Comments Add Comment
शिक्षण अस्पतालका बिरामी कुरुवाको कथा :

संक्रमित आमाको उपचारका लागि महेन्द्रनगरदेखि काठमाडौंसम्म

बुधबार दिउँसो त्रिवि शिक्षण अस्पतालको आइसीयू कक्षको बार्दलीमा एक जोडी अनुहार निकै उदास मुद्रामा थियो ।

बार्दलीको कुनामा ओछ्याइएको म्याटमा उनीहरू झोक्राएर बसिरहेका भेटिए ।

उनीहरू यसरी झोक्राएर बसेको आठ दिन बितिसकेको छ । कोरोना संक्रमित आमाको कुरूवा बनेर बसेका यी छोरी-ज्वाँइले विगत दुई सातादेखि भोक-निद्रा भन्न पाएका छ्रैनन् ।

ज्यानको पीडाको के कुरा, खप्नै नसकिने मानसिक पीडाले उनीहरूलाई गाँजेको छ ।

वैशाख ५ गते आमालाई कोरोना संक्रमण पुष्टि भएपछि महेन्द्रनगरदेखि काठमाडौंसम्मको दुसाध्य यात्रा पार गरेर उनीहरू शिक्षण अस्पताल -चलनचल्तीमा टिचिङ हस्पिटल) आइपुगेका हुन् ।

उनीहरूको दुःखको यात्राले कोरोनाले कतिसम्म लखेट्दोरहेछ भन्ने बताउँछ-

कुरा नयाँ वर्ष आसपासको हो । भीमदत्त नगरपालिका वडा नम्बर १८ बस्ने  ५९ वर्षीया जया चन्द (नाम परिवर्तन) पेट पोल्ने समस्याको उपचार गर्न नेपालगञ्ज गइन् ।

नेपालगञ्जमा रहेको एक नर्सिङ होममा चेकअप गराइरहेकी उनलाई डाक्टरले अल्सर भएको हुनसक्ने भन्दै थप परीक्षण गर्न सुझाव दिए । यस्तैमा एकाएक सास फेर्न केही गाह्रो हुने भएपछि डाक्टरले उनलाई कोरोना परीक्षण गराए ।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई तत्काल भेरी अस्पताल लगियो । छोरी सरिताका अनुसार भेरी अस्पतालले बिरामीलाई तुरून्त अक्सिजन माक्स लगाइदियो । आवश्यक औषधि सुरु गर्‍यो ।

अस्पतालले अवस्था जटिल भएको बताउँदै गर्दा यता उनलाई उपचार गर्न ल्याउने छोरामा पनि कोरोना पुष्टि भयो ।

सरिता भन्छिन्, ‘एकैचोटी आमा र दाइलाई कोरोनाले गलाएपछि हामी के गर्ने भन्ने अन्योलमा पर्‍यौँ । यसपछि म, मेरो श्रीमान् र दाइ मिलेर आमालाई काठमाडौं ल्याउने निर्णय गर्यौं ।’

तर, अक्सिजन माक्स लगाउनुपर्ने अवस्थामा पुगेको संक्रमितलाई नेपालगञ्जदेखि काठमाडौं ल्याउनु त्यति सजिलो थिएन । न विमानबाट ल्याउन सम्भव थियो न सार्वजनिक यातायातमा !

काठमाडौंको ठाउँ केकसरी उपचार गराउन लैजाने भनेर दोधारमा पर्‍यौँ ।

अन्तत : सरिता आमाको प्राण बचाउन जस्तोसुकै कदम चाल्न तयार भइन् । उनी र श्रीमान् मिलेर एम्बुलेन्स खोजे । साथमा दुईजना नर्स पनि ।

‘नेपालगञ्जबाट एम्बुलेन्स खोज्न निकै सकस पर्‍यो’, सरिता सुनाउँछिन्, ‘बल्लबल्ल ५० हजार तिरेर एउटा एम्बुलेन्स मिल्यो । अनि दुईजना नर्ससहित सिधै काठमाडौंतर्फ लाग्यौं ।’

दुईजना संक्रमितलाई काठमाडौंसम्म पुर्‍याउने यात्रा सोचेजस्तो सजिलो थिएन । बुटबल पुग्दा-नगुग्दै अक्सिजन सकिने डरले उनीहरूले सिलिन्डर फेरे । संक्रमित बिरामी बोकेको शंका भएकाले खानेकुरा किन्न निस्कँदा पनि उनीहरूमाथि  शंका गरियो ।

चितवन पुगेपछि उनीहरूले फेरि सिलिण्डरमा अक्सिजन भरे । किनकि काठमाडौं पुग्नेबित्तिकै भर्ना पाउने-नपाउने निश्चित थिएन ।

अन्ततः  वैशाख ७ गते दिउँसो १२ बजे उनीहरू शिक्षण अस्पताल महाराजगञ्ज आइपुगे ।

‘काठमाडौं आएपछि आमालाई बचाउन सकिन्छ कि भन्ने आशा जाग्यो’, सरिताले भनिन्, ‘यही आशामा अहिलेसम्म टिकेका छौं ।’

७ गते दिउँसोको समय आकस्मिक कक्ष वरपर नै बित्यो । साँझमात्र संक्रमित जयालाई डाक्टरहरूले आईसीयूमा राख्ने निधो गरे ।

यहीबेला सरिताका दाइ पनि कोरोना संक्रमित वार्डमा भर्ना हुन खोजे । तर डाक्टरले अवस्था ठीकै छ, बाहिर नै सुरक्षित भएर बस्नु भनेपछि उनका दाइ होटल क्वारेन्टाइनमा बसे ।

दाइ क्वारेन्टाइनमा बसेपछि आमाको कुरुवा बन्ने कर्म छोरी सरिता र ज्वाइँको भागमा आइपर्‍यो । उनीहरूलाई डाक्टरले घरि एकथरि औषधि किन्न पठाउँथे त कहिले तातोपानी । कहिले पैसा डिपोजिट गर्न भन्थे ।

७ गते साँझदेखि शिक्षण अस्पताल आईसीयू कक्षबाहिर यो जोडी आमाको उपचारमा व्यस्त छ । लामो अस्पताल बसाइले थकित भइसकेकी सरिता भन्छिन्,  ‘कोरोना संक्रमण भनेपछि आफन्तलाई बोलाउन पनि गाह्रो हुने रहेछ । फेरि एकदिन होइन, महिनौंसम्म अस्पताल राख्नुपर्ने पनि हुँदो रहेछ ।’

एकदिन, दुईदिन गर्दै उनीहरू आएको आठ दिन भइसकेको छ । शिक्षण अस्पताल आएपछि आमाको स्वास्थ्य सुधार होला भन्ने सोचेका थिए । तर नौ दिन बित्नलाग्दा समेत आमालाई आईसीयूमै राखिएकाले उनीहरूमा चिन्ता थपिएको छ । ‘हामीलाई भेट्न जान दिइँदैन । कस्तो छ होला भन्ने पीरले नै गलाउँदोरहेछ’, लामो सास फेर्दै सरिताले सुनाइन् ।

सुदूर हुनुको समस्या

कञ्चनपुर महेन्द्रनगरकी सरिताका आफन्त काठमाडौंमा नभएका होइनन् । पढेलेखेको भएकाले काठमाडौं बिरानो पनि छैन उनलाई ।

तर सुदूर क्षेत्रबाट आएको हुनाले काठमाडौंको वातावरणमा समस्या भोग्नुपरेको छ । ‘आफन्तले होटलमा बसेका दाइलाई त खाना लगिदिने गरेका छन्’, सरिता सुनाउँछिन्, ‘अब हामीलाई पनि खाना ल्याइदिन उनीहरूलाई पनि गाह्रो छ ।’

आफ्नो कारणले आफन्तले पनि सास्ती नभोगुन् भन्ने उनको सोचाइ छ ।

‘लकडाउनमा के खाने भन्ने चिन्ता’

अहिले सरिता र उनका श्रीमान् शिक्षण अस्पताल क्यान्टिन त कहिले नजिकैको होटलमा खाना खाइरहेका छन् । तर विहीबारबाट लकडाउन सुरु भएकाले कहाँ के खाने, काठमाडौंमा कसरी यात्रा गर्ने भनेर उनीहरू चिन्तित छन् ।

आमाको उपचारकै लागि दुई हप्तामा उनीहरूको तीन लाख खर्च भइसकेको छ । ‘पैसा त के हो र, आमालाई ठीक भइदिए हामीलाई अरू केही चाहिँदैन’, गम्भीर भावमा सरिता वरपरका कुरुवासँग गफ गरिरहेकी हुन्छिन् ।

यता कुरुवा बस्न आएकाले ज्वाइँ पुकारको कार्यालय छुटेको छ । उनी पनि दुई सातादेखि सासुआमाको उपचारका लागि दिलो ज्यानले खटिएका छन् । ‘कुनबेला आफैं संक्रमित हुनुपर्ने हो केही ठेगान छैन । अस्पताल भनेर के गर्नु झन् लाख गुणा खतरा हुने रहेछ’, उनले सुनाए ।

अस्तव्यस्त अस्पतालका दुःख

काठमाडौंको सर्वाधिक नाम चलेको सरकारी शिक्षण अस्पतालमा भर्ना गर्दा उपचार सहज हुने सरितालाई लागेको थियो । तर शिक्षण अपतालको अस्तव्यस्तपनले उनीहरूलाई झन् निराश बनाइदियो ।

भेरी अस्पतालमा पाएको दुःख, एम्बुलेन्स खोज्दाको सकस र अहिले अस्पताल बसाइको दुःखले मानसिक चिन्ता बढेको उनीहरू सुनाउँछन् ।

एक साता भन्दाबढी भयो, उनीहरू त्यही बार्दलीमा सुतेका छन् । दिउँसो दाइलाई दुईमध्ये एक भेट्न जान्छन् । आर्थिक चाँजोपाँजो मिलाउन एकजना बाहिर जाँदा अर्कोले आईसीयू कक्ष छाड्दैनन् ।

राजधानीको अस्पताल भनेपनि अनेकौं समस्या कायम रहेको सरिताको अनुभव छ । ‘मोबाइलमा चार्ज सकियो भने चार्ज गर्ने ठाउँ छैन । भाँडा खपाल्ने ठाउँमा गयो पानी हुँदैन, शौचालय गयो त्यस्तै फोहोर हुन्छ’, निराश हुँदै उनी भन्छिन्, ‘अब यसरी नै कति दिन काट्नुपर्ने हो केही थाहा छैन ।’

यता निःशुल्क पाउने औषधि पनि किन्नुपरेको उनीहरूको अनुभव छ । संक्रमितका कुरुवा औषधि लिन जाँदा निःशुल्क पाउने औषधि सकिएको भन्ने जवाफ दिएर कर्मचारीले फर्काउने गरेको उनीहरूले बताए ।

सरिताको मात्र होइन, आईसीयू कक्षमा कुरूवा बसेका सबैजनाको यही मत छ । यसबारे नर्स तथा डाक्टरलाई भन्दा उल्टै खप्की खानुपरेको उनीहरूको अनुभव छ । कुरुवा बस्ने ठाउँमा नियमित सरसफाइ पनि नगरिएको उनीहरुको गुनासो छ ।

आईसीयूका कुरूवालाई चार्ज गर्ने ठाउँ, खानेपानी, कुर्सी, डस्टबिन आदिको समस्या छ । लामो समय एउटै कक्षमा कुरुवा बस्दा स्वयं कुरुवा नै बिरामी हुन लागिसकेको बताउँछिन् सरिता ।

उनीहरूले आफू सुत्ने म्याटदेखि तन्नासम्म स्यानिटाइज गरेका छन् । दर्जनौं प्याकेट माक्स र पञ्जाको जोहो गरेका छन् । तैपनि उनीहरूलाई जिउ दुख्ने, रिँगटा लाग्ने हुन थालेको छ ।

‘सकेसम्म आफू सुरक्षित हुने तरिकाले बसेका छौं, तर निरन्तरको धपेडी र मानसिक दबाबले गर्दा केही मेसो नहुने रहेछ’, अस्पताल बसाइका कष्टकर अवस्था सम्झिँदै सरिता मनको बह पोख्छिन् ।

तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment