Comments Add Comment

एनएसएलमा काठमाडौं र पोखराबीच गोलरहित बराबरी

१७ बैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार काठमाडौं रेजर्स र पोखरा थण्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि उपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो ।

पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल एनएसएलको यो पहिलो गोलविहीन खेल हो । दुवै टिमसामु यो खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर थियो । तर बराबरीले त्यो अवसर गुमेको छ ।

पहिलो हाफमा पोखरा थण्डर्सले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेन । दोस्रो हाफमा काठमाडौं रेजर्सले गोलको अवसर बनाएपनि गोल गर्न सकेन ।

खेलको इन्जुरी समयमा पोखराका प्रविन स्याङ्तानले केट्चा यानिकको फ्रिकिकमा ब्याक हेडर गोल गरेका थिए । तर उनी अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता पाएन ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका पोखराका पदम मोक्तानले प्लेयर अफ दि म्याच घोषित हुँदै २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच भने काठमाडौंका राजन गुरुङ बने । उनले १० हजार प्राप्त गरे ।

एनएसएलमा काठमाडौं र पोखराको यो पहिलो बराबरी हो । अहिलेसम्म दुवै टिमले समान ३ खेल खेल्दा मिश्रित नतिजा निकालेको छ । एक जित एक बराबरी र एक हारपछि पोखरा र काठमाडौंले ३ खेलबाट समान ४ अंक जोडेको छ ।

पोखरा थण्डर्स तेस्रो र काठमाडौं रेजर्स चौथो स्थानमा उक्लेको छ । विराटनगर सिटी एफसी र धनगढी एफसीको पनि समान ४ अंक नै छ । तर गोलअन्तरका आधारमा विराटनगर शीर्ष र धनगढी दोस्रो स्थानमा छ ।

एनएसएलमा शनिबार दुई खेल हुनेछ । दिउँसो २:३० बजे हुने खेलमा दोस्रो स्थानको धनगढीले छैटौ स्थानको एफसी चितवनसंग खेल्नेछ । यस्तै शीर्ष स्थानको बुटवल लुम्बिनी र पाँचौ स्थानको विराटनगरबीच साँझ ५:३० बजे खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment