको जीवन बचाएर घर फर्काउन पाउनुलाई नै आत्मसन्तुष्टि ठान्दछौं ।’

उच्च मनोबलका साथ होम आइसोलेसनमा बसेका उनी छिट्टै संक्रमणमुक्त भएर उपचारमा खटिने बताउँछन् । कोरोना केही होइन भन्ने सोच त्याग्न उनी सबैसँग अपील गर्छन् ।

एकसातामा आफ्नै आँखाको अगाडि कोरोनाले सात जनाले ज्यान गुमाउनु परेको दृश्य मानसपटलमा अझै ताजै रहेको भन्दै उनले अनुशासित भएर स्वास्थ्य मापदण्ड पालन गर्न सबैसँग आग्रह गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment