 
																			‘चिने, चिनेजस्तो लाग्यो नि सर ! नमस्कार ?’
अस्ति, अचानक गोङ्गबु चोकनिर एकजना हट्टाकट्टा र खाइलाग्दो नौजवानले पूर्वपरिचयको मुद्रामा अभिवादन गर्दा आश्चर्यचकित भएथें । मेरा हातहरू नमस्कारका निमित्त जोडिनु स्वभाविक थियो, जोडिए ।
मेरो स्मरणमा भने उनीसँग पूर्वपरिचयको कुनै रेकर्ड भएजस्तो पटक्कै लागेन । तैपनि औपचारिकतावश विनम्रतापूर्वक नमस्कार फर्काउँदै मतिर तेर्सिएका तन्नेरी युवकका बलिष्ठ हथेलीहरू सादर समातें ।
उनको आकस्मिक र हार्दिकतायुक्त अभिवादनले मलाई निकै अप्ठ्यारोमा पारिदियो । सञ्चो–विसञ्चो र कामधन्दाको बारेमा सोधूँ भने उनीसँग मेरो चिनाजानी नै थिएन । उनले त्यतिविघ्न हार्दिकता देखाइसकेपछि ‘मैले त चिनिनँ’ भन्न पनि मनले मानेन । मेरो मनले स्वभावतः अलिकता सङ्कोच मान्यो ।
पूर्वपरिचय नभएकै भए पनि त्यस्तो व्यवहार देखाउनु अशिष्टता र असभ्यता होजस्तो लाग्यो । मनमा अनेकथरी शंका उपशंकाहरू सलबलाउन थाले ।
‘पहिले नै कहीँ–कतै चिनजान र परिचय भैसकेको रहेछ भने ? अथवा कोही मेरा नाता, कुटुम्ब, आफन्त नै पो हुन् कि ?वा कोही त्यस्तै बिर्सनै नमिल्ने महत्वपूर्ण व्यक्तित्व नै पो रहेछन् भने ?’
उनले के ठान्लान् भनेर मेरो मन थर्हरी भयो । हजार कोसिस गर्दा पनि मैले उनको परिचय खुट्ट्याउन, ठम्याउन सकिनँ । मलाई साह्रै अप्ठ्यारो महसुस भयो । हात मिलाउन्ज्यालको निमेषभरको छोटो समय मेरा लागि पट्यारलाग्दो एक युगसमान लामो लाग्यो । औपचारिक भलाकुसारीका बोलीहरू कण्ठबाट जबर्जस्ती निकालुँ भने मान्छे चिनिएकै छैन । नबोलुँ भने उनले के सोच्लान् भनेर मनमा जौ–तिल पाक्न थाले । चिनेर पनि नचिनेजस्तो गर्ने ‘ठूलो भएको’ भन्लान्, घमण्डी ठान्लान्, अशिष्ट र असभ्य कोर्काली ठान्लान् । मेरो सोच, स्वभाव र आनीबानीप्रति नकारात्मक धारणा बनाउलान् जस्तो लाग्यो ।
मेरो अप्ठेरो र असमञ्जसको आभास उनलाई पनि भएछ क्यारे सायद, उनले परिस्थितिलाई सहज बनाउँदै कुराको थालनी गरे–
‘म, झण्डै दुई वर्षजति म्याग्दीमा बिताएर भर्खर यता सरुवा भै आएको हुँ ।’
झण्डै तीनवर्ष भन्दा अलिबढी नै भैसक्यो मैले म्याग्दी छोडेको । उनको म्याग्दी बसाइको अवधिभर म त्यहाँ थिइनँ । त्यसैले उनले मलाई चिन्ने प्रश्नै उठ्दैनथ्यो । चिन्नमा उनैले भूल गरे होलान् जस्तो लाग्यो र मन अलिकता हलुङ्गो भयो । अलिकता हौसिँदै मैले स्पष्टीकरण दिएँ-
‘होइन, तपाईंलाई अलिकता भ्रम पर्यो क्या रे ! विगत तीनवर्षदेखि म त निरन्तर यतै छु । म असमयमै अलि बढ्तै बूढो देखिन थालेको मान्छे हुँ । मसँग दुरुस्त कदकाँठी र अनुहार मिल्ने मेरा सहोदर दाजु म्याग्दीमै हुनुहुन्छ । दाइसँग भेटघाट, चिनापर्ची भयो होला । झुक्किनु भो क्यारे, सायद हजुर ?’
दाइ र ममा फरक छुट्टयाउन नसकेर मानिसहरू अलमलिएका अनेक घटनाहरूको सम्झना आयो ।
‘होइन, होइन, यहाँलाई म राम्ररी चिन्दछु’, उनले निर्धक्कसँग भने ।
मलाई अचम्म लाग्यो । म झन् अप्ठ्यारोमा परेँ । एक दुईपटक भेटघाट, भलाकुसारी भएको मान्छेको नाम मात्रै होइन अनुहारैसमेत भुसुक्क बिर्सने बानी छ मेरो । अब त म आफू नै पक्का अपराधी भएजस्तो महसुस हुन थाल्यो । आफ्नो असमयमै बूढो भएको स्मरणशक्तिप्रति रिस उठ्यो । झोँक चल्यो । निरीहता र हीनताबोधको महसूस भयो । हो न हो, पक्कै उनीसँग मेरो पूर्वपरिचय भएकै हुनुपर्छ र आदतन मेरो स्मृतिपटलमा उनको चित्र मेटिएको होला भन्ने विश्वास भो । मेरै स्मरणशक्तिले पक्कै धोका दिएकै होभन्ने भयो ।
आफू विस्मृतिको दीर्घ रोगी भएकोले यस्तो दुर्घटना सधैं हुने कुराको स्पष्टीकरण दिनुपर्ने, क्षमा माग्नुपर्ने र परिचयको पुनः नवीकरण गर्नुपर्ने भो भनेर लाचारी व्यक्त गर्नुभन्दा अरु कुनै उपाय बाँकी थिएन अब मसँग ।
‘होइन, तपाईसँग यसभन्दा अगाडि प्रत्यक्ष देखभेट भएको त थिएन तैपनि तपाईंलाई मैले राम्रोसँग चिन्दछु । तपाईंको फोटो देखेको छु, हेरेको छु’, उनले थपे ।
उनको पछिल्लो भनाइले मलाई झन् जिल्यायो । सार्वजनिक रूपमा फोटो प्रचार हुने राजनेता, अभिनेता वा प्रतिष्ठित कवि, साहित्यकार वा कलाकार पनि म थिइनँ । कसैले पनि एक दुईपटक फोटो हेरे, देखेकै भरमा पूर्वपरिचय र प्रत्यक्ष भेटघाट नभएको मान्छेलाई सदाकाल सम्झनसक्ने कुरै होइन । उनको कुराले मलाई अझ अप्ठ्यारोमा पारिदियो ।
तर प्रसङ्ग यसरी स्पष्ट भो, ती भाइ प्रहरी सेवामा सङ्लग्न रहेछन् । ६० सालको चैत्रमा भएको माओवादीको चर्चित बेनी आक्रमणपछि उनको त्यता स्थानान्तरण भएको रहेछ । माओवादीद्वारा प्रहरी कार्यालय जलाइएर ध्वस्त हुँदा पनि संयोगवश एउटा फाइल सुरक्षित बचेको रहेछ । ‘आतंककारीहरू सम्बन्धी’ त्यो फाइलमा दुई चारवटा भिन्न–भिन्न पोजको फोटोसहित मेरो जन्मकुण्डली (रेकर्ड) सुरक्षित रहेछ । छातीमा कालोपाटी राखेर चकले नामाङ्कित गरेको फोटो १, क्याम्पस हातामा आयोजित अखिल क्रान्तिकारी विद्यार्थी भेलामा सहभागी बन्दाको पुलिसले नै लिएको समूह फोटो–१, हतकडीसहित पुलिस घेराबन्दीमा कारागार चलान गर्दाको फोटा १, आदि इत्यादि…!
हो, साँच्चै नै ती प्रहरी सहायक निरीक्षकले फोटो हेरेको भरमा मलाई एकदम राम्रोसँग चिनेका रहेछन् । खुट्याएका रहेछन् ! एउटा खुङ्खार आतङ्ककारीको रुपमा उनको मानसपटलमा मेरो चित्र आजन्म नमेटिनेगरी कोरिएको रहेछ ।
बदलिएको परिस्थितिमा उनको स्मरणशक्तिले बिल्कुल धोका नदिएकै रहेछ ! वास्तवमा उनले मलाई एउटा बिर्सनै नहुने विशेष चरित्रको रुपमा चिनेका रहेछन् । उनका दृष्टिमा म यौटा असामाजिक चरित्र भएको मान्छे ठहरिएको रहेछु । भावनाले समाजको क्रान्तिकारी रुपान्तरणको पक्षधर भए पनि म व्यवहारमा हिंसादेखि तीनकोस परभाग्ने प्रकृतिको मान्छे हुँ ।
उमेरले साठीको दशकको उत्तरार्ध टेकिसक्दासम्मको सिंगो आयुभर हिन्दू देवी–देवताका नाममा मैले एउटामात्रै पनि पशुबली चढाएको छैन । मेरो घर आँगनमा दसैं (अष्टमी–नवमी) मा समेत आजसम्म एउटा खसी काटिएको थिएन । होश सम्हालेदेखि यो उध्यौली लागेको उमेरसम्म एकै जनासँग पनि ‘हात मिसामिस’मात्रै होइन ‘तँ–तँ, म–म’ स्तरको झै–झगडा भएको सम्झना छैन । तर पुलिसको रेकर्डमा भने म ‘ह्रिंसक आतंकवादी’ को रुपमा दर्ता भएको रहेछु ! र ती मेरा लागि अनजान प्रहरी भाइले मलाई त्यसरी नै चिनेका रहेछन् !
नेकपा माओवादी र सरकारकाबीच शान्ति सम्झौता सम्पन्न भैसकेको छ । नेताहरूका नाममा जारी गरिएका ‘रेड कर्नर नोटिसहरू’ खारेज भैसकेका छन् । टाउकोको मूल्य तोकिएको सार्वजनिक सूचनाहरू पनि निष्क्रिय भैसकेका छन् ।
अमेरिकाबाहेक अरू सबै शक्तिराष्ट्रहरूको आतङ्ककारी सूचीबाट नेकपा माओवादीको नाम हटिसकेको छ, हटाइसकिएको छ । हिजो भूमिगत कालमा सार्वजनिक रुपमा चिनिएका नचिनिएका सबै नेता कार्यकर्ताहरू लगभग सार्वजनिक भैसकेका छन् । हिजो ५०-२५ लाखसम्मको पुरस्कार पाउने लोभमा फेलापारेका भए टाउको गिँड्न तम्सनेहरू आज उनीहरूलाई बुट बजारेर सलाम ठोक्न विवश छन् ।
आज सार्वजनिक भएका तर हिजो परिचय नखुलेका कैयौं मान्छेहरू होलान् जसको हिजो कुनै पुलिस रेकर्ड थिएन । तिनले पनि कैयौँ आक्रमणहरूको नेतृत्व गरे होलान्, लडाइँको योजना बनाए होलान्, युद्धमा प्रत्यक्ष संलग्न भए होलान् । कैयौंको जिउधनको विनाश उनीहरूको हातबाट भएको होला ।
त्यतिमात्रै होइन, क्रान्तिकारी नीति सिद्धान्तबाट दीक्षित नभएका तर नितान्त व्यक्तिगत स्वार्थ र ईविसाधनका लागि अथवा आफ्ना पूर्वसामाजिक अपराधकर्महरू लुकाउने छिपाउने निहीत उद्देश्यले जनयुद्धमा सामेल हुनेहरू पनि नहोलान् भन्न सकिँदैन । अबको उनीहरूको सार्वजनिक जीवन शुद्ध, स्निग्ध र आदर्श मानिने भो ।
मेरो भने कुनै असामाजिक गतिविधिमा कुनै खालको संलग्नता नभएपनि पुलिसका फाइलहरूमा रक्तपिपासु, ह्रिंसक आतङ्ककारीको रुपमा परिचय सदाकाल सुरक्षित रहने भो । र मेरो जीवनकालपछि पनि कथम कदाचित मेरा छोरा–नातिहरू मध्येको कोही भविष्यमा कुनैदिन प्रहरी सेवामा प्रवेशगर्ने अवसर पायो भने ’ए ! मेरा बाजे बराजु त आतंककारी पो रहेछन्’ भनेर मन खिन्न बनाउने भो, हीनताबोध गर्ने भो, लज्जाबोध गर्ने भो !
शान्ति–सम्झौता तोडिनै सक्तैन भनेर ढुक्क हुन सकिँदैन । अथवा नेकपा माओवादी बाहेकको अर्को कुनै नयाँ शक्ति वा समूहले हतियार उठाउन पनि सक्छ, अथवा नयाँ ढंगबाट जनक्रान्तिको संयोजन हुन पनि सक्छ । त्यतिबेला शान्ति सुरक्षाको नाममा पुलिस प्रशासनले पुराना फाइलहरू फेरि पल्टाउलान् ! रेकर्डेट मान्छेहरूको जन्मकुण्डली उतार्लान् र निगरानी गर्न थाल्लान् । त्यतिबेला पुलिसको पहिलो शिकार बन्ने फेरि पनि म र मजस्ताहरू नै त होला नि !
खयर, भविष्यको कुरा जेसुकै होस् । जेजे आइपर्छ टर्दै जान्छ । मलाई हिजोको कल्पनाले नै थुरथुर काम्नुपर्ने बनाएको छ । हिजो राज्यहिंसाबाट ज्यान जोगाउन राजधानी सहर छिरेको म आफूलाई सुरक्षित ठानेर ढुक्कसँग बसेको थिएँ । वास्तवमा काठमाडौंमा पनि म पूरै असुरक्षित पो रहेछु ! सहर पसेपछि सुरक्षित भइन्छ भन्ने कुरा त भ्रममात्रै रहेछ । पुलिसलाई मेरो तीनपुस्ते जन्मकुण्डली कण्ठ रहेछ । फोटो हेरेकै भरमा वर्षौ वर्षसम्म चिन्न ठम्याउनसक्ने गरी जासुसी अभ्यास गरिएको हुँदो रहेछ ।
हनुमानको छातीभित्र रामको तस्विर कुँदिएजस्तै पुलिस जासुसहरूका हृदयभित्र मेरो चित्र पनि कहिल्यै नमेटिनेगरी कोरिएको रहेछ । आज सडकमा एकै झल्को देख्दा ठम्याउनसक्ने पुलिस अधिकारीले जनयुद्ध जारी रहेताका पनि नचिन्ने प्रश्नै हुँदैनथ्यो । त्यतिबेला पुलिसको हातमा बन्दुक पनि थियो । मान्छे मार्ने लाइसेन्स पनि थियो । रेकर्डेट् आतंककारीलाई सिध्याउँदा बहादुरी पाइन्थ्यो । पारितोषिक मिल्थ्यो । तकमाको हकदार बनिन्थ्यो । जागिरमा पदोन्नति मिल्थ्यो । त्यसमाथि थप कर्तव्य र आदर्श पनि त्यसलाई मान्न मिल्थ्यो । धन्न त्यतिबेला तिनका दृष्टिमा परिएनछ र ज्यान बचेछ !
हिजो त जसोतसो बचियो, भविष्यमा त्यो ‘फर्जी फाइल’ले कस्तो करामत देखाउने होला र कति दुःख दिने होला कुन्नी !
भाग्यवादी भएर भन्नुपर्दा अलिकता काम–कर्तव्य बाँकी रहेकै हुनाले त म्याग्दी जिल्ला प्रहरी कार्यालयको सर्वस्व जलेर खरानी पर्दा पनि त्यो एउटा फाइल जोगिएको होला ! भोलि पनि फेरि परिबन्दमा परिएला कि ? फेरि अनाहकमा दुःख पाइएला कि भनेर मेरो मनभित्र बग्रेल्ति प्रश्नहरू उठ्न थाले ।
मान्छेको मनै त हो, हुने नहुने कुराको कल्पना गर्छ । भयभित हुन्छ । तर्सिन्छ । आखिर डर नभएको मान्छे को पो हुन्छ र ! ममा पनि स्वाभाविक मानवीय भावनाहरू छन् । लोभ, मोह, भय, आतंकबाट मेरो मन पो कसरी पूर्ण मुक्त हुन सक्तछ र !
मृत्युभयबाट मुक्त हुन त बुद्धत्व प्राप्त गर्न सक्नुपर्छ । त्यागी महात्मा हुनुपर्छ । म आँखिर सांसारिक मायामोह, घरपरिवार र सामाजिक विधि–व्यवहारमा चुर्लुम्म डुबेको एउटा सामान्य मान्छे न हुँ । पुलिससँग सुरक्षित त्यो फाइल त मेरा लागि सधैंभरि टाउकोमाथि झुण्डिएको तरबारजस्तै हुने भो ! ज्युँदो छँदा मलाई सधैं तर्साउने हाउगुजी बन्ने भो र मरेपछि पनि सन्ततिका लागि एउटा कलंकको रुपमा रहने भो ।
मेरोजस्तै मर्का भोग्न विवश मानिसहरू अरू पनि त होलान नि यो मुलुकमा !
(यस वर्षको मदन पुरस्कार विजेता आख्यानकार बानियाँको प्रकाशोन्मुख संस्मरण पुस्तक ‘मामाघर’बाट)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4