Comments Add Comment

भरिन थाले राजधानीका कोभिड अस्पताल, कुन अस्पतालको क्षमता कति ?

फाइल तस्वीर

१७ वैशाख, काठमाडौं । कोभिड–१९ संक्रमितको उपचार गर्ने उपत्यकाका अधिकांश सरकारी अस्पतालको बेड भरिएका छन् । बेड नभएपछि धेरै अस्पतालले भर्ना लिन मानेका छैनन्, अस्पताल पुगेका बिरामी फर्किन बाध्य भएका छन् ।

अस्पतालहरुले जटिल अवस्थामा पुगेका अथवा अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई प्राथमिकता दिई भर्ना लिने गरेका छन् । कुनै पनि बिरामीले अगाडि नै फोन गरेर बेड बुक गर्ने अवस्था नरहेको डाक्टरहरुको भनाइ छ ।

त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा संक्रमितको उपचार गर्न जम्मा ११३ बेड रहेको कोभिड सम्पर्क व्यक्ति डा. सन्तकुमार दासले बताए । अस्पतालमा अहिले १०९ जना संक्रमित उपचार गराइरहेका छन् । जसमध्ये २१ जना आईसीयूमा, ५ जना भेन्टिलेटरमा उपचाररत र बाँकी सामान्य वार्डमा उपचार गराइरहेका छन् । यहाँ भेन्टिलेटर बेड क्षमता ११ वटा मात्र छ ।

अस्पताल आएका बिरामीलाई सम्भव भएसम्म नफर्काउने र सम्भव नभएमा अन्य कोभिड अस्पतालमा पठाउने गरेको उनी बताउँछन् । तर कतिपय संक्रमितले सरकारीमा बेड नपाएपछि निजी अस्पतालमा लगेका छन् । डा. दासले भने ‘हामीले हाम्रो क्षमताले भ्याएसम्म बिरामीको भर्ना लिने, उपचार गर्ने कोसिस गर्छौं । तर क्षमताले नै नधानेपछि फर्काउनुको विकल्प छैन ।’

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा संक्रमितको उपचारका लागि १४० बेड छ । तर जटिल खालका संक्रमित आएपछि क्षमता भन्दा १८ जना बढी भर्ना लिएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. प्रवीण नेपालले बताए । बिरामीको अवस्थाका कारण फर्काउन नसकेकाले भर्ना लिइएको उनले बताए ।

अहिले बलम्बुमा २० वटा आईसीयूमा १९ जना र ८ भेन्टिलेटरमा सबैमा बिरामी छन् । अरु बेडमा रहेका ७५ प्रतिशत बिरामी अक्सिजन दिनुपर्ने अवस्थाका छन् । अस्पतालले जटिल अवस्थाका बिरामीलाई मात्र भर्ना लिने गरेको डा. नेपालले बताए ।

वीर अस्पतालको संक्रमितको उपचारका लागि ९६ वटा बेड छ । यहाँ उपचाररत ५७ जनामध्ये आईसीयूमा ८ जना र भेन्टिलेटरमा दुई जना छन् । वीर अस्पतालले अक्सिजनको सहायता लिनु नपर्नेलाई भर्ना लिएको छैन ।

अस्पतालले सर्जिकल बिल्डिङलाई कोभिड अस्पताल बनाउने तयारी गरेको कोभिड सम्पर्क व्यक्ति डा. अच्युत कार्कीले बताए । आगामी हप्ताभित्र दुई सय बेड क्षमताको अस्पताल तयार हुने तर जनशक्ति र उपकरण जुटाउनमा सरकारले सहयोग गरेमा सञ्चालन हुने डा. कार्कीको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० बेड सञ्चालनमा ल्याएको सम्पर्क व्यक्ति डा. अनुप बास्तोलाले बताए । अहिले यहाँ उपचाररत ५४ जनामध्ये १२ जना भेन्टिलेटरमा, २२ आईसीयूमा, ४ जना स्पेसल आईसीयूमा, ७ जना नर्मल बेडमा र ९ जना आकस्मिक कक्षमा उपचाररत छन् ।

अस्पतालले अत्यावश्यक उपचारको आवश्यकता परेकालाई मात्र भर्ना गरिरहेको डा. बास्तोलाले बताए । बिरामीको अवस्था सुधार हुँदै सामान्य अक्सिजनले काम गर्ने भएपछि होम आइसोलेसनमा पठाउने उनले बताए ।

अस्पतालले भर्ना लिन नसक्ने बिरामीको उपचारका लागि अन्य सरकारी अस्पतालसँग समन्वय गरी सिफारिस गर्दै आएको डा. बास्तोलाले बताए । उनले भने ‘अहिले तँ म नभनी सरकारी, निजी सबै पक्ष मिलेर काम गर्ने बेला आएको छ । यसबेला जुट्न सके संकट टार्न सहज हुनेछ ।’

पाटन अस्पतालमा संक्रमितको उपचारका लागि १९० वेड क्षमतामध्ये १४२ जना उपचाररत छन् । तीमध्ये आईसीयूमा १९ जना, भेन्टिलेटमा ११ जना, एचडी मनिटरसहितको बेडमा १० जना र एचडीयूमा २५ जना र वार्डमा ७७ जना उपचाररत रहेको कोभिड फोकल पर्सन डा. विनोद पाण्डेले बताए । अस्पतालले आफूले भर्ना लिएर उपचार गर्न नसकेको अवस्थामा समन्वय गरी अन्य सरकारी अस्पतालमा समेत सिफारिस गरिरहेको जनाएको छ ।

नयाँ बानेश्वरको निजामती कर्मचारी अस्पतालमा ५० वटा बेडमध्ये अहिले २८ जना संक्रमितको उपचार भइरहेको छ । १४ बेड क्षमताको आईसीयू भरिएको छ । ६ वटा वेड क्षमताको भेन्टिलेटर भने खाली छ तर आईसीयूको बिरामी जटिल अवस्थामा भएकाले जुनसुकै बेला भेन्टिलेटर चाहिने इन्फेक्सन कन्ट्रोल नर्स ज्वाला ढकालले बताइन् । यहाँ १४ जना अक्सिजनको सहायतामा उपचाररत छन् ।

केही बेडको अक्सिजन प्वाइन्ट बिग्रिएका कारण सिलिन्डर अक्सिजनको सहयतामा पनि उपचार गरिएको उनले बताइन् । सिलिन्डरको अक्सिजनले दुई घन्टा मात्रै थेग्ने हुँदा जटिल किसिमको बिरामी भने भर्ना गर्न नसकिने अवस्थामा छ ।

भक्तपुर अस्पताल भक्तपुरमा ६८ बेडमध्ये ३० जना कोरोना संक्रमित उपचारत छन् । तीमध्ये ६ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा छन् । नर्मल बेडमा भएका १८ जनामध्ये केहीबाहेक सबै अक्सिजनको सपोर्टमा रहेको सम्पर्क व्यक्ति डा. सुमित्रा गौतमले बताइन् । आईसीयू र भेन्टिलेटर बेड भने भरिएका छन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा अहिले १२० जना उपचाररत रहेका छन् । १२५ वेड क्षमता भएको केन्द्रमा १० जना अक्सिजनको सहायता लिनुपर्ने र अरु सामान्य लक्षणसहितका र लक्षण नदेखिएका संक्रमित रहेको डा. जितेन्द्र श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment