Comments Add Comment

कोरोनाका बिरामी उपचारका लागि कस्तो छ भक्तपुरका स्थानीय तहको तयारी ?

१९ वैशाख, काठमाडौं । दिनप्रतिदिन कोरोना महामारी बढ्दै जाँदा भक्तपुर नगरपालिकाका स्थानीय तहहरुले आइसोलेसन सेन्टर पुनः सञ्चालनमा ल्याएका छन् । जिल्लाका चार स्थानीय तहमध्ये ३ स्थानीय तहले आइसोलेसन सेन्टर पुनः सञ्चालनमा ल्याइसकेका छन् भने सूर्यविनायक नगरपालिकाले यसको काम अन्तिम चरणमा पुगेको बताएको छ ।

आइसोलेसन सेन्टरसँगै नगरपालिकाहरुले हाई डिपेन्डेन्सी युनिट समेत सञ्चालनमा ल्याएका छन् । जुन कोरोना संक्रमित भएका गम्भीर बिरामीहरुको लागि उपयोगी हुने विश्वास नगरपालिकाहरुले लिएका छन् ।

मध्यपुर नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठका अनुसार उक्त नगरपालिकाले मात्रै बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।

यसबाहेक १४ शय्याको एचडीयू, ९ वटा आईसीयू र ७ वटा भेन्टिलेटरको समेत व्यवस्था गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । यसमध्ये आईसीयू र भेन्टिलेटर कोरिया मैत्री अस्पतालमा निर्माण गरिएको छ । नगरपालिका अक्सिजन प्लान्ट निर्माणतर्फ समेत अघि बढेको भन्दै एकदुई दिनभित्र नगरपालिकाद्वारा नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने प्रमुख श्रेष्ठले बताए ।

त्यस्तै, भक्तपुर नगरपालिकाले ब्रह्मायणीमा ५० शय्याको आइसोलेसन र २५ शय्याको एचडीयू सञ्चालनमा ल्याएको छ । नगर प्रमुख सुनिल प्रजापतीका अनुसार गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल पठाउने र अक्सिजन सपोर्ट मात्र चाहिने बिरामीलाई आइसोलसन केन्द्रमै उपचार गर्ने नीति नगरपालिकाले लिएको छ ।

त्यसैगरी, चाँगुनारायण नगरपालिकाले नेपाल इञ्जिनियरिङ कलेजमा एकसय शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । संख्या बढ्दै गएमा यसको क्षमता बढाउँदै लैजाने नीति नगरपालिकाले लिएको छ । नगरपालिकाले अहिले पनि बिरामीलाई तत्काल अक्सिजन सपोर्ट दिन सक्ने गरी व्यवस्था गरेको नगरप्रमुख सोम मिश्रले जानकारी दिए ।

सूर्यविनायक नगरपालिकाले जगातीमा नगर अस्पताल निर्माणलाई अन्तिम रुप दिन लाग्दैछ । निर्माणाधीन नगर अस्पतालमा ५० शय्या रहने नगरपालिका सामाजिक विकास समिति संयोजक एवं सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का अध्यक्ष किरण थापाले जानकारी दिए । उनले भने, ‘नगर अस्पताल १५ दिनभित्र तयार गरिसक्ने लक्ष्य लिइएको छ ।’ नगर अस्पतालमा आईसीयू, एचडीयूसहित भेन्टिलेटरको सुविधा रहने सामाजिक विकास समितिका संयोजक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

खच्चड जिन्दगी !

Advertisment