Comments Add Comment

‘जो नाच्छ, ऊ धेरै बाँच्छ !’

बिहीबार अप्रिल २९ अर्थात् अन्तर्राष्ट्रिय नृत्य दिवस । नेपालमा खासै धेरै महत्व नपाएको नृत्य दिवस यो वर्ष विश्वभरि नै औपचारिकतामा सीमित भयो । कोरोना महामारीका कारण यो वर्ष कतै पनि नृत्य दिवस मनाइएन । प्रसिद्ध फ्रान्सेली नृत्य कलाकार जीन जर्जेस नोवरेको जन्मदिनको अवसरमा युनेस्कोको आह्वानमा मनाउने गरिएको यो दिवसको नेपालमा भने खासै उत्साह नहुने गरेको सिर्जना कलेज अफ फाइन आर्टस्का उपप्राध्यापक रामकुमार राई बताउँछन् । उनका अनुसार नेपालमा अर्को कुनै विशेष नृत्य दिवस नभए पनि यो नृत्य दिवसलाई धेरैले महत्व दिने गरेका छैनन् ।

नेपालमा एउटा उखान चर्चित छ जो नाच्छ, ऊ धेरै बाँच्छ भन्ने । यो उखानले पनि धेरै पहिलेदेखि नै नेपालमा नृत्यको महत्व रहेको देख्न सकिन्छ । शारीरिक एवं मानसिक तन्दुरुस्तीको लागि प्रभावकारी मानिने नृत्यको महत्व नेपालमा त्यति नयाँ छैन । परापूर्वकालदेखिका जीवित संस्कृतिमा नृत्य अनिवार्य मान्ने चलन पहिलेदेखि नै चलिआएको पाइन्छ । जुन सयौं वर्षसम्म पनि यसको महत्वका कारण नै लोप भएका छैनन्। पूर्वीय दर्शनमा वैदिक साहित्यदेखि नै संगीत र नृत्यलाई महत्व दिने गरिएको पाइन्छ । तर अहिले नृत्य र संगीतका मोडल फेरिएका छन् । तर यसको महत्व घटेको छैन ।

नेपालका हरेक संस्कृतिसँग नृत्य जोडिएको हुन्छ । त्यसको पछि पनि यस्तै कारण जिम्मेवार हुन्छन् । हामी नृत्यलाई एउटा रमाइलो उत्सवको रूपमा मान्ने गर्छौं । तर हाम्रो सांस्कृतिक इतिहासलाई हेर्ने हो भने हरेक गतिविधिमा नृत्यलाई महत्व दिने गरिन्छ । असारमा खेत रोप्न जाने बेलामा हिलोमा गरिने नृत्य होस् या धान भित्र्याउने बेलामा गरिने नृत्य नै किन नहोस् । कुनै नृत्य धेरै शारीरिक अभ्यास हुने खालको हुन्छ भने केही धिमा गतिमा चल्ने खालको हुन्छ । तर हाम्रो संस्कृतिको अभिन्न अंग बनेर लामो समयदेखि चल्दै आएको छ, नृत्य ।

कुनैपनि संस्कृति त्यतिबेला समृद्ध हुन्छ जतिबेला सांस्कृतिक गतिविधिले हरेक मान्छेलाई सधैं खुशी राख्न सक्छ । त्यसैले त नेपालका जुनसुकै जातिको पनि संस्कृतिमा नाचको अहं भूमिका हुन्छ । चाम्लिङ राईहरुले नाच्ने साकेला शिली, मगरहरुको मारुनी नाच, झामरे नाच, लिम्बुहरूको धान नाच जस्ता चर्चित नाचहरू हुन् ।

नृत्यको उपयोगिता

नृत्यको धेरै उपयोगिता हुने गर्छ । जस्तो यसले हामो शारीरिक तन्दुरुस्तीको लागि त काम गर्छ नै । यसले मानसिक स्वास्थ्यको लागि समेत सहयोग गर्ने गर्छ । त्यसैले यसले स्मरण शक्तिमा बृद्धि गर्ने, तनाव कम गर्ने, डिप्रेसन कम गर्ने, वजन कम गर्ने, साथीसँगको भावनात्मक सम्बन्ध कायम राख्ने, आत्मविश्वास बढाउने जस्ता काममा सहयोग गर्ने गर्छ ।

नृत्यले मानिसलाई खुसी राख्न मद्दत गर्छ । वैज्ञानिकका अनुसार उमेर बढेसँगै दिमागको एक भागको हिप्पोक्याम्पसको आकार घट्दै गएको हुन्छ । नृत्यले त्यो हिप्पोक्याम्पसलाई नियन्त्रण गर्छ र स्मरण शक्तिलाई सन्तुलनमा राखी ताजा गराउन सहयोग गर्छ । रचनात्मक विकासको लागि नृत्य रचनात्मक विकासको लागि नृत्य एक उपयुक्त विकल्प हो । आफ्नो मानसिक तन्दुरुस्तीको लागि नृत्यले खेल र रचनात्मकतालाई सन्तुलनमा राख्ने काम गर्छ । यसले तपाईंको दिमाग र शरीरलाई पनि सक्रिय राख्नको मद्दत गर्छ ।

आत्मविश्वास बढाउँछ

धेरै व्यक्तिहरूको लागि व्यायाम आत्मविश्वासको आधार पनि हो । नृत्यले आफैँमा आत्मविश्वास बढाउने काम गर्छ । तर कुनैपनि चीजमा विशेषज्ञ हुनको लागि अभ्यास अनिवार्य हुन्छ । जे कुरामा पनि सुरुमा असहज महसुस हुन्छ । तपाईंमा यदि विश्वासको कमी छ भने जुनसुकै काममा पनि तपाईं पछि पर्न सक्नुहुन्छ । स्टुडियोमा तपाईं जति धेरै आत्मविश्वास महसुस गर्न सक्नुहुन्छ, त्यत्ति नै आत्मविश्वास आफ्नो जीवनको अन्त कतै महसुस गर्न सक्नुहुन्छ । नृत्य आफैँमा आत्मविश्वास बुस्टर विषय हो । त्यो विश्वास तपाईंको जीवनको विभिन्न क्षेत्रमा गर्न सक्नुहुन्छ ।

शरीरलाई जागरूक बनाउँछ

नृत्यले तपाईंको शरीरको बारेमा धेरै कुरा सिकाउन सक्छ । व्यक्ति जो शारीरिक रूपमा सक्रिय छैन । तिनीहरू आफ्नो घुँडा लगायत शारीरिक अवस्थालाई नियन्त्रण गर्न सक्षम हुँदैन । अन्य शारीरिक व्यायाममा जस्तै नृत्यमा पनि शरीरको सबै अंगको अभ्यास हुन्छ । यसमा थप मनोरञ्जन बढी हुने भएकोले यसले मानसिक हिसाबले पनि सुरक्षित राख्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment