३० साउन, काठमाडौं । नेपाल आयल निगमले बज उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्याँस बिक्री गरिरहेको छ ।
पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्याँसको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्याँस उद्योगीमार्फत ग्याँस बिक्री वितरण गरिएको हो ।
अतिआवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्याँस बिक्री सुरु गरिएको हो । ग्याँस खरिद गर्न चाहने उपभोक्ताले साथमा अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र लिनुपर्नेछ ।
निगमका अनुसार ग्याँस आयात नियमित भइरहेको र सम्बन्धित उद्योगले आ–आफ्ना बिक्रेता (डिलर) मार्फत नियमित बिक्री वितरण गरिरहे पनि ग्याँस सकिएरै अतिआवश्यक अवस्थामा पुगेका व्यक्तिलाई मात्र तत्काल राहतका लागि यो विशेष व्यवस्था मिलाइएको हो ।

निगमका अनुसार काठमाडौंका पाँच छुट्टाछुट्टै स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री भइरहेको छ । जसअन्तर्गत निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्याँस वितरण भइरहेको छ ।
त्यसैगरी चावहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्याँसमात्र बिक्री गरिएको छ । कीर्तिपुरस्थित राधास्वामी परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्डका ग्याँस उपलब्ध गराइने छ भने बसुन्धरास्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ब्रान्डका ग्याँस वितरण हुने व्यवस्था मिलाइएको छ ।
बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डका ग्याँस खरिद गर्न सकिने छ ।
अति आवश्यक भएका उपभोक्तालाई मात्र माथि उल्लेखित स्थानमा तोकिएको समयमै आफ्नो परिचयपत्रसहित उपस्थित भई ग्याँस खरिद गर्न निगमले अनुरोध गरेको छ ।











प्रतिक्रिया 4