Comments Add Comment

नयाँ पुनर्बिमा कम्पनीका लागि प्रस्ताव आह्वान, क्रश होल्डिङ भएकाले नपाउने

१६ वैशाख, काठमाडौं । नयाँ पुनर्बिमा कम्पनीलाई सञ्चालन अनुमति (लाइसेन्स) दिनका लागि नियामक निकाय बिमा समितिले आवेदन खुला गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै समितिले प्रस्ताव आवेदन आह्वान गरेको हो ।

हाल मुलुकमा एउटामात्रै पुनर्बिमा कम्पनी सञ्चालनमा रहेको छ । कम्तिमा दुई वटा पुनर्बिमा कम्पनी आवश्यकता परेको भन्दै समितिले आवेदन खुला गरेको हो । नयाँ पुनर्बिमा कम्पनीको आवश्यकताका विषयमा समितिले अध्ययन समिति बनाएको थियो ।

तर बढीमा एउटा कम्पनीलाई मात्रै लाइसेन्स दिने समितिले प्रकाशित गरेको सूचनामा उल्लेख छ । समितिले नयाँ पुनर्बिमा कम्पनीका लागि लाइसेन्स दिने चर्चासँगै व्यावसायिक घरानादेखि बिमा क्षेत्रमै आवद्ध रहेका व्यक्तिहरुले पुनर्बीमा कम्पनी खोल्न सक्रियता देखाउँदै आएका छन् ।

तर क्रश होल्डिङ हुने गरी यस अघि नै पुनर्बिमा कम्पनीमा लगानी रहेकाहरुले भने प्रस्ताव पेश गर्न नपाउने बिमा समितिले बताएको छ । यो निर्णयले आवेदन दर्ता गर्ने तयारीमा बसेका केहि व्यवसायी घरानालाई असहज बनाइदिएको छ ।

काठमाडौं रि–इन्स्योरेन्स, जेन्यून रि–इन्स्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, प्रुडेन्सियल रि–इन्स्योरेन्स नामक चार वटा कम्पनी प्रस्ताव गरेर छुट्टाछुट्टै समूहले लाइसेन्स लिन जोडबल गरिरहेको छ । प्रस्तावित पुनर्बीमा कम्पनीहरुमध्ये काठमाडौं रिमा बिमा क्षेत्रका विज्ञहरुको समूह छ ।

प्रस्तावित उक्त कम्पनीमा बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिकै पूर्वअध्यक्ष देवेन्द्रप्रताप साह, बिमा कम्पनीका सबै भन्दा पुराना सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आईएमई लाइफ इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको टिम बनेको छ ।

प्रस्तावित कम्पनीहरुको टिममा रहेका साह बैंकिङ तथा बिमा क्षेत्रमा राम्रो ज्ञान भएका व्यक्ति हुन् । उनी नियमनकारी निकायको अध्यक्षमात्रै होइन मुलुककै जेठो बैंक नेपाल बैंक र कृषि विकास बैंकको समेत प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् ।

टिमका अर्का सदस्य भट्टराई बिमा कम्पनीको नेपालकै पहिलो सीईओ हुन् । यस अघि बिमा समितिको अध्यक्षको दौडमा रहेका भट्टराई अहिले महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रहेका छन् ।

चार्टर अकाउन्टेन्ट गुरागाईं नेपालको एकमात्रै पुनर्बीमा कम्पनीका अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्वअध्यक्ष र पूँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डका पूर्व सञ्चालक समेत हुन् । अर्का सदस्य भट्ट पनि बैंक तथा बिमा क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन् ।

उनी ज्योति विकास बैंक, आईएमई लाइफ र रेमिट टू नेपालका पूर्वसीईओ हुन् । प्रस्तावित यस कम्पनीका योजनाकार भट्टराई लगानीको प्रतिबद्धता समेत आइसकेको बताउँछन् । उनका अनुसार यस कम्पनीमा विदेशी साझेदारसँग पनि कुरा भइसकेको छ ।

प्रस्तावित जेन्यून रि–इन्स्युरेन्समा दुई जना बिमा क्षेत्रका विज्ञहरु रहेका छन् । बिमा समितिकै कार्यकारी निर्देशकबाट अवकाश पाएका श्रीमान कार्की र पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रवीन्द्र घिमिरे यो कम्पनीमा रहेका छन् ।

यस कम्पनीमा म्यानपावर व्यवसायी रघु पुरी समेत सहभागी रहेको बताइएको छ । अन्य दुई अन्नपूर्ण रि–इन्स्योरेन्स, प्रुडेन्सियल रि–इन्स्योरेन्समा भने विज्ञ भन्दा धेरै व्यावसायिक घरानाका व्यक्तिहरु रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment