Comments Add Comment

आन्तरिक मूल्यांकन र भर्चुअल परीक्षामा जुटे विद्यालय

१७ वैशाख, काठमाडौं । कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्ने सम्भावना टर्दै गएपछि विद्यालयहरुले आन्तरिक मूल्यांकनबाट नतिजा दिने तयारी थालेका छन् ।

काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले शिक्षा ऐन, नियमावलीमा भएको व्यवस्थाअनुसार आन्तरिक मूल्यांकनबाट विद्यार्थीको कक्षा उन्नती गर्ने तयारी गरेको बताए ।

पाठ्यक्रम अनुसार सबै कक्षाको पढाइ सकिएकाले परियोजना कार्य, हाजिरी र त्रैमासिक परीक्षाको नतिजाका आधारमा मूल्यांकन गर्ने तयारी गरिएको प्रधानाध्यापक कँडेलको भनाइ छ । ‘सबैको पढाइ सकिएको छ । अब फेरि परीक्षा गर्ने सम्भावना कम हुँदै गएपछि आन्तरिक मूल्यांकनको आधारमा कक्षोन्नती गर्ने तयारी गरिरहेका छौं ।’

विद्यार्थीलाई परीक्षाको हाउगुजी देखाएर राख्नु भन्दा विद्यालयले परियोजना कार्य, नियमितता र त्रैमासिक परीक्षाको आधारमा मूल्यांकन गर्न दिनुपर्ने उनको भनाइ छ ।

पुरानो कालीमाटीस्थित ज्ञानोदय माविले भने वैशाख २६ गतेदेखि भर्चुअल परीक्षाको तयारी गरेको छ । विद्यालयका प्रधानाध्यापक नातीकाजी महर्जनले विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गराउन असम्भव हुँदै गएकोले भर्चुअल परीक्षा गर्ने निर्णय गरेको बताए ।

उनले भने ‘हामीले वैशाख १२ देखि परीक्षाको तयारी गरेका थियौं । एक दिन परीक्षा पनि भयो । तर सक्न पाएनौं । त्यसैले २६ गतेबाट भर्चुअल गर्ने तयारीमा छौं ।’

संस्थागत विद्यालयको प्रतिनिधिमूलक संस्था एनप्याब्सनले भने यो महिनाभर महामारीको अवस्था हेरेर निर्णय गर्ने उपाध्यक्ष एवं परीक्षा समितिका संयोजक प्रवोध रिजालले बताए ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा विद्यालयले कक्षा ८, १०, १२ बाहेकका कक्षाको परीक्षा विद्यालयले विश्वसनीय र वैद्य हुने हिसाबले लिन सक्ने बताए । कक्षा ८ को परीक्षा भने स्थानीय तहले आफ्नो क्षेत्रको परिवेश अनुसार गर्न सक्ने शर्माले बताए ।

एसईई र १२ कक्षाको परीक्षा भने पूर्व निर्धारित समय तालिका हेरफेर नभएको उनको भनाइ छ । सरकारले एसईई जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सञ्चालन गर्ने तय गरेको थियो । ‘अहिलेसम्म एसईई र १२ कक्षाको लागि पूर्व निर्धारित समयअनुसार तयारी भइरहेको छ । केही दिनसम्म अवस्था सुधार हुन्छ वा जटिल हुन्छ त्यसपछि नै निर्णय हुन्छ’ शर्माले भने ।

कक्षा ११ को परीक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डले नमुना प्रश्नपत्र तयारी गरिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment