
१७ वैशाख, काठमाडौं । खाद्यान्न ढुवानी गरेर फर्केका रित्ता गाडीलाई प्रहरीले चल्न नदिएको भन्दै व्यवसायीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसमक्ष गुनासो गरेका छन् ।
निषेधाज्ञामा निर्वाध सञ्चालन गर्न दिइने भनिएको सवारी साधन रोकिँदा व्यवसायीले दुख पाएको नेपाल किराना व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले अत्यावश्यक सामान ढुवानी गरेर फर्केका रित्ता गाडीलाई बिललगायतका प्रमाण देखाउँदा पनि प्रहरीले दिनभरि होल्ड गरेपछि सहजीकरणका लागि मन्त्रीलाई आग्रह गरिएको बताए ।
‘उद्योग (मन्त्रालय) ले अवरोध हुन्न भन्ने तर प्रहरीले समातेर दुःख दिने भएपछि मन्त्रीलाई यसबारे अवगत गराएका हौं,भोलिदेखि यस्तो नहुने बाचा गर्नुभएको छ,’ संघका अध्यक्ष श्रेष्ठले भने ।
उपत्यकाका विभिन्न ठाउँमा अत्यावश्यक सामान पुर्याएर फर्किएका गाडी होल्ड भएको गुनासो आफूलाई आएको श्रेष्ठको भनाइ छ ।
विहान १० बजेपछि रित्तो गाडी चल्न दिन्नौं
ट्राफिक प्रहरी महाशाखाले भने कुनै आधार र प्रमाण नभएका र बिहान १० बजेपछि गुडेका गाडीलाई नियन्त्रणमा लिएको बताएको छ ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले ढुवानी गरेर फर्किएको आधार प्रमाण नबोकी सञ्चालन भएका सवारी साधनलाई नियन्त्रणमा लिएको बताए । ‘खाद्यन्न ढुवानी वा अन्य कुनै आधार प्रमाण भएर चलेका सवारीलाई अवरोध छैन,’ उनले भने ।
सरकारले पसल खुल्न दिएको समयमा बिहान १० बजेसम्म मात्रै ढुवानीका खाली सवारी पनि चल्न दिने र पसल बन्द हुने समयमा खाली गाडी चल्न नदिने निर्देशन जिल्ला प्रशासन कार्यालयबाट आएको उनले बताए ।
‘उद्योगी व्यवसायीले कि त १० बजेसम्म सामान ढुवानी गरिसकेर रित्ता गाडी पनि फर्काउनु पर्यो, होइन भने सामान बोकेका गाडी मात्रै चलाउनुपर्यो,’ माहाशाखा प्रमुख भट्टराईले भने, ‘होइन भने रित्ता गाडी १० बजेपछि चल्न दिन्नौं ।’
प्रतिक्रिया 4